यही सेप्टेम्बरको तीन गते बस्टन मेट्रो वेस्टमा पर्ने नरउड शहरमा मोती जयन्ती मनाइएको छ। कालीभक्त कृष्णा पन्त प्रतिष्ठान र बस्टन अनेसासको संयुक्त तयारीमा भएको उक्त कार्यक्रम प्रतिठानका अन्तर्राष्ट्रिय संयोजक महेश्वर पन्तको संयोजनमा भएको थियो।

कार्यक्रम अनेसास बस्टनका अध्यक्ष दीपा राई पुनको अध्यक्षता र अनेसास केन्द्रका अध्यक्ष गोबर्धन पूजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

अतिथि, अनेसासबाट प्रकाशन हुने पत्रिका अन्तर दृष्टिका प्रधान सम्पादक लाल गोपाल सुवेदीले मोतीको बारेमा सभालाई जानकारी दिँदै आफ्नो कविता वाचन गरेका थिए। अन्य कविता वाचन गर्नेहरुमा अनु शाहा, भीमप्रसाद उपाध्याय, थानिरत्न कँडेल, नवीन उप्रेती, केदार गौतम, सानु वर्मा अधिकारी, दीपा राई पुन, गोवर्धन पूजा र प्रकाश खड्का हुनुहुन्थ्यो।

सोही कार्यक्रममा कालीभक्त प्रतिष्ठनका तर्फबाट नवनिर्वाचित अनेसासका अध्यक्ष गोवर्धन पूजा, अन्तर्दिष्टिका प्रधान सम्पादक लालगोपाल सुबेदी र अनेसास बोस्टनकी अध्यक्ष दीपा राई पुनलाई खादा ओढाई सम्मान गरिएको थियो।

मोती जयन्तीको अवसरलाई ध्यानमा राखेर गजल गायन संयोजक पन्तले गर्नुभएको थियो । प्रमुख अतिथि गोवर्धन पूजाले मन्तव्यसहित मोतीको गजलबारे र अनेसासबारे केही शब्द राखेका थिए। कार्यक्रमलाई रोचक बानाउन साना बालबालिकाहरू शारन्या निरौला, शादभी कार्कीको नाच र सोनाली राजभन्डारीको गायनमा ‘जहाँ छन् बुद्धका आँखा’ भन्ने बोलको गीत राखिएको थियो। साना बालबालिकाहरूको नेपाली गीत संगीतमा देखिएको लगावलाई सबैले मुक्तकण्ठले प्रशंसा पनि गरिएको थियो ।

अन्तमा लोक दोहोरीको मीठा टुक्रा प्रस्तुत गर्ने दिपेश बजगाँइ, लोक दोहोरी गायक कृष्ण पौडेल, निरू गेलाल, टुकादेवी उपाध्याय आदिको गीतमा उपस्थित सबैले नाचेर रमाइलो गर्नु भएको थियो ।

कार्यक्रमको सभाहलमा- जिबिएनसी, बस्टनका अध्यक्ष मिलनकुमार कार्की, नरवुड मेट्रो वेष्टका अध्यक्ष सुरेश ढकाल, नरवुड क्रियाशील महिला समूह अध्यक्ष सानु बर्मा, राजमित्र प्रतिष्ठानका संरक्षक सुशील नेपाल, बिडिए अमेरिका म्यासाचुसेट्स च्याप्टरका संयोजक विरोचन नेपाल लगायत धेरै साहित्यकार र साहित्यानुरागीहरूको उपस्थिति थियो।

कार्यक्रम अनेसासका सह-सचिव प्रकाश खडकाले संचालन गर्नु भएको थियो।