डिजी शर्मा, युएई । युवा पुस्ताका चर्चित कवि नवराज पराजुलीको दुबई कविता कन्सर्ट आइतबार सम्पन्न भएको छ ।

युएईको नेपाली साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको सिर्जना वाचन डबली युएईले आयोजना गरेको कविता कन्सर्टमा कवि पराजुलीले आधा दर्जन चर्चित कविताहरु सुनाउनुभएको थियो ।

अध्यात्मसँग सम्बन्धित रहेको “ध्यान” शीर्षकको कविताबाट आफ्नो प्रस्तुति प्रारम्भ गर्नुभएका कवि पराजुलीले कवितामार्फत युएईका दर्शकहरुलाई मन्त्रमुग्ध बनाउनुभएको थियो ।

कार्यक्रममा बोल्दै कवि पराजुलीले बुद्ध नेपालमा जन्मिएको हो भनेर गर्व गर्ने हरेक नेपालीले बुद्धले भनेका कुराहरुलाई थोरै भए पनि आफ्नो जीवनमा लागु गर्नुपर्ने बताउनु भयो । बुद्धको देशको नागरिक हो भनेर गर्व गर्दैमा मात्र त्यसको सार्थकता नरहने उहाँको भनाइ थियो  ।

कविता कन्सर्टकै लागि कवि पराजुली पछिल्लो  ५ महिना अमेरिकामा रहनुभएको थियो । अमेरिकाका विभिन्न सहरमा कविता कन्सर्ट सम्पन्न गरी दुबई कन्सर्टका लागि उहाँ जुन २७ तारिख बिहीबार युएई आउनुभएको थियो । यसअघि सन् २०१८ मा सिर्जना वाचन डबलीकै आयोजनामा कवि पराजुलीको युएईमा पहिलो कविता कन्सर्ट सम्पन्न भएको थियो ।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता र आयोजक डबलीका संरक्षक तथा गजलकार टक गुरुङको सभापतित्वमा सम्पन्न समारोहमा कवि पराजुलीलाई सम्मान समेत गरिएको थियो ।

त्यसैगरी, झापाली समाज युएईका तर्फबाट पनि कवि पराजुलीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत क्षेत्रीले मानव जीवनका लागि साहित्य आवश्यक भएकोले यसको सम्बर्धन गर्दै जानु पर्ने बताउनु भयो । त्यसका लागि यस किसिमका कार्यक्रमहरु आगामी दिनमा पनि आयोजना भइरहनु पर्ने उल्लेख गर्नुभयो । नेपाली साहित्यलाई यसरी नै विश्वमाझ फैलाउँदै लैजान उहाँले कवि पराजुली सहित सबैलाई आह्वान गर्नुभयो ।

“नेपाल सानो देश भए पनि हामीसँग विविधता छ र हामी प्रवासमा पनि एकतामा बसेका छौँ” उहाँले भन्नुभयो । आयोजक डबलीको तर्फबाट राजदूत क्षेत्रीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

दुबईको वरदुबई स्थित “Club SK7” मा दिउँसो २ बजेबाट सुरुभएको कविता कन्सर्टमा युएईमा रहेर साहित्य साधना गरिरहनु भएका तीन दर्जन बेसी सर्जकहरुको पनि विशेष प्रस्तुति रहेको थियो ।

सोही कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठानको कविता महोत्सव २०८१ मा उत्कृष्ट २५ भित्र पर्न सफल कवि तथा गजलकार श्री भवानी नेपाललाई सम्मान गरिएको थियो । प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा युएईबाट पहिलोपटक कवि नेपाल छ्नौटमा पर्नुभएकाले उहाँलाई सम्मान गरिएको जनाइएको छ ।

सोही अवसरमा कार्यक्रम आयोजना र सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति तथा संस्थालाई पनि सम्मानसहित मायाको चिनो प्रदान गरिएको थियो ।

गजलकारद्वय जे सागर र श्री भवानी नेपालले पालैपालो कार्यक्रम सञ्जाल गर्नुभएको थियो ।

कार्यक्रमको मिडिया पार्टनरको रुपमा साहित्यपोस्ट रहेको थियो । त्यसैगरी, भेन्यु पार्टनरको रुपमा Club SK7, हस्पिटालिटी पार्टनरको रुपमा काष्ठमण्डप रेस्टुरेन्ट, कन्सल्टेन्सी पार्टनरको रुपमा युनिभर्सल ब्लु ओसन कन्सल्टेन्सी, ट्राभल पार्टनरको रुपमा नमस्ते ट्राभल एण्ड टुरिजम र सहयोगीको रुपमा घान्तुत स्टार रेस्टुरेन्ट तथा घान्तूत नेपाली क्याफे वरदुबई रहेका थिए ।

यसअघि थुप्रै सर्जकहरुलाई युएई निमन्त्रणा गरिसकेको डबलीले भोलिका दिनमा पनि यसरी नै अन्य सर्जकहरुलाई युएई बोलाएर कार्यक्रम गर्दै जाने योजना रहेको कार्यक्रम संयोजक तथा गजलकार जे सागरले बताउनु भयो ।