डिजी शर्मा, युएई । विभिन्न देशमा कविता कन्सर्ट गर्दै हिँडिरहनुभएका कवि नवराज पराजुलीको युएईमा फेरि एकपटक कविता कन्सर्ट हुने भएको छ । पछिल्लो समयका युवा पुस्ताका सर्वाधिक चर्चित कवि पराजुली कविता कन्सर्टका लागि दोस्रोपटक युएई आउन लाग्नुभएको हो ।

युएईको नेपाली साहित्यिक गतिविधिमा निक्कै सक्रिय रहँदै आएको सिर्जना वाचन डबलीले आगामी जुन ३० तारिख आइतबार युएईको दुबईमा कवि पराजुलीको कविता कन्सर्ट आयोजना गर्दैछ । यसअघि सन् २०१८ मा पनि डबलीले नै कवि पराजुलीलाई युएईमा पहिलोपटक निमन्त्रणा गरेको थियो ।

दुबईको वरदुबई स्थित “Club SK7” को हलमा दिउँसो एक बजेबाट कार्यक्रम सुरु हुने आयोजक समितिले जनाएको छ ।

कवि पराजुलीका साथै कार्यक्रममा युएईमा रहेका सर्जकहरुको पनि विशेष प्रस्तुति रहने कार्यक्रम संयोजक तथा गजलकार जे. सागरले बताउनु भयो ।

यसअघि थुप्रै सर्जकहरुलाई युएई निमन्त्रणा गरिसकेको डबलीले भोलिका दिनमा पनि यसरी नै अन्य सर्जकहरुलाई युएई बोलाएर कार्यक्रम गर्दै जाने योजना रहेको उहाँले बताउनु भयो ।

कार्यक्रमको मिडिया पार्टनरको रुपमा साहित्यपोस्ट रहेको छ । त्यसैगरी, भेन्यु पार्टनरको रुपमा Club SK7, हस्पिटालिटी पार्टनरको रुपमा काष्ठमण्डप रेस्टुरेन्ट, कन्सल्टेन्सी पार्टनरको रुपमा युनिभर्सल ब्लु ओसन कन्सल्टेन्सी, ट्राभल पार्टनरको रुपमा नमस्ते ट्राभल एण्ड टुरिजम, र सहयोगीको रुपमा घान्तूत स्टार रेस्टुरेन्ट तथा घान्तूत नेपाली क्याफे वरदुबई रहेका छन् ।

कविता कन्सर्टकै लागि कवि नवराज  पराजुली पछिल्लो  ५ महिनादेखि अमेरिकामा हुनुहुन्छ । अमेरिकाका विभिन्न सहरमा कविता कन्सर्ट भइरहेको उहाँले जानकारी गराउनु भयो । अमेरिकाको कार्यक्रम सकेर युएई आउने र युएईको कन्सर्टपछि नेपाल फर्किने कार्यतालिका रहेको कवि पराजुलीले बताउनु भयो ।