साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई समीक्षक रमेश प्रभातको निसमालोचना विधाको कृति ‘अलिकति फरक कुरा’ प्राप्त भएकाे छ ।

पुस्तकमा पठन संस्कृतिका कुराका साथै समकालीन साहित्यका विविध विधाका लेखक र उनीहरुका लेखनका कुराहरु गरिएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका उपप्राध्यापक समेत रहेका समीक्षक प्रभातले कृतिमा समालोचनाले साहित्यरससहित काव्यिक निबन्धको शैलीमा प्रस्तुत गरेका छन् ।

‘यो समालोचना कृति नेपाली समालोचनामा नयाँ आविष्कार हुँदै होइन । समालोचक एकनारायण पौड्यालको निसमालोचनाको निरन्तरता पनि होइन ।’, लेखकीयमा समीक्षक प्रभात लेख्छन्, ‘यो त समालोचनालाई पनि समान्य पाठकसँग कसरी जोड्न सकिन्छ भनेर गरेको सानो प्रयास मात्र हो । यसमा पात्रात्मक शैली, अन्तर्वार्ताको शैली, निबन्धात्मक शैलीजस्ता विविध शैली प्रयोग गरिएको छ । यसले सामान्य पाठकलाई समालोचना पढ्दा पनि साहित्यको आनन्द दिन सक्यो भने मेरो प्रयासले सार्थकता पाउने छ ।’

पुस्तकलाई रेखा श्रेष्ठले प्रकाशनमा ल्याएकी हुन् । २७ शीर्षकमा निसमालोचनाहरु सङ्ग्रहित यो कृतिको मूल्य ३ सय रुपियाँ रहेको छ ।