
‘ये पुलिस स्टेशन है, तुम्हारे बाप का घर नहीं’
यो निकै प्रख्यात फिल्मी डायलग हो । अवैध जुवाघर, रक्सी अड्डा चलाउने शेर खान (प्राण) इन्स्पेक्टर विजय (अमिताभ बच्चन)लाई भेट्न जब पुलिस स्टेशन पुग्छ, ढसमस्स र बिना स्वीकृति उसको कोठामा छिरेर अगाडिको रखे कुर्सीमा बस्नै लाग्दा विजयले गोडाले कुर्सी पर धकेलिन्छ । र, भन्छः ‘बस्न नभनुञ्जेल उभिइराख्ने । यो पुलिस स्टेसन हो, तिम्रा बाउको घर होइन ।’
यही दृश्यले यो फिल्मको आइकोनिक छवि निर्माण भयो र हिन्दी सिनेमाको पर्दामा ‘एंग्री यङ म्यान’ जन्मियो । माथि भनिएको दृश्य ‘जंजीर’ नामक फिल्मको हो र यो फिल्म रिलिज भएको गत साता ५१ वर्ष पूरा भयो ।
एंग्री यङ म्यान कसरी जन्मियो, यसको रोचक दृश्य फिल्ममा देखाइएको छ ।
बच्चा बेलामा विजय तिहारको रौनकमा खेलिरहेको हुन्छ । ऊ उसका बाबुआमासँग लुकामारी खेलिरहेको बेला एक जना व्यक्तिले विजयको बुवाआमालाई गोली हानी भाग्छ । विजय हत्यारालाई देख्न पाउँदैन ।
पछि विजयलाई एउटा कोमल दिलको प्रहरी अधिकारी (इफ्तिखार)ले पाल्छन्, हुर्काउँछन् र प्रहरी इन्स्पेक्टर बनाउँछन् ।
सानैदेखि उसलाई एउटा सपनाले सताइरहन्छ । बुवाको हत्यारा अनुहारमा नकाब लगाएर घोडामा सवार भएको देख्छ । विजय हरेक अपराधीलाई घृणा गर्छ । ऊ जहाँ जहाँ जान्छ, अपराधी सफाई अभियान चलाउँछ । यस कार्यका लागि एउटा बूढो रक्स्याहा (ओमप्रकाश)ले सहयोग गर्छ । उसले अपराधीहरूका बारेमा फोनमा सूचना दिइरहन्छ ।
तर अपराधीहरूको पनि पहुँच माथिसम्म हुने हुनाले उसको चाँडै सरूवा भइरहन्छ । जागिरको छोटो अवधिमा नै १२ औँ सरूवा भएका बेला उसको भेट जुवाङरको मालिक शेर खान (प्राण)सँग भएको हुन्छ । यसपछिका अनेक घटनाक्रमले शेर खान विजयसँग प्रभावित हुन्छ र दुवै साथी बन्छन् ।
यसपछि अर्को पात्र फेला पर्छ तेजा (अजित) । शहरको सम्मानित व्यवसायी तेजाको भित्री काम भने खराब व्यवसाय चलाउनु हुन्छ । उसले आफ्नो गोप्यता जोगाउन एक जना व्यक्तिलाई मार्छ । यसको प्रत्यक्षदर्शी माला (जया भादुडी बच्चन) हुन्छे । उसले विजयलाई सो घटना बताएपछि ज्यान जोगाउन गाह्रो हुन्छ र विजयले मालालाई आफ्नै घरमा ल्याउँछ । घरमा ल्याएपछि दुवैबीच आत्मिय सम्बन्ध बढ्न थाल्छ ।
घटनाक्रम अघि बढ्दै जाँदा एउटा झूटो केसमा विजय ६ महिना जेल पर्छ । यसपछि ऊ तेजासँग बदला लिने दाउमा हुन्छ ।
पछि विजयले आफ्नो बुवाको हत्यारा तेजा रहेछ भन्ने थाहा पाउँछ र उसलाई मारेर आफ्नो बदला चुकाउँछ ।
कथामा केही नयाँपन छैन । ५० वर्षअघि पनि यस्ता कथामा फिल्म बन्थे तर यसमा केही नयाँ थियो भने त्यो फिल्मको ट्रिटमेन्ट, यसका संवाद र पात्र । खासगरी नायकको छवि जसरी निर्माण गरिएको थियो, ‘एंग्री यङ म्यान’लाई एकै झमटमा स्थापित गर्यो । यस्तो रिसाहा र बदलाको आगो भित्रभित्रै हुर्काइरहेको पात्र दर्शकले पहिलो पटक पर्दामा देखिरहेका थिए ।
यसले यस्तो प्रभाव पार्यो कि हिन्दी फिल्मले आउँदा अढाई दशक यस्तै फिल्म बनाइरह्यो ।
यो फिल्म त्यो बेला बनेको थियो, जब भारत बेलायती शासनबाट मुक्त भएको थियो । पार्टीहरूले सुशासन दिने कुरा हावा प्रमाणित भएको थियो । सबैतिर भ्रष्टाचार, बेइमानी, गुन्डागर्दी, नेता र गुन्डाबीच मिलाप देखिन्थ्यो र सर्वसाधारण आक्रोशित थिए । यस्तोमा विजयले कानुन बाहिर गएर उपचार खोज्यो ।
फिल्मको प्रिमियर सो ११ मे १९७३ मा भएको थियो र कलकत्तामा कलाकारको परिचय गराउँदा अमिताभको बारेमा परिचय गराउँदा दर्शकमा खासै उत्साह देखिएको थिएन । हुन पनि त्यो बेलासम्म अमिताभका नौ वटा फिल्म फ्लप भएका थिए । बरू अमिताभको भन्दा प्राणको इज्जत बढी देखिएको थियो ।
फिल्मको प्रिमियर सकिएपछि जुन नायकलाई दर्शकले तीन घण्टाअघि भाउ दिएका थिएनन्, अब उनैलाई खोज्दै थिए । अवस्था लाठी चार्ज गर्नुपर्नेसम्मको थियो । फिल्म गज्जबले चल्यो । यो फिल्म यति चल्यो कि अमिताभ बच्चन नयाँ सुपरस्टार भए । उनी एङ्ग्री यङ म्यान बने र यसपछिका २० वर्ष उनले एकपछि अर्को हिट फिल्महरूमा अभिनय गरे ।
खासगरी, मजबुर, अदालत, हेराफेरी, दिवार, इमान धरम, खुन पसिना, परवरिस, त्रिशूल, कालापत्थर, गंगाकी सौगन्ध, डन, शक्ति, शहंशाह, मैं आजाद हुँ, हम, अग्निपथ, अकेला जस्ता फिल्ममा उनको अभिनयलाई दर्शकले सराहना गरे । यी फिल्ममा उनले समाज र व्यवस्थाविरूद्ध आक्रोश र अन्यायको प्रतिकारमा आवाज बुलन्द पारे ।
अमिताभ बच्चन र एङ्ग्री योङ म्यान शब्द समानार्थी बन्न पुगे । यो शब्दलाई फिल्म समीक्षकले चर्चित बनाएका थिए ।

जंजीर
यो शब्द पहिलो पटक बेलायती नाटककार जोन ओस्बर्नको प्रसिद्ध नाटक लुक ब्याक इन एंगर (१९५६) मा त्यसका नायकका लागि प्रयोग गरिएको थियो । नाटकको नायक समाज, खासगरी उच्च र मध्यम वर्गका खोक्रो हुँदै गरेका मूल्य र मान्यता र पाखण्डबाट आक्रोशित भएको थियो । त्यो बेला नाटककार जोन ओसबर्न २६ वर्षका थिए । उनको आक्रोशलाई सम्बोधन गर्दै रोयल थिएटरका प्रेस एजेन्टले एङ्ग्री योङ म्यान शब्द प्रयोग गरेका थिए । पछि त वर्ग विभेदका कुरा गर्ने हरकोही लेखकमाथि यो शब्द प्रयोग गर्न थालियो ।
जसरी अमेरिकामा बिट आन्दोलन प्रमुख मानिन्छ, उसैगरी बेलायती नाट्य क्षेत्रमा एङ्ग्री योङ म्यान आन्दोलन विशेष मानिन्छ र यो सन् १९६० को अन्त्य हुञ्जेल पर्दाबाट गायब पनि हुन थाल्यो । त्यही छापलाई समीक्षकको मनमा गढेको हुनुपर्छ र त्यसलाई आफ्नो समीक्षामार्फत कुनै समीक्षकले टिप्पणी गरेको हुनसक्छ । यो प्रस्ट छैन, कसले पहिलो पटक अमिताभ बच्चनलाई एङ्ग्री योङ म्यानको ठप्पा लगायो ।
साहित्यमाझैँ ५० को दशकको हलिउडमा जेम्स डिन रिबेल विदाउट कज फिल्ममा पहिलो पटक आक्रोशित युवाको भूमिकामा देखा परेका थिए । त्यस्तै ६० को दशकमा मार्लिन ब्रान्डोले द वाइल्ड वन र अन द वाटरफ्रन्टजस्ता फिल्ममा व्यवस्थासँग पङ्गा लिने युवाका रूपमा भूमिका खेलेका थिए ।
हिन्दी फिल्ममा पनि त्यसको झलक १९५७ मा रिलिज भएको ‘मदर इंडिया’को बिरजू नामक पात्रमा देखिन्छ । जञ्जीर फिल्मका लेखक जावेद अख्तर बिरजू पात्रबाट निकै प्रभावित थिए ।
नई दौरजस्ता फिल्ममार्फत बलिउडले आशावादको कथा सिर्जना गरेको थियो । पछि त्यसको ठाउँमा पलायनवादी रोमान्टिक फिल्मले ठाउँ लिन थाल्यो । त्यसको प्रखर उदाहरण राजेश खन्को ‘लवर ब्वाई’को छविमा देख्न सकिन्छ । यो छवि एकपछि अर्को हुँदै १५ हिट फिल्ममा देख्न पाइयो । तर सर्वसाधारण दर्शक यस्तो छविबाट पनि दिक्क मान्न थालिसकेका थिए ।
सन् १९७२ सम्म आइपुग्दा ‘मेरे जीवन साथी’, ‘मालिक’, ‘जोरू का गुलाम’, ‘दिल दौलत दुनियाँ’ जस्ता फ़िल्महरू असफल भए ।
यसैबीच भारतमा जय प्रकाश नारायणको नेतृत्वमा विद्यार्थी आन्दोलन शुरू भयो । यसै दशकमा बंगालमा पनि नक्सल आन्दोलनका रूपमा व्यवस्थाका प्रति विद्यार्थीहरूको आक्रोश चुलिन थाल्यो । यसै पृष्ठभूमिमा विजयको रूपमा ‘एङ्ग्री यङ म्यान’ पर्दामा झुल्किएर दर्शकको मनमा गढ्नु कुनै संयोग थिएन ।
अमिताभले आफ्नो अभिनयबाट युवाहरूमा उकुसमुकुस भएको भावलाई आक्रोश र हिंसात्मक बदलालाई विश्वसनीयता दिए र त्यसपछि पनि उनले आफ्ना अनेक फिल्ममार्फत त्यस्तो भूमिकालाई आफ्नो अभिनयलाई अझ बढी समुन्नत बनाए ।
रोचक कुरा के छ भने, विजयको यो कथित एकोहोरो आक्रोशित पात्रलाई कयौँ नायकहरूले विभिन्न कारणले अस्वीकार गरेका थिए । खासगरी देव आनन्द, राज कुमार, धर्मेन्द्र, दिलीप कुमार जस्ता कयौँ प्रतिष्ठित अभिनेताहरूले ‘जंजीर’मा काम गर्न अस्वीकार गरेका थिए । र, मात्र यो उनको भागमा परेको थियो ।
यो फिल्म अमिताभले पाउनुमा पनि रोचक किस्सा छ । एकताका प्राणका छोरा र अमिताभका भाइ अजिताभ मद्रास (चेन्नेई) बस्थे । उनीहरू दुवै जना एक पटक बम्बे टु गोवा फिल्म हेर्न गए । प्राणका छोरा अमिताभको अभिनयबाट कायल भए । उनले प्राणसँग अमिताभका बारेमा चर्चा गरे । प्राणले नै फिल्म निर्देशक प्रकाश मेहरालाई एक किसिमले अमिताभलाई लिन आग्रह गरेका थिए ।
अन्य नायकले अस्वीकार गर्नुको परिणामस्वरूप प्रकाश मेहराले तुलनात्मक रूपमा सस्तो दाममा अमिताभलाई फिल्ममा लिएका थिए । त्यो बेला मेहराले ६० हजार रूपैयाँमा फिल्म खेलाएका थिए । यो फिल्मले एउटा फ्लप कलाकारलाई सुपरस्टार बनाइदियो । अमिताभको अभिनय शैली सलीम-जावेदलाई यति मन पर्यो कि उनलाई नै ध्यानमा राखेर फिल्म लेख्न थाले ।
यसपछि तयार भयो, दिवार फिल्म । शुरूमा दिवारको नायकका रूपमा राजेश खन्ना छनोटमा थिए तर पछि अमिताभ छिरे ।
दिवारको विजय अपराधीका प्रति गुनासो गर्दैन । ऊ त समाजप्रति आक्रोशित छ । बाल्यकालमा उसको हातमा ‘मेरा बाप चोर है’ लेखिदिएका थिए कसैले । ठूलो भइसक्दा पनि समाजप्रति ऊ क्रुद्ध छ । यो क्रोधले उसलाई पछि अपराधको बाटोमा धकेल्छ । उसलाई समाजका आदर्श मन पर्दैन । ऊ आफ्नो भाइलाई भन्छ, उफ्फ, तुम्हारे उसूल, तुम्हारे आदर्श! किस काम के हैं तुम्हारे उसूल? तुम्हारे सारे उसूलों को गूंथ कर एक वक्त कि रोटी नहीं बनाई जा सकती, रवि । जिन आदर्शों के लिए तुम अपनी ज़िंदगी पर खेलने के लिए तैयार हो, क्या दिया है उन आदशों ने? एक चार-पाँच सौ कि पुलिस की नौकरी, एक किराये का क्वार्टर , एक ड्यूटी की जीप, दो जोड़ी खाकी वर्दी. देखो, देखो. ये वही मैं हूँ और ये वही तुम हो.हम दोनों एक साथ इस फुटपाथ से उठे थे. लेकिन आज तुम कहाँ रह गए, और मैं कहा आ गया हूँ.आज मेरे पास बंगला है, गाडी है, बैंक बैलेंस है, … तुम्हारे पास क्या है ?’
तर भित्री रूपमा ती मूल्यप्रति सम्मान छ किनभने उसकी आमालाई ती मूल्यमा आस्था छ । त्यसैले त ऊ अपराधको बाटो छोड्न तयार हुन्छ ।
फिल्म ‘त्रिशूल’मा विजय अपने पिताविरूद्ध छ । रिसाएको छ । किनभने, उसको बुवाले पैसाका लागि एक जना धनी स्त्रीका लागि उसको गरिब आमालाई छाडिदिएको थियो ।
यश चोपडाको कालापत्थर फिल्ममा आफ्नो एउटा गल्तीका कारण जीवनप्रति आक्रोशित छ । त्यसैले ऊ मजदुरका रूपमा काम गरेर आफ्नो विगत मेटाउन चाहन्छ । यही रिसले उसलाई सही बाटोमा पुर्याउँछ र कोइलाखानीको मालिकको अन्यायविरूद्ध उभिने शक्ति दिन्छ ।
अमिताभको यही छविलाई अन्य निर्माता-निर्देशकले पनि फाइदा उठाउन थाले । ‘मुकद्दर का सिकंदर’मा बालककालमा सिकन्दरमाथि लागेको चोरीको आरोपको आक्रोश होस् या ‘कालिया’मा दाइमाथि भएको अन्यायको प्रतिकार गर्न बनेको कल्लु कालिया हुनु, वा ‘नास्तिक’मा शंकरले आफ्नो परिवारमाथि भएको अन्यायको बदला लिन गरेको गतिविधि, यी सारा कुराले अमिताभको एङ्ग्री यङ म्यानको छविलाई पर्याप्त सदुपयोग गरिएको मान्न सकिन्छ ।
यसरी ७० र ८० को दशकमा अमिताभ पर्दामा रिसाएरै बिताए । एक किसिमले एउटा व्यक्ति व्यवस्था र गुन्डा तथा अपराधीहरूसँग भिड्नु वास्तविकताभन्दा परको कुरा हो । एउटा व्यक्ति जतिसुकै भयहीन किन नहोस्, ऊ व्यवस्था र गुन्डाहरूको नेटवर्कसँग भिड्न सक्दैन । व्यवस्था बदल्न, अवस्था परिवर्तन गर्न सामूहिक प्रतिरोध चाहिन्छ तर फिल्ममा त्यसको कुनै छनक देखिदैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

