(खासमा नियात्रा पढ्नु भनेको उक्त कृति पढ्नु मात्र होइन, त्यो सँगै मानसिक रूपमा पाठकले वर्णित ठाउँको भ्रमण गर्नु पनि हो । यस्तो काम थोरै कृतिले मात्र गर्न सक्छ, त्यो लाममा लामबद्ध भएर आएको छ, भवानी खतिवडाको ‘आकाश ओढेको डोल्पो’ नामक नियात्रा कृति । यसले शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि भवानी खतिवडा र उनको यात्रा टोलीले भोगेका दुःखका कथा छन् । आफैँले चाहेर खेपेको दुःख सुन्दर हुन्छ भन्ने सन्देश यो कृतिमा पाइन्छ ।)

कृति हात परेपछि

एकाबिहानै फोनको घण्टी बज्छ, गोविन्दराज विनोदी गुरुको फोन रहेछ । सामान्य भलाकुसारीपछि उहाँ मौलाकालिका मन्दिर परिसरमा हुने साहित्यिक कार्यक्रमको निम्तो दिँदै भवानी खतिवडाको ‘आकाश ओढेको डोल्पो’ नामक नियात्रा कृतिमाथि केही बोलिदिन आग्रह गर्नुहुन्छ । समय थोरै थियो तर उहाँको प्रेमिल आग्रह टार्न सकिनँ, त्यसो त उहाँको आग्रह टार्न सक्ने क्षमता चितवन वरिपरिका स्रष्टामा सायदै होला । आफू अलिक बढी नै व्यस्त भएर पनि उहाँलाई “हस् गुरु ।” भनिदिन्छु । त्यसपछि गुरुको सुझावअनुसार लाग्छु, सम्पूर्ण किताबतिर किताब लिन ।

लेखराम सापकोटाजीबाट सुन्दर कलेबरको ‘आकाश ओढेको डोल्पो’ नामक किताब लिएर घरमा आएपछि कृतिकारलाई कतै चिनेको हो कि होइन भनेर खोजतलास गर्छु म । उनी पूर्वको म मध्य नेपालको साथी हुने सम्भावना देख्दिनँ म । मार्क जुकरबर्गले जोडिदिएको फेसबुकमा भने साथी रहिछन् उनी । तर मेसेन्जरमा समेत कुराकानी भएको रहेनछ हाम्रो । प्रत्यक्ष रूपमा भेटेको कुनै सम्झना छैन मलाई । यसरी भौतिक रूपमा नचिनेको स्रष्टाका बारेमा केही बोल्नु र लेख्नुको मज्जा पनि बेग्लै हुन्छ । साँच्चै कृतिकारका बारेमा केही बोल्नु नै परेन, मात्र कृतिका बारेमा बोले भई त गयो । मलाई बडो सहज लाग्यो यो काम ।

====

कृतिभित्र विचरण गर्दा

पेज टर्नर प्रा.ली., काठमाडौँले प्रकाशन गरेको हो, नियात्राकार भवानी खतिवडाको ‘आकाश ओढेको डोल्पो’ नामक नियात्रा कृति । यसभित्र लामा छोटा गरी कूल सोह्र थान यात्रा निबन्धहरू समाविष्ट छन् । कृतिभित्रको सबैभन्दा सुरुको निबन्ध ‘बाटो लागेपछि’ सबैभन्दा छोटो निबन्ध हो, जसले जम्मा ५ पृष्ठको आयाम ओगटेको छ । त्यस्तै गरी कृतिभित्र समाविष्ट एघारौँ निबन्ध ‘फोक्सुण्डोको शे रमाइलो’ सबैभन्दा लामो निबन्ध हो, जसले २० पृष्ठको आयाम ओगटेको छ । यस कृतिभित्र समाविष्ट कूल १६ थान निबन्धले १९५ पृष्ठ ओगटेको देखिन्छ । यसरी हेर्दा औसतमा १२ पृष्ठको आयाम ओगटेका छन्, यी निबन्धहरूले ।

नियात्रा कृतिको जन्मका सन्दर्भमा कुरा गर्नुपर्दा वि.सं. २०७८ कार्तिक १ गते साँझदेखि कार्तिक ११ गते साँझसम्मको यात्रा विवरण हो, ‘आकाश ओढेको डोल्पो’ । यसमा नियात्राकार भवानी खतिवडा सहित प्रभा बराल, रञ्जु दहाल र सरस्वती अर्याल गरी चार जना यायावरको यात्रा वर्णनलाई भवानी खतिवडाका आँखाबाट नियाल्ने काम भएको छ । डोल्पा जिल्लाको सदरमुकाम दुनैसम्मको हवाई टिकट नपाएका कारण २९ घण्टा लगाएर बसबाट काठमाडौँदेखि रुकुम पश्चिमको सदरमुकाम खलङ्गा बजारसम्मको बसयात्रा गरेको र त्यसपछि कतै पैदल र कतै सुमो चढेर शे–फोक्सुण्डो तालसम्म यात्रा गरेको कुरा यसभित्र आएका छन् ।

शे–फोक्सुण्डो तालसम्म जाँदा र फर्कंदा पनि बाटामा भेटिएका भू–दृश्य, प्राकृतिक सौन्दर्य, खेतीबाली, जनजीवन, बजार, खोला, झरना, बस्ती आदिको चित्रण पनि यसभित्र मिहिन तरिकाले गरिएको छ । कतै होटेलमा, कतै सरकारी कार्यालयमा र कतै व्यक्तिका निजी निवासमा बास बसेर एघारौँ दिनमा बसबाट नेपालगञ्ज पुगी साँझपख हवाई जहाजबाट काठमाडौँ सकुशल फर्किएको यात्रा विवरण यसमा कलात्मक रूपले समेटिएको छ । नियात्राकार कवि पनि भएका कारण बीच बीचमा कतै आफ्नै र कतै अरूका कविताकाका पङ्क्तिहरू पनि राखिएका छन् । यसले नियात्रालाई काव्यात्मक छनक दिएको छ ।

कृतिभित्र कृतिकार निजामती कर्मचारी भएको कुरा धेरै ठाउँमा गरिएको छ, जसले कतैकतै पाठकलाई दिक्क पनि पारिदिन्छ । उनी आफू कृषि विशेषज्ञ भएको कुरालाई भने भेटिएका कृषकलाई तत् सम्बन्धी ज्ञान दिएर पुष्टि गरेकी छिन् । यसले भने राम्रो गरेको छ । नेपालको मौलिक पहिचान भनेको विविध भौगोलिकता हो, अझ त्यसमा पनि उच्च हिमशिखरहरू हुन्, हिमाली तालतलैयाहर हुन् । तिनको भ्रमण गरेर त्यसका बारेमा प्रचार प्रसार गरिनुपर्छ भन्ने मान्यता यो कृतिमा देखिन्छ, जुन यो कृतिको सबैभन्दा राम्रो कुरा हो ।

समग्रमा कृति हेर्दा जोखिमपूर्ण पर्वतीय यात्रासँग डराउने, पैदल हिँड्न नसक्ने, दुर्गम ठाउँमा समायोजन गरेर बस्न नसक्ने तर नयाँ ठाउँका बारेमा जान्न चाहने जोसुकैका लागि यो कृति उपयोगी छ । अझ फुर्सदको समय मिलाएर शे–फोक्सुण्डो घुम्ने योजना बनाइरहेकाका लागि त यो कृति निकै सहयोगी बन्ने देखिन्छ । जीवनमा घुम्न नपाएका, कर्णालीका बारेमा जान्ने उत्सुकता भएका आम नेपालीका लागि यो एउटा दर्पण नै हो । यो कृतिलाई अङ्ग्रेजी लगायत अन्य विदेशी भाषामा अनुवाद गरेर प्रकाशन गर्न सकिएमा यसले नेपालका बारेमा विदेशीसमक्ष प्रचार प्रसार गर्ने काम पनि गर्न सक्छ ।

====

कृतिका सबल पक्ष

हामी नेपालीहरूका दिमागमा कर्णाली भन्ने बित्तिकै दुःखै दुःखको पहाडी भूभाग भन्ने छाप बसेको छ । त्यहाँ समस्या सिवाय केही छैन भन्ने ठान्छौँ हामी । अझ त्यसमा पनि डोल्पा भन्नासाथ हामी डरलाग्दो पहाड र समस्याले जेलिएको जीवनलाई सम्झन पुग्छौँ । हाम्रो त्यस खालको पुरातन विचारलाई चिर्न सक्नु यो कृतिको सबैभन्दा सबल पक्ष हो । डोल्पाको सुन्दर प्रकृतिका बारेमा लेखकको धारणा यस्तो छ ः

यो पहाड हावाकै रेटाइद्वारा सिर्जित अनेकौँ आकृतिले सुसज्जित छ । ठाउँठाउँमा हिउँले तछारेका कलात्मक धार छन् । आँखीझ्यालजस्ता प्वाल र आकर्षक ओडारहरू छन् । ती धार सन्झ्यालजस्ता ओडारहरू हेरिरहूँ लाग्छन् । वल्लो पहाडमा उभिएर हेरिरहेछु, यो कलैकलाले सुसज्जित दरबारजस्तो पहाडलाई । जति हे¥यो उति भव्य र जस्तो सोच्यो उस्तै देखिने यसका अमूर्त आकृतिहरूलाई । (पृ. १४२)

नियात्राकारको प्रमुख गन्तव्य नै शे–फोक्सुण्डो तालको अवलोकन रहेकाले उक्त ताललाई पहिलो चोटि देख्दा उनका मनमा परेको फोक्सुन्डोको भावचित्र उद्धरणयोग्य छ । उनी शे–फोक्सुण्डोलाई देखेर यस्तो लेख्छिन् ः

यस्तो लाग्छ, यो पावनगङ्गामा आकाशको सप्पै नीलोपना घनीभूत भएर ओर्लिरहेछ । होइन होइन, मेरो बिम्ब मिलेन, बरु स्वयम् आकाश नै रिग्मोको यो विराट् नीलिमामा अवतरित भएको छ । (पृ. १५३)

डोल्पाली महिलाहरू आफ्नो भूमिप्रति औधी माया गर्छन् । उनीहरूको माटोप्रतिको मोहलाई नियात्राकारले कृतिभित्र यसरी चित्रण गरेकी छिन् ः

बिरामी भइगयो भन्या ओखती पाउँदोइना भन्ने मात्रै हो । आलु र गहुँ नफल्या पनि खान्याँको चिन्ता नाइँ । हाम्रा बाउबाजेले जस्तो दुख्खा हामीले भोग्या नाइँ । अब त दुनाई जाने बाटो पनि राम्रो बनिगयो । तमीजस्ता माण्ठ धेर्रै आउँछा । ताल हेर्छा । बास्छा । खान्छा । पैसा तिर्छ । हामीलाई पैसाको खाँचो छोइना । खानेकुराको दुःखा पनि छोइना । शेनतेन गुम्बाको काखमा जन्म्यो । यै तालको पानी खाईकन हुक्र्यो । आइले यै तालले पालिराखेको छ हाम्लाई । यै तालको पानी खाईकन मन्र्या हो । (पृ. १७२)

हो, समस्याका चाङ कहाँ छैन ? डोल्पा पनि त्यो छ । एउटा डोल्पाली पुरुषले आफूले भोग्दै गरेको दुःखको कथा कसरी बताउँछ ? त्यसलाई उसकै भाषा र शैलीमा यसरी चित्रण गरिएको छ :

हामी गरिपका लागि सोर्ग छोइना अपर डोल्पा हामी भरियालाई दुख्ख मात्रै हो यो ठाउँ । अन्न फल्न्या नाइँ । भारी बोकेर जीवन धान्न्याँ हुन् सप्पैले । जडीबुटी बेचेर ज्यान पाल्न्याँ हो । तपैँहरुलाई दुई÷चार दिन घुम्न राम्रो छ । तर यैँ जीवन बिताउने गरिपलाई धेरै दुख्खो छ । (पृ. १४४)

यसरी यो कृतिमा मूलतः डोल्पालाई चिनाउने काम गरिएको छ । त्यति मात्र होइन, रुकुम पश्चिमलाई पनि यो कृतिमा वर्णन गरिएको छ । समग्रमा यो कृति यात्राको समग्र प्याकेज बनेको छ, यो नै यो कृतिको सबैभन्दा सबल पक्ष हो ।

====

कृतिका सीमाहरू

सबलताभित्र केही कमजोरी हुनु स्वाभाविक हो । यो कृतिमा पनि कताकति बिम्ब चयनमा त्रुटि भेटिन्छ । हेरौँ एउटा त्रुटिको नमुना :

मदारी सम्मुख परेको सर्पझैँ पूर्ण समर्पित भएर महाकवि कालिदासको अमरकृति कुमारसम्भवम्कै अंशमार्फत् हिमाललाई सम्बोधन गरेँ मैले । (पृ. १०३)

माथिको उदाहरणमा मदारी भनेर सर्प नचाउने व्यक्तिलाई भनिएको छ, जुन नमिल्दो देखिन्छ । मदारीले बाँदर नचाउँछ भने सपेराले सर्प । यसमा लेखकको ध्यान पुगेको देखिँदैन ।

नियात्रा कृति भएर पनि यसभित्र कविता र मुक्तक पनि समावेश गरिएको छ । यहाँ एउटा मुक्त भनिएको रचना हेरौँ :

ए भवानी अब पानी पानी भइस् तँ

सुकिलो जिन्दगानी पनि भइस् अब तँ

हार्नेहरूले त जिन्दगी के नै देख्छन् र प्रिया ?

आफ्नो मनकी महारानी अब आफैँ भइस् तँ । (पृ. ११९)

 

माथिको उदाहरणमा मुक्तकको संरचना नै मिलेको देखिँदैन । यस्ता कुरामा लेखकको बेलैमा ध्यान पुग्नु आवश्यक छ । नभए अन्य विधाका रचना किन समेट्ने ? दोस्रो संस्करणमा यस्ता कमीकमजोरीलाई हटाएर निकाल्ने सुझाउ दिन चाहन्छु म ।

र अन्त्यमा,

पाठकले विभिन्न रुचि राखेर साहित्य पढ्छन् । त्यसो त सबैको पठन रुचि एउटै हुँदैन । धेरैले आख्यान पढ्छन् । थोरैले कविता पढ्छन् । अझ थोरैले निबन्ध पढ्छन् । त्यसो त नियात्रा पढ्नु भनेको उक्त कृति पढ्नु मात्र होइन, त्यो सँगै मानसिक रूपमा पाठकले वर्णित ठाउँको भ्रमण गर्नु पनि हो । यस्तो काम थोरै कृतिले मात्र गर्न सक्छ, त्यो लाममा लामबद्ध भएर आएको छ, भवानी खतिवडाको ‘आकाश ओढेको डोल्पो’ नामक नियात्रा कृति ।

यसले शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि भवानी खतिवडा र उनको यात्रा टोलीले भोगेका दुःखका कथा छन् । आफैँले चाहेर खेपेको दुःख सुन्दर हुन्छ भन्ने सन्देश यो कृतिमा पाइन्छ । यति मात्र होइन, यो कृतिले नजानिँदो पाराले टुर गाइडको काम पनि गरेको छ ।

शे–फोक्सुण्डोजस्ता विकटमा रहेका सुन्दर तालको भ्रमण गर्ने र साथमा सुन्दर भूदृश्यको अवलोकन अनि पदयात्राका मजा लिनका लागि पाठकका मनमा हुटहुटी जगाउने काम पनि यसले गरेको छ । यसका लागि नियात्राकार भवानी खतिवडा बधाईका पात्र छिन् । उनको आगामी यात्रा अझ उत्कृष्ट बनोस् भन्दै अहिलेलाई कलम रोक्छु ।