
चित्रसारी खोलाको काखमा छ चित्रसेन बाबा र सिद्धेश्वर महादेवको मन्दिर । मन्दिर परिसरमा बर्सौँदेखि हरिबोधिनी एकादशीमा मेला लाग्दै आएको छ । बूढापाकाहरूका अनुसार छ दशकभन्दा बढी भइसक्यो, यहाँ मेला लाग्ने गरेको । (मोसो पृष्ठ १२ बाट)
चितवनका साहित्यिक माहोलमा प्रायः गजल लिएर देखा पर्ने कवि एवम् पत्रकार सूर्यप्रकाश कँडेलले नेपाली साहित्यमा एकल कृति प्रकाशन गर्न करिब तीन दशक पर्खनुपऱ्यो । उनको पहिलो कृति बनेर मोसो उपन्यास (२०७७) पाठकका सामु आएको छ । उपन्यसाकार आफूले देखे भोगेको पत्रकारिताकै विषयवस्तुलाई समेटेर तयार पारिएको यो उपन्यास पत्रकारले गर्ने कामकै सेरोफेरोमा फनफनी घुमेको पाइन्छ ।
जम्मा २३० पृष्ठको आयाम भएको मोसो उपन्यासमा उपन्यासकार कँडेलले प्रथम पुरुषीय शैलीको उपयोग गरी कथा भन्ने काम गरेका छन् । हरिबोधनी एकादशीका दिनमा पूर्वी चितवनको चित्रसारी मन्दिरमा लागेको मेलामा रिपोर्टिङ गर्न गएका सूर्य नाम गरेका पत्रकारले देखेका कुरालाई उपन्यासले आफ्नो कथ्य बनाएको छ । प्रत्यक्ष रूपमा बिहान ११ बजेबाट सुरु भएको उपन्यास रातको ११ बजेसम्म टुङ्गिएको छ । जम्मा १३ शीर्षकमा विभक्त यो उपन्यासमा नायक सूर्य आफैँ हाबी छ ।
उपन्यासमा विभिन्न पात्रका भोगाइ समेटिएको भए पनि नायक सूर्यले भोगेको जीवनमा आएका पात्रका कथालाई उसका कोणबाट समेटिएको छ । उपन्यसको पहिलो शीर्षक ‘जीत बहादुरको जीवनगीत’मा उखु बेच्ने जीतबहादुर र उसकी दोस्री पत्नी फूलमायाको पीडाव्यथाका माध्यमबाट वैदेशिक रोजगारीले समाजमा पारेका नकारात्मक प्रभावको चित्रण गरिनुका साथै दश बर्से जनयुद्धले सामान्य मिलिसियाका जीवनमा परेका नकारात्मक प्रभावको पनि चित्रण गरिएको छ । त्यस्तै दोस्रो शीर्षक ‘रिङ, सुन्तला र माला’मा भड्किलो जीवनशैलीमा प्रवेश गरेका युवाको चित्रण छ । त्यस्तै साढे दुई दशकअघि आइ.ए. पढ्दाको साथी आरकेसँग मेलामा भेट भएपछि गरिएका नोस्टाल्जिक गफहरू पनि समेटिएका छन् । त्यस्तै तेस्रो शीर्षक ‘दिउँसै टुच्च’मा मेलामा रिपोर्टिङका क्रममा आफूभन्दा पाका पत्रकार भगवान् दाइ भेटिन्छन्, जसलाई सूर्यले आदर्श मान्ने गरेको छ । यसरी मेलामा भेटिएपछि सांस्कृतिक कार्यक्रम सुरु हुन केही समय बाँकी भएकाले उनीहरू नजिकैको छाप्रे होटलमा पसेर दिउँसै मदिरापान गरेको कुरा चित्रित छ ।
वर्णनका क्रममा उपन्यासको चौथो शीर्षक ‘सम्झनामा पहिलो प्रेम’मा आइ.ए. पढ्दाका दिनको स्मरण गरिएको छ । पहिलो दिनमा भेटिएकी सँगै पढ्ने अञ्चलाको रूप, बोली, व्यवहार सबैबाट ऊ प्रभावित भएर एकातर्फी प्रेममा परेको कुरा यसमा आएको छ । आफूले प्रेमपत्र लेखेर पनि दिने आँट गर्न नसकेको कुरा पनि यसमा मार्मिक ढङ्गले उतारिएको छ । त्यस्तै पाँचौँ शीर्षक ‘अञ्चलाको याद’मा कलेज पढ्दा सिनेमा हेर्न गएको कुरा गरिएको छ भने छैटौँ शीर्षक ‘उखु जस्तो जिन्दगी’ मेलामा भेटिएका सन्तानबाट अपहेलित एक जना बुढाबाको कथा टिपिएको छ । त्यस्तै टेन्डरको सूचना गोप्य रूपमा मिलाएर पैसा असुल्न गरिएको फोनवार्तालाई समेटिएको छ ।

रमेश प्रभात
उपन्यासको सातौँ शीर्षक ‘अञ्चला भर्सेज ज्योति’मा कलेज पढ्दै गर्दा परीक्षाको तयारी गर्ने क्रममा सूर्यले एकातर्फी रूपमा अञ्चलालाई मन पराए पनि प्रेमप्रस्ताव राख्न नसकिरहेको अवस्थामा उसकी साथी ज्योतिले कापीभित्र प्रेमपत्र दिएपछि ऊ के गरौँ कसो गरौँ ? को अवस्थामा पुगेका कुरा गरिएको छ । त्यस्तैमा ज्योतिलाई दिन भने आरकेले सूर्यलाई प्रेमपत्र दिएपछि ऊ थप धर्मसङ्कटमा परेको देखाइएको छ । पछि सूर्य अर्थात् एस्पीले आरकेलाई सबै कुरा बताएपछि दुवै जना तैँ चुप, मैँ चुपको अवस्थामा बसेको देखाइएको छ ।
त्यस्तै उपन्यासको आठौँ शीर्षक ‘अञ्चलासँग भेट’मा संयोगले काम गरेको छ । मेलामा झडप भएपछि भागाभाग भएको अवस्थामा सूर्यसँग अञ्चला ठोक्किन आइपुग्छे । उसले साढे दुई दशकसम्म मनमस्तिष्कमा सजाएर राखेकी अञ्चलालाई एक्कासि भेटेपछि नामैले सम्बोधन गरेर बोलाउँछ तर उसले आफू अनामिका भएको बताउँछे । सूर्यले कलेज पढ्दाका यादहरू छोटकरीमा बताएपछि ऊ पनि यथार्थमा आउँछे । उनीहरू खाजा खाएर सौराहातिर लाग्छन् । त्यस्तै नवौँ शीर्षक ‘साँझमा सेभेन स्टार’मा सूर्यले अञ्चलाको अतीत सोध्दा उसले सुरुमा मदिरापानको आमन्त्रण गर्छे र त्यसमा उनीहरूले करिब एक घण्टा बिताएको चित्रण छ । त्यस्तै दशौँ शीर्षक ‘अञ्चलाको अतीत’मा अञ्चलाले आरकेलाई मन पराएको कुरा गरिएको छ तर ऊसँग भन्न नसकेको कुरा गरेकी छ । यसले सूर्यलाई चोट लाग्छ । तर ज्योतिले सूर्यलाई मन पराएर चिठी पठाएको बताएपछि आफूले यसो गरेको भनेपछि ऊ ढुक्क हुन्छ । त्यस्तै एघारौँ शीर्षक ‘सुहागरातमा बलात्कार’मा अञ्चलाले उसको लोग्नेले सुहागरातमा आफू रजस्वला भएको कुरा बताउनै नदिई जबरजस्ती ओछ्यानमा सुताएको कुरा गरेकी छ । त्यसपछि हरेक रात अप्राकृतिक यौन गर्ने गरेको र त्यसबाट दिक्क भएपछि विवाह गरेको वर्ष दिनमै लोग्नेबाट पारपाचुके लिएर माइतीमा बसेको घटना बताएकी छ । त्यस्तै बाह्रौँ शीर्षक ‘यौनवजारमा प्रवेश’मा माइतीमा हेला हुन थालेपछि कसैलाई नभनी काठमाडौँ गएको, सुरुमा फलफूल व्यापारमा लागेको र पछि फलफूल व्यापारकै साझेदारको लहैलहैमा लागेर यौन व्यापारमा सामेल भएको कुरा गरेकी छ । हाल उसले यौनकर्मीका अधिकारका बारेमा बोल्ने एनजिओ खोलेर बसेको कुरा गरेर आफ्नो विगतदेखि वर्तमानलाई छोटकरीमा बताएकी छ ।
प्रस्तुत उपन्यासको अन्तिम अर्थात् तेह्रौँ शीर्षक ‘मेरो रामकहानी’मा नायक सूर्यले छोटोमा आफूले जीवनमा गरेका प्रगति र कर्तुतहरू सबै वयान गरेको छ । आफूले कसरी मै हुँ भन्नेलाई तह लगाएँ ? भन्ने कुरा गरेको छ । उसलाई मार्न गोली प्रहार गर्नेसँग पनि मुद्दा मामिला नगर्ने सर्तमा एक करोड लिएर आधा रकम पुलिसको एसपीलाई दिएर आधा रकम आफूले लिएको कुरासमेत बताएको छ । आफ्नो घरपरिवारलाई समेत नबताएको रहस्य रक्सीको मातमा आफूले मन पराएकी तर अहिले यौनकर्मी बनेकी अञ्चला अर्थात् अनामिकालाई प्रहरीका सामु बयान दिएजसरी बताएको छ । यसरी आफूले गरेका सारा गलत कामको बयान गरिएको यो कुरा नै यस उपन्यासको मुख्य मुद्दा हो ।
पत्रकारिताभित्रको कालो कथा शीर्षक राखेर उपन्यसाकार आफैँले भूमिका लेख्नु उपन्यासको सबैभन्दा सबल पक्ष हो । पत्रकार हुनु भनेको जिम्मेवार नागरिक हुनु हो तर उसले आफैँ दिउँसै मदिरापान गरेर हिँड्ने, पैसाका लागि व्यापारी, ठेकेदार, स्कुल, कलेज र अस्पतालका सञ्चालकसँग बार्गेनिङ गर्ने, उनीहरूका कमजोरी समेटेर तयार पारेका समाचारलाई पनि पैसा पाएपछि नछाप्ने, तोडमोड गरेर छाप्नेजस्ता गलत काम गरेर पैसा कमाउने गरेको कुरालाई उपन्यासभरि विभिन्न सन्दर्भमा उपन्यासको नायकले सम्झना गरेको छ । उपन्यासको अन्त्यतिर अञ्चलासँग सौराहामा टन्न रक्सी पिएको अवस्थामा आफूले कसरी धन, दौलत, मान, सम्मानजस्ता कुरा आर्जन गरेको छु ? भन्ने कुरा कत्ति पनि नलुकाई भनेको छ । आफ्ना बारेमा ऊ भन्छ, “पत्रकारिता क्षेत्रको म नायक हुँ कि खलनायक ?” आफैँ कन्फ्युज छु । आफ्नै नजरमा म खलनायक हुँ । मेरा लागि नायक हुन्, भगवान् दाइ तर यो समाजले मलाई दिएको मान र प्रतिष्ठा, आदर र सत्कार, चाकडी र चाप्लुसीले मलाई नायक बनाएको छ । इमानका प्रतीक भगवान् दाइलाई यो समाज नायक मान्दैन, खलनायक भन्न पनि सक्दैन । (मोसो पृष्ठ २१३ बाट) यसरी आफूले गरेका सारा कर्तुतहरूको बयान गरेर पनि ऊ त्यसमा रमाएको देखाइएकाले मोसो उपन्यास पत्रकारितामा लुकेका खराबीहरूको ‘कन्फेन’ हो ।
र अन्त्यमा
विभिन्न घटनालाई फरक फरक शीर्षक समेटिनु, सरल भाषाशैलीको प्रयोग हुनु, छोटा खालका संवाद उपयोग गरिनु, वर्णनको अधिकता हुनु मोसो उपन्यासका सामान्य विशेषता हुन् । समाजका राम्रा, नराम्रा दुवै पाटालाई केलाउनु पत्रकारिताको धर्म हो भन्ने कुरालाई यो उपन्यासले राम्रै पालना गरेको छ । कुनै पनि मुद्दामा केन्द्रित भएर लेख्दा मुद्दाबाहेकका अन्य कुरा छुट्छन् । त्यो कुरा यो उपन्यासमा पनि लागु भएको देखिन्छ तर पनि पत्रकारिताका बारेमा जान्न चाहनेका लागि यो उपन्यास एउटा आवश्यक खुराक हो । यसका लागि पत्रका सूर्यप्रकाश कँडेल बधाईका पात्र बनेका छन् । आगामी उपन्यास अर्कै विषयवस्तुमा आधारित भएर छिटो निस्कोस् भन्ने कामना र मोसोको सफलताका लागि हार्दिक शुभकामनासहित कलमलाई विश्राम दिन्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

