उठानका कुरा
निःसन्देह हरेक पाठकको आ–आफ्नै छनोट हुन्छ । कुनै कुरा पढ्नुअघि म पनि आफ्नै पाराले लेखक र कृतिको छनोट गर्छु । मेरो छनोटका लेखकहरूमध्ये सरूभक्त पनि एक हुन् । म सरूभक्तलाई उनको सरल व्यक्तित्व र जटिल लेखनलाई एकै ठाउँमा राखेर समग्रतामा मन पराउँछु । यसकारण उनका अधिकांश कृतिहरू पढेको छु भन्दा गर्व नै लाग्छ । यहाँ मैले उनको उपन्यासको कुरा गर्न लागेकाले मेरो कलम त्यतै सोझ्याउन चाहन्छु । हो, मलाई अल्लारे उमेरमा उनको ‘पागलबस्ती’ उपन्यासले राम्ररी तानेको थियो । त्यसको तुलनामा ‘तरुनी खेती’ र ‘समयत्रासदी’ले ममा ठीकैको प्रभाव पारेका थिए । उनको मास्टरपिस उपन्यास भने मलाई ‘चुली’ नै हो भन्ने लाग्छ । उनकै कथ अनुसार उपन्यासलेखनमा लामो समयको निर्वासनपछि ‘प्रतिगन्ध’ लिएर हामी पाठकमाझ पुनः उपस्थिति जनाएका छन् । यो उपन्यास आउनेबित्तिकै पढिहाल्ने धैर्य मसँग थिएन, कारण हो यसको अनावश्यक मोटाइ । हालसालै एक भेटमा आख्यानकार तथा कवि एल.बी. क्षेत्रीले न्यायाधीशले हेर्दाहेर्दैमा राखेजस्तै पछि पढेर सक्ने गरी करिब एक चौथाइ पढेपछि थन्क्याएको कृति भनेर यसको चर्चा गरेपछि भने मैले यसमा रुचि देखाएँ । यसपालिको बन्दाबन्दीको खुराकका रूपमा मैले चाहिँ यसको भरपुर उपयोग गरेँ । समीक्षामा पनि अलिअलि कलम चलाएको नाताले करिब एक हप्ता लगाएर पढेको कृतिका बारेमा केही लेख्नु आवश्यक ठानेर यो आलेख तयार पारेको हुँ ।
उपन्यासकारका कुरा
नेपाली पाठकको कुरा गर्नुपर्दा आम पाठकहरू कुनै कृति हात परेपछि भूमिकाको पछि नलागी सिधै कृतिभित्र हाम फाल्छन् । यो आम पाठकको पाठकीय चरित्र हो । यसै कुरालाई बुझेर अचेल प्रकाशित हुने अधिकांश उपन्यासमा भूमिका भन्ने कुरा नै राख्न छोडिएको पाइन्छ । यो मान्यता उपन्यासकार सरूभक्तमा भने लागु हुँदैन । उनको उपन्यासलाई राम्ररी बुझ्न कुनै पनि पाठकले उनको भूमिका नपढी धरै छैन । चाहे त्यो ‘पागलबस्ती’को सन्दर्भमा होस्, चाहे त्यो ‘चुली’को सन्दर्भमा होस् । यो कुरा प्रस्तुत ‘प्रतिगन्ध’ उपन्यामा पनि लागु हुन्छ । उपन्यास टुङ्गिएपछि ‘औपन्यासिक निर्वासनपछि’ शीर्षकमा छ पृष्ठ लामो भूमिका (पृ. ४८१–४८६) मा उनले विश्व उपन्यासको कुरा गर्दै आफू उपन्यासमा कसरी आइयो ? आफ्नो उपन्यासयात्रा कस्तो रह्यो ? र प्रतिगन्ध किन लेखियो ? भन्ने फेहरिस्त तयार पारेका छन् । उक्त भूमिकाबाट ‘प्रतिगन्ध’ उपन्यासलाई आधार मानी निम्न सार खिच्न सकिन्छ –
– विद्यालयमा नौ–दश कक्षामा अध्ययन गर्दा म उपन्यासतर्फ आकृष्ट भएँ ।
– साहित्यमा अभिरुचि भएको विद्यार्थीलाई दिनरात उपन्यास पढ्न मन लागेपछि उपन्यास लेख्न पनि मन लाग्छ । मलाई पनि उपन्यास लेख्न मन लाग्यो ।
– मसित लगभग बाह्र वर्ष औपन्यासिक वनवास बस्नुको के कारण थियो ? खास कारण थिएन ।
– वनवासबाट फर्कने चाहना आफैँमा एक उत्साहप्रद चाहना थियो तर साथमा केही प्रश्नहरू पनि थिए । के म समयको प्रतिस्पर्धालाई सहज रूपले स्वीकार गर्न सक्छु ?
– अमेरिका र अन्य डायस्पोराका कथा धेरैले भनिसकेको अवस्थामा उपन्यास आरम्भ गर्नु निश्चय पनि चुनौतीको पहाड अग्लिुनु थियो तर पहाडहरू जति अग्लिए पनि ती मानिसका पाइलाद्वारा नापिनका लागि हुन्छन् ।
– म नेपालको संस्कृतिका सन्दर्भमा पनि मिलान कुन्देराको महान् विश्वासमा विश्वास गर्छु ।
उपन्यासकारले आफ्नो पछिल्लो उपन्यास ‘प्रतिगन्ध’मा महान् लक्ष्य राखेर नेपाल र अमेरिकाको संस्कृति चित्रण गर्न खोजेका भए पनि उनको महान् लक्ष्य उपन्यासका नायक अमरजस्तै जेलिएको अवस्थामा आम पाठकले भेट्न पुग्छन् ।
आम पाठकका कुरा
आम पाठक उपन्यासमा न त दर्शनको उधुम प्रयोग मन पराउँछ न अन्य कुनै पनि सिद्धान्तको अनावश्यक व्याख्या । सामन्यतया ऊ उपन्यासमा नयाँ–नयाँ विषयवस्तुको कुरा पढ्न चाहन्छ । त्यस्तै पुरातन शैलीबाट हटेर नयाँ खालको शैलीको चाहना राख्नु पनि उसको नैसर्गिक अधिकारभित्र पर्छ । जसरी पैसा तिरेर होटलमा खाना खाँदा आफ्नो स्वादको खोजी गरिन्छ, त्यसरी नै पाठकले पैसा तिरेर किनेको पुस्तकमा आफ्नो रुचिअनुसारको चिजको खोजी गर्नु मनासिब हो भन्ने लाग्छ । उपन्यासकार सरूभक्तले त्यो कुरा बुझेका छन् भन्ने लाग्छ । उनले हरेक उपन्यासमा नयाँपनको खोजी गरेका छन् । फरक यत्ति हो प्रतिगन्ध उपन्यासमा अरूले भनेकै कुराको आवृत्ति गरेको कुरालाई इमानदारीपूर्वक आफ्नो लेखकीय मन्तव्यमा राखेका छन् । यति भएर मात्र पाठकलाई पुग्दैन उसलाई लेखकले नयाँपन दिन सक्नुपर्छ, यो आम पाठकको एक सूत्रीय चाहना हो ।
उपन्यासका सामान्य कुरा
बुक हिल पब्लिकेसनले प्रकाशित गरेको प्रतिगन्ध उपन्यास जम्मा ४८७ पृष्ठको आयाममा फैलिएको एउटा मोटो खालको उपन्यास हो । अमरको कथा, महेशको कथा, युवराजको कथा, रवि जोन्सनको कथा, अर्पणाको कथा र फेरि अमरको कथा गरी जम्मा छ भागमा विभक्त प्रस्तुत उपन्यासमा ४१ खण्डहरू छन् । सुरुको अमरको कथा भन्ने भागमा अमरले नेपालभित्र र नेपालबाट अमेरिका गएर गरेका सङ्घर्ष, प्रेम, नेपाली जातिको उत्थानका लागि गरेका सामूहिक प्रयास, प्राप्ति–अप्राप्तिका कुराहरू आएका छन् भने अन्तिमको फेरि अमरको कथा भन्ने भागमा जीवनको उत्तरार्द्धमा उसले भोगेका एकाकीपनका कथा नै बेसी आएका छन् । उपन्यासको अन्त्यमा उसले नाइन–इलाभेनमा मारिएको जेठो छोरो आरम्भलाई सम्झेर नजिकै विस्फोट भएको अग्लो भवनमा हतारिँदै पसेर आफ्नो ज्यान गुमाउँछ । महेशको कथाभित्र एउटा सैनिक परिवारको महेशमा कसरी सैनिक हुनबाट वितृष्णा पलायो भन्ने देखाउँदै त्यसको उपचारस्वरूप ऊ अमेरिका भासिएको र घर–परिवारसँग पूरै बेखबर भएको देखाइएको छ । आफू विवाहका लागि नेपाल जाने निर्णय गरेको रात नै लुटेराहरूले आफ्नो कार्यकक्षमा गोली हानी उसको हत्या भएको देखाइएको छ ।
त्यस्तै युवराजको कथामा काठमाडौँका धनी बाबुको छोरो युवराज सिनेमाको हिरो बन्न चाहेको तर प्रेममा धोखा खाएपछि निराश भएर अमेरिका गएको देखाइएको छ । उसमा स्थिरताका लक्षण देखिन्न । यसको परिणामका रूपमा विपरीत दिशाबाट आफूतिर आइरहेको टोर्नेडोतिर रफ्तारमा गाडी चलाएर हेलिन गएकोबाट पुष्टि हुन्छ । रवि जोन्सनको कथामा अमेरिका हुर्केको रविको बाल्यकाललाई पूर्वदीप्तिका रूपमा प्रस्तुत गरिएको छ । सानैमा पहिरोमा परी बाबुआमा गुमाएको उसलाई पिटर जोन्सन नामका अमेरिकी स्वयंसेवकले धर्मपुत्रका रूपमा अमेरिका लगेको, त्यहीँ लालनपालन, शिक्षादीक्षा ग्रहण गरी परिवार बसाएको, परिवारमा पत्नी, छोरा र छोरी भए पनि पत्नीसँग खटपट हुने गरेको देखाइएको छ । यति भएर पनि उसले सम्झौता गरेर बसेको देखाइएको छ । त्यस्तै अर्पणाको कथा अरूको भन्दा केही फरक छ । धरानको घरमा आमाको मृत्युपछि बाबुले दोस्रो विवाह गरेका कारण घरसँग टाढिएकी अर्पणा जागिरको सिलसिलामा प्रेममा परेको अमेरिकी जेम्सको सहयोगमा अमेरिका गएको ऊसँग विवाह बन्धनमा बाँधिए पनि सन्तान जन्माउने सवालमा वादविवाद बढेका कारण सम्बन्धविच्छेद गरी बसेको, एक्लै सङ्घर्ष गर्ने क्रममा बिरामी परेको बेलामा भेटिएको डाक्टर विवेकसँग कलेजको सहपाठी कमलाको दवावमा विवाह गरी सुखी जीवन बिताएको देखाइएको छ ।
समग्रमा ‘प्रतिगन्ध’ उपन्यास नेपाली जाति र त्यसमा पनि अमेरिकामा सपना खोज्न गएर पनि सपना हराई बेखबर बनेको कुराका चित्रणमा केन्द्रित छ । मानिसको अहम्, मानिसका विभिन्न मानसिकता, समाजमा व्याप्त द्वन्द्व, विश्वमा फैलिएका युद्ध, त्यसपछिको शान्ति आदिजस्ता विविध कुरालाई अन्तर्घुलित गरेर यो उपन्यासको बुनोट तयार पारिएको छ । यसरी धेरै कुरालाई मिसाउन खोज्नु, एकभन्दा धेरै पात्रलाई नायकका रूपमा उभ्याउनुका कारण उपन्यास बढी जेलिएको पाइन्छ ।
उपन्यासको सबलताका कुरा
‘प्रतिगन्ध’ उपन्यासको सबलतलाका कुरा गर्नुपर्दा डायस्पोराको चित्रण गरिनु, त्यसमा पनि नेपालबाट अमेरिका गएर बसोवास गर्दै आएका विभिन्न नेपालीहरूका कथाव्यथालाई केलाउनु, वैश्विक रूपमा फैलिएको आतङ्कवादको कुरा गर्नु, स्वैरकल्पना र यथार्थलाई अन्तर्घुलित बनाएर उपन्यासको रचना गरिनु, अहङ्केन्द्री दर्शनलाई प्रयोग गरिनु लेखकका औपन्यासिक सफलता हुन् तर ती कुरालाई आम पाठकले कति मात्रामा पचाउन सक्छन् भन्ने अहम् प्रश्न आफ्नो ठाउँमा ज्युँका त्युँ खडा रहेको तथ्यलाई भने भुल्नु हुँदैन भन्ने लाग्छ ।
उपन्यासको दुर्बलताका कुरा
‘प्रतिगन्ध’ उपन्यासलाई पाठकका कोणबाट हेर्दा यसमा नवीन विषयवस्तुको प्रयोग नहुनु, कृतिभित्र समय तितरवितर भएर आउनु, कृतिको आकार अनावश्यक रूपले ठूलो हुनु, वर्णनको अधिकता पाइनु, दर्शनको ज्यादा प्रयोग गरिनु जस्ता कुरा आम पाठकका लागि बोझिलो पक्ष बनेको छ । जसलाई पाठकका दृष्टिमा कृतिको दुर्बलता मान्न सकिन्छ । त्यस्तै गरी कृतिमा कताकतिबाहेक त्यति अशुद्धि नभए पनि ठाउँ ठाउँमा पात्रका बारेमा अलमल भएको पाइन्छ । यसको साक्ष्यका रूपमा तलका उद्धरणहरू हेरौँ –
– कमला एस्टोरियाको निकटवर्ती क्षेत्र उडसाइडमा बाबुआमासित बस्थी । उसका बाबु प्राध्यापक डाक्टर श्यामानन्द चटर्जी अमेरिकाका एक विख्यात जीववैज्ञानिक थिए । आमा कौशल्या चटर्जी विशुद्ध गृहिणी थिइन् । (पृ.३८६)
– कमलाको माइतघरमा रमानन्द चटर्जी र कौशल्या चटर्जीले अर्पणालाई देखी खुसी प्रकट गरे । (पृ.४०२)
– “अनि मेरी प्यारी विदुषी बहिनीलाई कस्तो लाग्छ त, सुनूँ न … ?”, अमरले हलुका हाँस्दै आरतीलाई सोध्यो ।
“मलाई … मलाई त कहिले पनि कतै युद्ध–आतङ्क, अशान्तिहरू नभइदिए हुन्थ्यो जस्तो लाग्छ ।”, अर्पणाले भनी । (पृ.४७१)
माथिका दुईवटा उद्धरणमध्ये पहिलो उद्धरणमा कमलाका बाबुको नाम श्यामानन्द चटर्जी भनिएको छ भने दोस्रोमा रमानन्द चटर्जी भनिएको छ । त्यस्तै तेस्रो उद्धरणमा बहिनी अर्पणासँग प्रश्न सोध्नुपर्नेमा अमरले आरतीलाई सोधेको कुरा गरिएको छ । यसले पात्रका बारेमा द्विविधा उत्पन्न गराएको छ । लेखकका यस्ता कमजोरीहरूमा पाठक अलमलिन सक्छन्, यसर्थ आगामी संस्करणमा सुधार्नुपर्ने देखिन्छ ।
निष्कर्ष
उपन्यासकार सरूभक्तकै शब्दमा भन्नुपर्दा “लामो समयको अनुपस्थितिपछि निर्वासनबाट फर्कँदा नयाँ पाठकवर्गमा म अनुहारले कति चिनिनेछु, मलाई थाहा छैन । मलाई बोध भने छ, मैले निर्वासनबाट फर्कँदा गतिलो तयारी गनुपर्छ ।” उनी आफ्नो लेखनप्रति जिम्मेवार भएको कुराको बोध यो कथनले राम्ररी गराउँछ तर लेखकले जिम्मेवारी बोध गरेर मात्र पुग्छ भन्ने आम पाठकले ठान्दैन । पाठकले नयाँपन खोज्छ । अरूले भनिसकेका कुरामा त्यति ध्यान दिँदैन । हो, लेखकले चाहिँ “के भन्ने” भन्दा पनि “कसरी भन्ने?” भन्ने कुरामा ज्यादा ध्यान दिएको हुन्छ तर आम पाठकले त्यसो सोच्दैन । यसर्थ प्रतिगन्ध उपन्यास विशिष्ट नभएर मध्यम खालको उपन्यास बनेको छ भन्दा यसमाथि अन्याय हुन्छ भन्ने मलाई लाग्दैन ।
र अन्त्यमा, लामो समयको निर्वासनबाट पुनः उपन्यास लेखनमा फर्किएका उपन्यासकार सरूभक्तबाट ‘चुली’ जस्तै अर्को सशक्त उपन्यासको अपेक्षा गर्दै यो पाठकीय अभिमतबाट कलम रोक्न चाहन्छु । अस्तु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।