मनोहर मान पुन

डेढ दशकअघि इहलीला समाप्त भएको थियो उनको । पुराना पाना पल्टाउँदै जाँदा वि.सं. २०४८ सालतिर राजधानीस्थित नेपाल भारत सांस्कृतिक केन्द्रको भवन (आर.एन.ए.सी. रहेको बिल्डिङ्)मा मेरो एकल चित्रकला प्रदर्शनीको आयोजना भएको थियो । उक्त उद्घाटन कार्यक्रममा उनी पनि आएका थिए । त्यहीँ मेरो उनीसँग प्रथम भेट र परिचय भएको थियो । परिचयको क्रममा मैले थाहा पाएँ कि, उनी नेपालका सम्मानित, मूर्धन्य तथा वरिष्ठ वस्तुवादी कलाकार मनोहरमान पुन रहेछन् ।

त्यसताका उनीजस्ता व्यक्तित्वसँग चिनजान गर्न पाउँदा म ज्यादै खुसी र गौरवान्वित भएको थिएँ । उनले मेरो प्रदर्शनी हेर्दै एउटा चित्रलाई देखाएर धाप मारेको र दिएको मार्ग निर्देशन अझै पनि मेरो मानसपटलमा तरङ्ग झैँ बगिरहेको छ । उनले भनेका थिए — ‘तिम्रो ‘सरियालिज्म’ मा राम्रो हात रहेछ । यसैमा सधैँ काम गर्नु । कतै नलर्बराउनु ।’ तर समयको गतिसँगै नयाँ पुस्ताहरूलाई जस्तै आधुनिक कलामा राग र लिप्साले मलाई पनि छोयो । र पुनको ‘सरियालिज्म’ कलाकार बन्नुपर्ने सल्लाहलाई ओझेलमा पारिदियो । अहिले म आधुनिक कलाधारमा निहित रहेर काम गर्छु । तथापि उनको प्यारो निर्देशनलाई अझै भुल्न सकेको छैन । नेपाली कला–भूगोलमा ओझेलमा परेका उनलाई मैले मात्र होइन, २०६५ सालमा काठमाडौँ विश्वविद्यालयले पनि सम्झेको थियो एक कार्यक्रममार्फत् । काठमाडौंको मन्डिखाटारस्थित कलाको विभागमा उनको कला योगदानबारे छलफलको आयोजना चलेको थियो । त्यतिबेला कलाका पारखी तथा त्यहाँ अध्ययनरत विद्यार्थीहरूले पुन र उनका कृतिबारे बुझ्ने, जान्ने र मनन गर्ने मौका पाएका थिए । यो सुनौलो र महत्त्वपूर्ण अवसर कलाविभागका निर्देशक एवं कलाकार सुजन चित्रकारले जुराएका थिए ।
‘त्रिसट्ठी वर्षअघि लैनचौरमा भएको चित्रकला प्रदर्शनीमा जुद्धशमशेरको ‘पोट्रेट’ (मुहारचित्र) राखेको थियो । त्यहाँ रातो रङ धेरै पर्न गएछ । त्यो देखेर जुद्धशमशेर राँक्किए । अब के गर्ने हुन् उनले भन्ने डरले म भारततर्फ भागेँ । पछि बालकृष्ण समले सम्झाइ–बुझाइ गरेछन् र बाँचियो,’ यो अनुभव पुनले मलाई २०४८ सालमा सुनाएका थिए । मलाई थाहा छ, आफ्नो जीवनमा घटित यो अमिट घटना जो कोहीसँग गफ सुरु गर्ने मेसो बन्थ्यो उनको । वस्तुवादी शैलीमा चित्र कोर्ने हँसिला पुनको शरीर आज हाम्रो बीच नभए पनि उनले बनाएका कालजयी चित्रहरू भने हामीबीच जस्ताका तस्तै छन् । नेपाली कलाक्षेत्रमा उनको यादहरू अझै ताजै छन् ।
सिर्जनशील कलाकार मनोहरमान पुन काठमाडौंको मरु टोलमा वि.स. १९७१ मा जन्मेका थिए । सानै उमेरदेखि चित्र कोर्न खप्पिस उनले सोह्र वर्षको उमेरदेखि नै घर छाडी दार्जिलिङ्ग लगायत भारतका विभिन्न शहरहरूमा जीवन गुजारा गर्दै, चित्र कोर्दै हिँडेका थिए । उनले भारतमा रहँदाबस्दा ‘प्रकाश पिक्चर्स’ भन्ने चलचित्र कम्पनीमा पोष्टर कलाकारको रूपमा काम गरे भने कहिलेकाहीँ सर्कस कम्पनीमा जोकरको भूमिका पनि निर्वाह गरे । भारतमा उनलाई ‘बम्बई आर्ट सोसाइटी’ बाट पुरस्कृत समेत गरिएको थियो । त्यही पुरस्कारले भारतमा उनको ख्याति बढाएको थियो । पछि उनका कृतिहरूको प्रदर्शनी जर्मनी, लण्डन र भारतका विभिन्न शहरहरूमा हुँदै गए ।
पछि ती विविध प्रदर्शनीहरूले उनको भाग्य चम्कायो । प्रदर्शनीमा कतिपय चित्रहरू बिक्री भई विदेशिए । उनका चित्रहरू विशेषतः विदेशीहरूले नै किनेर लगेका छन् । केही चित्रहरू मात्र स्वदेशमा छन् तर ती पनि अलपत्रिएका अवस्थामा छन् । जसलाई नेपाल सरकारले संरक्षण गर्न पाइला चाल्नु पर्ने हो । तर हाम्रो सरकारसँग बितेका कलाकारका कृतिलाई संरक्षण गर्दै राष्ट्रिय सम्पदाका रूपमा सुरक्षा गर्ने संस्कार, नीति र चेतना नै छैन । विदेशीहरूले व्यक्तिगत रूपमा सङ्ग्रह गरेका हजारौँ मूल्यका उनका चित्रहरू आज विदेशमा कहाँ कहाँ पुगेका छन्, त्यसको निश्चित लेखाजोखा वा आँकडा न कलाकारहरूसँग छ, न त कलाका सङ्घसंस्था र सरकारी निकायहरूसँग नै छ । स्वदेशमा भएका एकदुई चित्रहरू पाँचतारे होटल, मन्त्रालय, राष्ट्रिय सङ्ग्रहालय र विशिष्ट भवनहरूमा सङ्ग्रहित रहेको देख्न सकिन्छ । स्वदेशमा पशुपति मन्दिर, धरहरा, सिलिगुडी, र नेवारी जनजीवन लगायतका चित्रहरू छन् । कलाको मूल्यमान्यता र चेतनाको अभावका कारण नेपालमा खरिद वा सङ्ग्रह गरिएका कतिपय उनका चित्रको राम्ररी संरक्षण पनि हुन सकिरहेको देखिंदैन । यो कला क्षेत्रकै निम्ति दुर्भाग्य हो ।
पुनको इतिहासमा घोत्लिंदा भारतको सङ्घर्षशील जीवनपश्चात् स्वदेशमा फर्केका उनले आफ्नै देशमा अन्य समकालीन कलाकारको जति पनि ख्याति पाएको देखिंदैन । जीवनको पछिल्लो समयमा सुश्री मेरी इवान्स (त्यसताका काठमाडौंस्थित अक्टुबर ग्यालरी सञ्चालन गरेर बसेकी) भन्ने नाम गरेकी विदेशीको सहयोगले उनको चित्र प्रदर्शनी भएपछि मात्र स्वदेशमा उनको केही ख्याति फैलिन थालेको देखिन्छ । आफूलाई ‘रियालिज्म’ कलाकार भन्न रूचाउने पुनको आधुनिक कलाप्रति उति मोह थिएन । यद्यपि उनका चित्रलाई गम्भीर रूपले हेर्दा आधुनिक कलाको अपत्यारिलो छनक नपाइएको भने छैन । वि.स. २०४८ सालमा युवा कलाकार समूहले सिर्जना ग्यालरी जमलमा लगाएको उनको एकल कला प्रदर्शनीमा राखिएका केही चित्रमा परिवर्तनको सङ्केत देखिएको थियो । पुनको सामाजिक, सांस्कृतिक र नेवारी जनजीवन झल्कने दृश्यचित्र, मुहारचित्र र वस्तुचित्र निकै परिपक्व छन् । पुनलाई आफ्नो चित्र ज्यादै प्यारो लाग्थ्यो ।
उनले आफ्नो जीवन कालमा विगत सम्झिँदै भनेका थिए — ‘१९९६ मा म पाइल्सको उपचार गराउन शङ्कर शमशेरसँग भारत जाँदा दरभङ्गा महाराज सर कामेश्वरसिंह के.सि. एस.आई.को हजुरमा चढाउन भनी लगेको चित्रलाई कुल्लीले अरु सामान सरह टाउकोमा राखेर हिँडेकोले सबै ध्वस्त भएछ । कम दुःख लागेन ! त्यस चित्रले मलाई महिनौँ भोक, प्यास लागेन ।’ सानै उमेरदेखि पिता चित्रकार वीरमान पुन र मामा चित्रकार तेजबहादुर चित्रकारको सान्निध्यको प्रभाव उनको चित्रमा परेको देखिन्छ ।
चित्रकार चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकार भारतबाट विधिवत् कलाको शिक्षा लिई नेपाल फर्केपछि, स्वदेशीय परम्परासँग साक्षात्कार गरी कला रचना गर्ने संस्कारमा कमी आएको अवस्थामा गुरुकुलीय मान्यतामा कला सिक्नुपर्ने प्रचलनलाई भने उनले जीवन्त राखेको पाइन्छ । त्यसताका उनका समकालीन कलाकारहरू थिए — पृथ्वीमान चित्रकार, माणिकमान चित्रकार, आनन्दमुनि शाक्य र बालकृष्ण सम । यी कलाकारहरूले पुन जस्तै वस्तुवादी चित्र प्रचलनलाई कायम राखेका थिए । यी कलाकारहरू पुनका समकालीन भए पनि पुनको चित्रशैली र प्रवृत्तिले भने यिनीहरूको कामसँग एकरूपता गाँसेको देखिँदैन । पुनको कलाशैलीमा आफ्नै पहिचान र हल्का प्रगतिवादी दृष्टिकोण छन् । कतिपय चित्रहरूमा विम्बवादी प्रवृत्ति र रातो, कालो रङको प्रधानता पाइनाले उनमा पनि विद्रोहात्मक विचार र अग्रगामी मनस्थिति सल्बलिएको अनुभूत हुन्छ ।
यसरी भारतमा बसेर पनि भारतीय प्रभावमा नपरी चोखो नेपाली पृष्ठभूमिमा काम गर्ने पुन नेपाली कलाको ७०, ८० वर्षको इतिहासको पानामा र हजारौं कृतिहरूमा आज पनि अमर छन् । यस्ता व्यक्तित्वको सम्झना अरूलाई आउँछ आउँदैन, मलाई थाहा छैन । तर, मलाई भने बारम्बार आइरहन्छ ।