अचेलको बजारमा बालसाहित्यको पनि छुट्टै स्थान पाइन्छ । बालसाहित्य भनेको बालकका लागि लेखिएको साहित्य हो । विविध विषयवस्तुलाई समेटेर सरल भाषामा बालकको मन तान्न सक्ने गरी कविता लेख्नु कवि रमेशचन्द्र घिमिरे (२०२८) को बालकविता लेखनको प्राप्ति हो । यस मानेमा लामा छोटा गरी कूल पन्ध्रवटा बालकविता समेटेर तयार पारिएको ‘घुमाउने घर’ बालकविता सङ्ग्रह एउटा सङ्ग्रहणीय कृति बनेको छ ।
असान्दर्भिक कुरा :
कवि रमेशचन्द्र घिमिरेलाई कहाँ र कहिलेबाट चिनियो तिथिमिति यकिन छैन । उनका रचनाहरू रेडियो नेपालमा सुनेको र ‘युवामञ्च’ पत्रिकामा पढेको भने राम्रै याद छ । त्यसो त उनी सुरुमा मेरा पत्रमित्र हुन् । एम्.ए. पढ्दाका सहपाठी घिमिरे काठमाडौँ छोडेर लमजुङलाई कार्यथलो बनाएका कारण केही समय ओझेल परेजस्ता देखिए । यतिबेला उनी निकै तदारुकताका साथ नेपाली साहित्यमा लम्किरहेका छन् ।
उठान :
खोजी प्रकाशनबाट प्रकाशित घुमाउने घर (बालकविता सङ्ग्रह) का सर्जक कवि रमेशचन्द्र घिमिरे हुन् । यो कृति आवरणसहित जम्मा बीस पृष्ठको आयाममा फैलिएको छ । कलाकार देव कोइमीको सुन्दर कलाले सुसज्जित यो कविताकृतिमा लामा छोटा दुवै खालका गरी कूल पन्ध्रवटा बालकविता सङ्गृहीत छन् । हरेक कविताका लागि छुट्टै पृष्ठ दिइएको यो कृति बालबालिकाका लागि आकर्षक खुराक बनेको पाइन्छ । सोही कविताकृतिलाई आधार मानेर यो छोटो समीक्षा तयार पारिएको हो ।
शब्दचित्रमा कवि रमेशचन्द्र घिमिरे:
कवि रमेशचन्द्र घिमिरेको जन्म वि.सं. २०२८ चैत्र २१ तत्कालीन गण्डकी अञ्चलको लमजुङ जिल्लामा पर्ने भोर्लेटार गाउँमा भएको हो । कवि, लेखक, साहित्यकारजस्ता साहित्यमा परिचय बनाएका घिमिरे लमजुङ क्षेत्रका शैक्षिक क्षेत्रमा समेत कहलिएका व्यक्तित्व हुन् । त्रि.वि.बाट नेपाली साहित्यमा एम्.ए.सम्मको अध्ययन पूरा गरेका घिमिरेले नेपाली साहित्यका कविता, गीत, गजल, मुक्तक, हाइकु, बाछिटाजस्ता साहित्यिक लेखनमा सक्रियता देखाइ रहेका छन् । यति हुँदाहुँदै पनि उनको पहिचान बालसाहित्यका क्षेत्रमा विशेष बन्दै गएको छ । विभिन्न पत्रपत्रिकामा उनका बालसाहित्यका विविध विधाका रचनाहरू छरिएर रहेका छन् । उनका हालसम्म बालसाहित्यका मलाई माया गर्ने को को ? (बाल चित्र पुस्तक, २०७२), सानी पुतली (बाल चित्र कविता, २०७५) र घुमाउने घर (बालकविता सङ्ग्रह, २०७८) जस्ता कृतिहरू प्रकाशित भएका छन् । नेपाली संस्कृति, प्रकृति, जीवनशैली, विज्ञान, प्रविधिजस्ता विविध भावलाई बालमैत्री तरिकाले प्रस्तुत गर्नु उनका कविताको भावगत विशिष्टता हो । त्यस्तै उनले आफ्ना सिर्जनामा विविध खालका लयलाई पनि सफलतापूर्वक प्रयोग गरेको पाइन्छ । उनले आफ्ना कवितामा बालबालिकाका लागि विविध खालका सन्देश समेत दिने गरेको पाइन्छ । बालसाहित्यको सर्जक मात्र नभई समीक्षकको समेत परिचय बनाएका घिमिरे विभिन्न साहित्यिक संघसंस्था सम्बद्ध छन् । केन्द्रीय, क्षेत्रीय तथा स्थानीय स्तरका विभिन्न साहित्यिक संस्थासँग सम्बद्ध उनी चर्चित साहित्यिक पोर्टल ‘साहित्यपोष्ट’का बालसाहित्य स्भम्भका स्तम्भकार समेत हुन् ।
घुमाउने घर बालकविताको भावभूमि :
कवि रमेशचन्द्र घिमिरको हालै प्रकाशित घुमाउने घर (बालकविता सङ्ग्रह) का कवितामा समसामयिक खालका विविध भावहरू समेटिएको पाइन्छ । कृतिको पहिलो कविता ‘घुमाउँछु जाँतो’ मा गाउँघरमा प्रायः दाल पिँध्न प्रयोग हुने, जाँतो पिँध्ने तरिकाको चर्चा गरिएको छ । त्यस्तै दोस्रो कविता ‘थैली हाँस्यो मुसुक्क’ मा ग्रामीण महिलाले थैलीमा कसरी रकम जम्मा गर्छन् भन्ने कुराको बयान गरिएको छ । त्यस्तै ‘इन्द्रधनु’ कवितामा इन्द्रेणी कसरी देखिन्छ ? भन्ने कुराको ज्ञान दिइएको छ भने अर्को कविता ‘बेलघारीको बेल’ मा गुणकारी फल बेलको महिमा गाइएको छ । त्यस्तै ‘घडीभित्र छडी’ कवितामा घडीको बनोटका बारेमा चर्चा गरिएको छ भने उनको कृतिको शीर्षक कविता ‘घुमाउने घर’ मा गाउँघरमा पहिले प्रचलनमा रहेका र अचेल लोप हुन थालेका घुमाउने घरको बयान गरिएको पाइन्छ । उनले ‘जन्मदिनकिो रमाइलो’ कवितामा हामी जन्मदिन कसरी मनाउँछौँ ? भन्ने कुरा गर्दै जन्मदिनलाई कसरी रमाइलो बनाउन सकिन्छ ? भन्ने सन्देश पनि दिइएको छ । त्यस्तै ‘क्याल्कुलेटर’ कवितामा क्याल्कुलेटरको प्रयोगका बारेमा बयान गरिएको छ भने उनको ‘कस्तो हुन्छ भनेर’ कवितामा बाको टोपी, चस्मा र दौरा लगाउँदा एउटा सानो बालकले कस्तो अनुभव गर्छ ? भन्ने कुराको मार्मिक चित्रण गरिएको छ ।
उनको ‘कस्तो हुन्छ भनेर’ कवितामा उनी एउटा बालकले बाको आँखा छलेर बाको चस्मा लगाएपछि कस्तो अनुभव गर्छ ? भन्ने कुरालाई निकै उत्सुकतापूर्वक यसरी चित्रण गरेका छन्ः
“कस्तो हुन्छ भनेर
बाको चस्मा लगाएँ
फननन्न रिँगायो
आत्तिएँ र कराएँ ।”
(कस्तो हुन्छ भनेर)
कवि घिमिरेले ‘जूनकिरी’ कवितामा जूनकिरीले अँध्यारो रातमा कसरी उज्यालो दिन्छ ? भन्ने जिज्ञासा राखेका छन् भने त्यस्तै ‘कुखुराको भाले’ कवितामा कुखुराको भालेको वर्णन गरेका छन् । उनको ‘असिना’ कवितामा असिना कसरी पर्छ ? भन्ने कुराको वर्णन गरिएको छ भने ‘बाह्र महिनाको गीत’ कवितामा नेपाली पात्रो अनुसारका बाह्र महिनामा के के हुन्छ ? भनेर चिनाउन खोजिएको छ । त्यस्तै ‘स्कूल जान थालेँ म त’ कवितामा पहिलोचोटि स्कूल गएको अनुभव उल्लेख गरिएको छ ।
उनी एउटी बालिकाले पहिलो दिन स्कूलमा कथा सुनेको, साथीसँग मिलेर हाँसेको, रमाउँदै, गीत गाउँदै र नाच्दै पढेको अनुभवलाई कविता सुन्दर तरिकाले चित्रण गर्छन् । यस्तो अनुभव सबै बालबालिकाले गर्न पाए विद्यालय भनेपछि डराउने बालबालिकाको सङ्ख्या पनि घट्ने थियो भन्ने अप्रत्यक्ष सन्देश समेत यो कविताले बोकेको छ । हेरौँ कविताको पङ्क्तिः
“स्कूलमा कथा सुन्न, हाँस्न पनि पाइने
पढ्न पाइने, गीत गाउन र नाच्न पनि पाइने ।”
(स्कूल जान थालेँ म त)
‘घुमाउने घर’ बालकविता सङ्ग्रहकै अन्तिम कविता ‘ठेकी कस्तो छ ?’ मा गाउँघरमा दही मथ्न प्रयोग गरिने ठेकीको बयान गरिएको छ । कवि रमेशचन्द्र घिमिरे गाउँमै रमाएर बसेका कवि हुन् । उनलाई सहरको रमझमभन्दा गाउँको प्राकृतिक जीवन प्रिय छ । त्यसैले उनले आफ्ना कवितामा ग्रामीण जीवनका जाँतो, थैली, ठेकीजस्ता सामग्रीको चिनारी दिँदै बालबालिकालाई ग्रामीण जीवनतर्फ आकर्षित गराउन खोजेका छन् । कवितामार्फत गरिएको उनको यस्तो गाउँप्रेम निकै स्वागतयोग्य छ ।
घुमाउने घर बालकविताको लयविधान:
घुमाउने घर (बालकविता सङ्ग्रह) का कवितामा विविध खालका लोकलयको प्रयोग गरिएको पाइन्छ । पहिलो कविता ‘घुमाउँछु जाँतो’ मा ३+३,३+३ अक्षरको ढाँचामा संरचित १२ अक्षरे लोकलयको प्रयोग गरिएको छ । त्यस्तै ‘क्याल्कुलेटर’ र ‘ठेकी कस्तो छ ?’ कवितामा ४+३,२+३ अक्षरको ढाँचामा संरचित १२ अक्षरे लोकलयको प्रयोग गरिएको छ ।
प्रस्तुत सङ्ग्रहको शीर्षक कविता ‘घुमाउने घर’ मा ४+३,४+२ अक्षरको ढाँचामा संरचित १३ अक्षरे लोकलयको प्रयोग गरिएको छ । त्यस्तै ‘जन्मदिनकिो रमाइलो’ कवितामा ४+४,२+३ अक्षरको ढाँचामा संरचित १३ अक्षरे लोकलयको प्रयोग गरिएको पाइन्छ ।
उनको ‘थैली हाँस्यो मुसुक्क’, ‘कस्तो हुन्छ भनेर’ र ‘कुखुराको भाले’ कवितामा ४+३,४+३ अक्षरको ढाँचामा संरचित १४ अक्षरे लोकलयको प्रयोग गरिएको पाइन्छ । त्यस्तै ‘इन्द्रधनु’, ‘बेलघारीको बेल’, ‘घडीभित्र छडी’, ‘जूनकिरी’, ‘बाह्र महिनाको गीत’ र ‘स्कूल जान थालेँ म त’ कवितामा ४+४,४+२ अक्षरको ढाँचामा संरचित १४ अक्षरे लोकलयको प्रयोग गरिएको पाइन्छ ।
साक्ष्यका रूपमा ‘जूनकिरी’ कवितामा ४+४,४+२ अक्षरको ढाँचामा संरचित १४ अक्षरे लोकलयको यो नमुना हेरौँः
“ब्याट्री छ कि टाउकामा आगो छ कि पेटमा
भने हुन्थ्यो हामीलाई नि कैलेकाहीँ भेटमा ।”
(जूनकिरी)
एउटा मात्र कविता ‘असिना’ मा ४+४,४+३ अक्षरको ढाँचामा संरचित १५ अक्षरे लोकलयको प्रयोग गरिएको पाइन्छ । यसरी लयगत हिसाबले हेर्दा यस सङ्ग्रहमा समेटिएका पन्ध्रवटा कवितामध्ये आठवटा कवितामा चौध अक्षरे लोकलयको प्रयोग भएको देखिन्छ । कविले १२, १३, १४ र १५ अक्षरे ढाँचाको लोकलयको प्रयोग गरेका छन् । यसरी गरिएको लयको प्रयोग निकै सुन्दर बनेको छ ।
घुमाउने घर बालकविताको सन्देश :
घुमाउने घर (बालकविता सङ्ग्रह) का कवितामा सङ्कलित कविताहरू सन्देशमूलक छन् । ती मध्ये ‘घुमाउँछु जाँतो’, ‘थैली हाँस्यो मुसुक्क’ र ‘ठेकी कस्तो छ ?’ कविताले ग्रामीण जीवनमा प्रयोग हुने सामग्रीको चिनारी दिएका छन् । त्यस्तै ‘इन्द्रधनु’ र ‘असिना’ कविताले प्रकृतिका सुन्दर छटाको चिनारी दिएको छ भने ‘बेलघारीको बेल’ ले प्राकृतिक फल बेलको गुणगान गाएको छ । त्यस्तै ‘जूनकिरी’ र ‘कुखुराको भाले’ कविताले जीवजन्तुको चिनारी दिएको छ ।
कविले प्रकृति मात्र नभएर प्रविधिको पनि चर्चा गरेका छन् । उनले ‘घडीभित्र छडी’ र ‘क्याल्कुलेटर’ कविताका माध्यमबाट प्रविधि जीवनका लागि कति आवश्यक छ भन्ने सन्देश दिएका छन् । कविले ‘घुमाउने घर’ कवितामार्फत् नेपाली संस्कृतिको चिनारी दिएका छन् भने ‘जन्मदिनकिो रमाइलो’ पनि त्यही खालको कविता हो । उनी ‘कस्तो हुन्छ भनेर’ कवितामा बाल उत्सुकताको कुरा गर्छन् भने ‘स्कूल जान थालेँ म त’ कवितामा बाल अनुभूतिको चित्रण गर्छन् । उनको ‘बाह्र महिनाको गीत’ कविता भने प्रौढले बालकलाई सिकाउने उद्देश्यले तयार पारेजस्तो लाग्ने शिक्षाप्रद कविता हो ।
हेरौँ ‘बाह्र महिनाको गीत’ कविताले प्रस्तुत गरेको सन्देशः
“बैशाखमा कल्कलाउँदो मुना पलाउँछ
जेठको घाम नसम्झाऊ आँत जलाउँछ ।”
(बाह्र महिनाको गीत)
बैठान :
सरल भाषामा बालबालिकाले बुझ्ने गरी बालकविता लेख्नु सजिलो काम हुँदै होइन । प्रौढले लेखेको बालकविताको मुख्य चुनौती ‘बालकले कसरी ग्रहण गर्छन् ?’ भनेर हेर्नु हो । यस कोणबाट हेर्दा कवि रमेशचन्द्र घिमिरेद्वारा रचित बालकविताको कृति घुमाउने घर (बालकवितासङ्ग्रह) बालबालिकाको मन जित्न सक्ने गरी रचना गरिएको निकै प्रभावकारी कविताकृति बनेको पाइन्छ । यस्तो सुन्दर खालको उनको यस कृतिको सफलताका लागि हार्दिक शुभेच्छा प्रकट गर्दछु ।
बालसाहित्यका अतिरिक्त कवि रमेशचन्द्र घिमिरेले कविता, गीत, गजल, मुक्तक, हाइकु, बालगीत, बालगजलमा समेत सशक्ततापूर्वक कलम चलाएका छन् । उनका डायरीका पानामा सुरक्षित अन्य रचनाहरूले पनि छिट्टै प्रकाशनको मुख देख्न पाऊन् । उनीभित्र अपार सम्भावना छ, अब उनको कलम आख्यानयुक्त काव्यात्मक रूप खण्डकाव्य र महाकाव्यको यात्रामा पनि लम्कियोस् भन्ने कामना र शुभेच्छासहित कलम रोक्छु । शुभमस्तु ।
रमेश प्रभात
उपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।