यतिबेलाको नेपाली उपन्यासले बिल्कुल नयाँ विषयवस्तुमा आफ्नो यात्रा तय गरिरहेको छ । यसका लागि थारु समुदायको कथा पनि प्रमुख विषय बनेको छ । यस्तै थारु जातिको जीवन भोगाइलाई विषय बनाई तयार पारिएको मनोज थारु ‘अज्ञात’को ‘टुकी’ उपन्यासले चितवनका थारुहरुको विगतको कथा बताएको छ । आफू स्वयम् थारु समुदायका लेखक भएकाले उनको यो ‘टुकी’ उपन्यासमा थारु समुदायप्रति न्याय गरिएको पाइन्छ ।

उठानः

नेपाली साहित्यमा चितवनको उपस्थिति यतिबेला सशक्त बन्दै गइरहेको छ । उपन्यासका क्षेत्रमा केही पछाडि रहेको यो यात्रालाई अगाडि बढाउन चितवनका नवउपन्यासकार मनोज ‘अज्ञात’ कम्मर कसेर लागिपरेका छन् । उनको हालसम्म ‘टुकी’ उपन्यास प्रकाशित भइसकेको छ भने ‘टुवरा’ उपन्यास प्रकाशनको सङ्घारमा छ । उनी जन्मले थारु हुन्, त्यसैले उनले आफ्नो ‘टुकी’ उपन्यासको लेखनमा आफ्नै थारु समुदायको कथालाई चयन गरेका छन् । यसमा चितवनका थारुहरुको भोगाइलाई मार्मिक रुपमा उतारिएको छ । उनको ‘टुकी’ उपन्यास २०७५ साल असारमा नेपाली बुक्स काठमाडौँले प्रकाशन गरेको हो । यसले ११९ पृष्ठको ठिक्कको आयाम बोकेको छ । त्यसो त यो उपन्यासमा खण्ड योजना गरिएको छैन । तर पनि यसमा परिच्छेदको सङ्ख्या वा नाम नदिइकन २४ वटा विना अङ्क र शीर्षकका परिच्छेदहरु बनाइएका छन् । यसभित्र घटीमा २ पृष्ठदेखि बढीमा १८ पृष्ठसम्मका त्यस्ता परिच्छेदहरु रहेका छन् । यसप्रकार संरचनाका दृष्टिले हेर्दा ‘टुकी’ उपन्यास पुरातन खालको देखिन्छ । लेखकको पहिलो उपन्यास भएकाले पनि त्यसो भएको हुन सक्छ । जेहोस्, चितवन बुझ्न चाहने पाठकका लागि यो उपन्यास निकै उपयोगी छ ।

‘टुकी’ उपन्यासको आख्यानसन्दर्भः

नेपाली उपन्यासका क्षेत्रमा हिजोआज प्रेम, विवाह, द्वन्द्वलाई छाडेर महिला, जनजाति, दलित र पिछडिएका वर्गका कथा लेख्ने प्रचलन बढ्दै जान थालेको छ । यही क्रममा भूमिपुत्रका रुपमा परिचित तथा सदा खेतमा काम गर्न रमाउने चितवनका आदिवासी थारुका कथालाई लिएर तयार पारिएको उपन्यासकार मनोज अज्ञातको ‘टुकी’ उपन्यासमा रहेको कथानक यसप्रकार रहेको छः

चितवनकी उमेर पुगेकी बुढी आमोई अर्थात् विक्रमिया चौधरी बाटो काट्ने क्रममा काठमाडौँका हरि नाम गरेका पुरुषको मोटर साइकलमा ठोक्किन पुग्छिन् । उक्त दुर्घटनामा उनीहरु दुबै घाइते हुन्छन् । उनीहरुलाई अस्पतालमा लगेर उपचार गराइन्छ । डिस्चार्ज गरेपछि उक्त आमोईले आफ्नो बारेमा केही नबताएपछि हरिले आफ्नो घरमा लगेर बाँकी उपचार गराउँछन् । उपचारका क्रममा ठिक हुँदै गएपछि उनले आफ्नो विगत बताउँछिन् । आफूले बाल्यकाल, युवावस्था र बुढ्यौली बिताएको चितवनको शुक्रनगर आसपासको क्षेत्रमा भोगेका भोगाइलाई उनले बताएकी छिन् । बयानका क्रममा उनले देखेका, भोगेका र अनुभव गरेका थारु संस्कृति, चाडपर्व, जीवनशैली आदिको चित्रण गरेकी छिन् । गरिबीका कारण उनीहरुले पाएका दुःखको वर्णन यसमा छ । अरुका घरमा कामदार भएर बिताएको जीवन, बाबुले एउटासँग विवाह गरिदिन चाहेको भए पनि आफू काम गर्न बसेकै घरमा उनको विवाह भएको र त्यसपछि केही समय सुखपूर्वक बाँचेको भए पनि सोझो भएका कारण फेरि दुःख पाएको चित्रण पनि यसमा गरिएको छ । उनले जीवनमा दुःख बाहेक केही नपाएको चित्रण यो उपन्यासमा छ । अझ बुढेसकालमा त झन् उनी जीवनबाट दिक्क भएको देखिन्छ । यसरी एउटी वयोवृद्ध थारु महिलाले जीवनकालमा भोगेका विविध भोगाइको चित्रण नै ‘टुकी’ उपन्यासको कथावस्तु हो । हेरौँ केही साक्ष्यः

रमेश प्रभात

१. घरमा बाआमापछि ठूलो म नै थिएँ । बाआमा दिनभरि जिम्दारकाँ काममा जान्थे । भाइबहिनीको हेरचाह मैले नै गर्नुपर्थ्यो । (टुकी, पृ. १६)

२. बा सबै सामान मिलाएर लडियामा हाल्दै थिए । कुखुरा र चल्लाहरु समातेर थान्को लगाउने जिम्मा मेरो परेको थियो । (टुकी, पृ. ५१)

३. राम्रो लाउन र मीठो खान अछेट लाग्ने हाम्रो घरमा खाना त्यही सखरखण्ड मीठो खाना भयो । (टुकी, पृ. ११६)

४. खाना खाएपछि दुलाहाका साथीहरुले दुलाहालाई भन्दै थिए – ‘जे गरिस् राम्रो गरिस् । सबैले बिथ्थामा तिम्हर्लाई शङ्का मात्रै गर्थे, ल्याइस् राम्रो गरिस् । यसै भएन उसै भएन … है । सबैको मुख टालियो ।’ (टुकी, पृ. १२६)

५. ढिकी चलाउँदा मेरो खुट्टामा कुल्चिदिइन् सौताले, औँला फुटेर रगत बग्न थाल्यो । खुट्टा हटाएर सुम्सुम्याएँ । (टुकी, पृ. १३७)

६. अस्ति भर्खरसम्म छोराछोरीहरु सानै लाग्थे, सबै ठूल्ठूला भइसकेका थिए । मेरी सौताकी टुहुरी छोरीको पनि बिहे भइसकेको थियो । (टुकी, पृ. १८६)

७. शरीर कमजोर भएपछि अनेक हुँदो रहेछ, त्यसमाथि छोराछोरीले यो गर्दिएनन्, त्यो गर्दिएनन् भनेर कचकच गर्छन् । (टुकी, पृ. १८५)

८. मनमा भन्यो – ‘होइन यो ओखती भन्दा बरु विष बेस, सधैँका लागि पीडा मेटाइ दिन्छ ।’ दिमाग एकोहोरियो । आँखा धमिलो भयो । तरकारीका बिरुवामा छर्नका लागि एक सिसी विषादी राखिएको थियो दलिनमा । बिर्को खोलेर स्वाट्ट पारेँ र रन्थनिँदै गएँ भान्सा पछाडि गोबरग्याँसको फराकिलो ढलानमा घोप्टिएँ । (टुकी, पृ. १९३)

यी माथिका केही महत्त्वपूर्ण घटनाहरु हुन् आमोइ अर्थात् विक्रमिया चौधरीका जीवनमा घटेका । उनले जीवनमा पाएका यावत् दुःखबाट मुक्तिका लागि विष सेवनसम्म गर्न पुगिन् । यिनै घननाको फेहरिस्त बनेको छ ‘टुकी’ उपन्यास ।

‘टुकी’ उपन्यासको पात्रविधानः

उपन्यासकार मनोज अज्ञातको ‘टुकी’ उपन्यास सानो भएर पनि यसमा पात्रको ओइरो छ । यसमा थारु पात्र धेरै छन् भने अन्य जातका व्यक्तिको पनि उपस्थिति छ । यसको मुख्य भूमिकामा आमोइ अर्थात् विक्रमिया चौधरी र हरि रहेका छन् भने प्रहरी, अस्पतालका नर्सहरु, अन्य बिरामीहरु पनि देखिएका छन् । कथामा मुख्य भूमिकामा देखिने आमोइ अर्थात् विक्रमिया चौधरी र हरिको चिनारी यस प्रकार छः

आमोइ अर्थात् विक्रमिया चौधरी

‘टुकी’ उपन्यासको मुख्य पात्र हुन् आमोइ अर्थात् विक्रमिया चौधरी । उनले आफ्नो जीवनकथा हरिलाई सुनाएकी छिन् । यसर्थ यस उपन्यासको कथावाचक पनि उनी स्वयं हुन् । चितवनको गरिब थारु परिवारमा जन्मिएर कहिले आफ्नो झुपडी र कहिले साहुको घरमा कामदारका रुपमा बसी जीवन गुजारेकी उनलाई कामदारका रुपमा बसेकै अवस्थामा सोही घरको कान्छो छोरोले बिहे गर्छ । सुरुमा दुःखबाट सुखतर्फ लागेको उनको जीवनमा सौताको प्रवेशपछि पुनः दुःखले प्रवेश गर्छ । दुःखमै सन्तान जन्माएर हुर्काएकी उनको बुढ्यौली पनि दुःखमै बित्छ । यसर्थ आमोइको जीवनलाई हेर्दा यो उपन्यास दुःखको पुलिन्दा बन्न पुगेको छ ।

हरि

‘टुकी’ उपन्यासको अर्को कथावाचक म पात्र अर्थात् हरि हो । उसले आमोइसँग ठोक्किएर मोटरसाइकल दुर्घटना गराउँछ । यसपछि उसले आफूसँगै आमोइको पनि उपचार गराउँछ । त्यति मात्र नभएर बेवारिसे अवस्थामा रहेकी आमोइलाई आफ्नो घरमा लगेर राख्छ । आमोइबाट उनको कहानी सुनिसकेपछि उनलाई परिवारको जिम्मामा लगाउने निर्णय गरेको छ । ऊ सम्पन्न परिवारको देखिन्छ । ऊ एउटा प्रेसको मालिक हो भन्ने कुरा उसलाई बीच बीचमा आएको फोन कलबाट पुष्टि हुन्छ ।

आमोइ र हरि बाहेक यो उपन्यासमा समयअनुसार विभिन्न पात्र देखा परेका छन् । यसरी देखापर्ने विक्रमियाको बुबा, आमा, जेठो भाइ, कान्छो भाइ, बहिनी, काका, छिमेकीहरु, छविलाल, सासुआमा, जेठाजु, जेठानी, सौता, उसको श्रीमान्, उसका जेठा र कान्छा छोराहरु, बुहारीहरु, नाति–नातिनीहरु, उसका साथीहरु फुलिया, शेनी, कलिया, बमिया, घोडे बुढा, चस्मे बुढा, घडी बुडा, गुरौ, जितिया नाचका साथीहरु, विवाहका जन्तीहरु आदिलाई लिन सकिन्छ । त्यस्तै गरी हरिकी श्रीमती, उसकी सानी छोरी आदिको उपस्थिति पनि उपन्यासमा पाइन्छ ।

‘टुकी’ उपन्यासको परिवेशविधान

‘टुकी’ उपन्यासले आजबाट सुरु गरेर आजभन्दा करिब ४०–४५ वर्ष अघिसम्मको चित्रण गरेको छ । यसमा आमै अर्थात् विक्रमिया चौधरीले आफ्नो जीवनकहानी बताएकी छिन् । उक्त वर्णनमा चितवनको माडी, शुक्रनगर, शोशी बजार, मेघौली बजारदेखि लिएर काठमाडौँको परिवेश पनि चित्रण गरिएको छ । यसमा पञ्चायतकाल र प्रजातन्त्र प्राप्तिको वर्णन पनि छ । हेरौँ प्रजातन्त्रमा भएको चुनावी माहोलको एउटा साक्ष्यः

दशैँ हो भनौँ दशैँ थिएन, तिहारमा घन्कने बाजा भनौँ तिहार थिएन, दशैँ र तिहारभन्दा कम रमाइलो थिएन । बाजागाजाका साथ गाउँगाउँमा मुफ्तभोज चलिरहेको थियो, सामूहिक भोज । उत्सव विनाको भोज, खाए पिए वापत् बस् यति भनिँदै थियो –‘नुन खाएपछि गुन गाउनुपर्छ है, भोट चैँ हाम्रै पाटीलाई हाल्नुपर्छ ।’ (टुकी, पृ. १७१)

त्यसपछिको चुनावको कुरा गरिएको छ । त्यपछिको एकाएक समय फेरिएको छ । यसरी समय फेरिँदा बीचको समय गायब छ । यति लामो समयको बयान गर्दा लेखकले देशमा २०५२ देखि २०६२ सालसम्म चलेको दश वर्षे जनयुद्धका बारेमा भने कतै कुरा उठाएका छैनन् । त्यसपछिको प्रविधियुक्त समाज फेरि देखा परेको छ उपन्यासको अन्त्यमा । यसरी समयलाई फड्को मार्दा उपन्यासलाई अपूरो बनाएको छ । बीचको त्यो समयका बारेमा कहीँ कतै केही सम्झना गरेको भए उपन्यास पूर्ण हुने थियो । जेहोस्, अन्य समय र स्थानको चित्रण भने राम्रो छ ।

‘टुकी’ उपन्यासको भाषाशैलीः

‘टुकी’ उपन्यास एक जना थारु लेखकले लेखेको र थारुका कथामा आधारित उपन्यास भएर पनि यसमा थारु भाषाका शब्दको प्रयोग ज्यादै न्यून मात्रामा गरिएको छ । उपन्यासका पात्रले बोल्ने संवादलाई आधार बनाई निम्न साक्ष्यका आधारमा समीक्षा गरिएको छः

‘टुकी’ उपन्यासमा चितवनको शुक्रनगर आसपासमा बोलिने थारु भाषाको संवादको प्रयोग यसरी गरिएको छः

‘सङ्वा ! सोहराइमा भैलो मांङे जाइके हौ । सोझुवा, ढेमना रोटीसभ खाए पएतऊ ।’ फुलियाले भन्थी ।

मैले मुन्टो हल्लाएर सहमति जनाइदिन्थेँ । ऊ खुसी हुन्थी र भन्थी – ‘घरबामा दिउलीबाती बारके हौँ । साँझा झिलिमिली देखार हखे चहतई । हमार घरबार उपरासे हेर्ले जऊ जम्मे गउँबाक घरबा सभमा दिऊली झिल्मीलाईकी देखार हसई । देखके गहनी माजा लगसई मोर त ! तोई फेनी ऐसी हौ देखे ।’ (टुकी, पृ. ७५)

माथिको संवादमा थारु युवतीले आफ्नो संस्कृति कसरी मनाउने भन्ने बारेमा आफ्नै भाषामा कुराकानी गरेका छन् । यसले त्यतिबेलाको समय र स्थानका बारेमा पनि प्रष्ट पारेको छ ।

यस उपन्यासमा गोठाला गएका थारु युवतीहरुले नेपाली भाषामा गरेको संवादको एउटा नमुना यस्तो छः

‘ए शेनी ले त हेरम् आज के ल्याकी छेस् ?’

‘यल्ले त कोदोको रोटी ल्याछे । तैँले के ल्याकी छेस् त बमिया ?’

‘मैले त भात पोको पारेर ल्याछु ।’

‘तैँले नि कलिया ?’

‘त्यै हो चिउरा ।’

सबैले मलाई सोधे ।

‘मैले चैँ उसिनेको सखरखण्ड ।’ (टुकी, पृ. १०७)

माथिको संवादलाई हेर्दा पात्रको नाम बाहेक अरुमा थारु भाषाको प्रभाव कत्ति पनि छैन । अझ पहाडिया युवतीले बोलेको जस्तो देखिन्छ ।

यस उपन्यासमा दुई जना थारु पुरुषले गर्ने संवादमा थारु लवजको सामान्य प्रयोग भएको कुरालाई संवादमार्फत् यसरी देखाइएको छः

चस्मेबूढा घडीबूढातिर हेर्दै फर्काउँदै बोले– ‘दाजु सुर्ती लेऊ त । मैले आज ल्याउनै भुलेछु ।’
‘हुँ अ..’ भन्दै लङ्गौटीको फेरोबाट झिक्दै– ‘ले रे ।’ भनेर दिए । (टुकी, पृ. ६८)

माथिको संवादमा थारुहरुले गरेको कुराकानी भएर पनि यसमा थारु लवज मात्रै आएको छ । थारु भाषाको प्रयोग पाइन्न । कथावाचिका आमै र उसका छोराहरु थारु जातिका भएर पनि उनीहरुले बोल्ने संवादमा त्यस्तो देखिन्न । हेरौँ एउटा संवादः

‘आमा ?’

‘हई !’

‘दिनभरि एक्लै साह्रै झ्याउ लाग्यो होला है ?’

‘झ्याउ लागेर के गर्नु ? कान्छोको दशैँबिदा हुने बेला भो भन्छ, बिदा भएपछि सँगै घर जाउँला आमा भन्छ । होइन भने आज यति बेलासम्म घरमा हुन्थेँ म ।’ (टुकी, पृ. १६७–१६८)

थारुको कथा लेखेको भए पनि ‘टुकी’ उपन्यासमा थारु भाषाको संवाद निकै कम राखिएको छ । त्यस्तै अपठित थारु महिलाले पनि पहाडियाले जस्तो संवाद बोलेका छन् । गैर थारु अर्थात् पहाडिया मूलका व्यक्तिको संवाद भने उपयुक्त देखिन्छ । यसमा चितवन र काठमाडौँको कथा मिसिएर आएको हुँदा यसको भाषामा चितवन र काठमाडौँको सुवास पाइन्छ ।

‘टुकी’ उपन्यासमा चित्रित थारु संस्कृतिः

‘टुकी’ उपन्यासको उठान काठमाडौँबाट गरिएको भए पनि यसमा उपन्यासको मुख्य पात्र आमै अर्थात् विक्रमिया चौधरीले चितवनका थारुहरुले मनाउने चाडपर्व, नाचगान र संस्कृतिका बारेमा व्याख्या गरेकी छिन् । हेरौँ एउटा नमुनाः

असोज महिना, खेतीपातीको काम सकिएपछि जितियापर्व आयो । नारीहरुको महान् पर्व भएर होला दुई साता अगाडिदेखि नै झम्टा नाच नाच्थे गाउँका महिलाहरु । वरपरका घर–घरमा झम्टा नाच नाच्दै हिँड्ने, पैसा, चामल, जे दिन्छन् लिएर जम्मा गर्ने गर्थे । जितिया पर्वको दिन दर खाइवरी रातभरि झम्टा नाच्दै बदहा गीत गाउने परम्परा छ । नाच्दै, गाउँदै, तालमा ताल मिलाउन मलाई पनि रहर थियो । त्यसैले आमाको पछि लागेर म पनि नाचमा मिसिएँ । (टुकी, पृ. १६–१७)

माथिको साक्ष्यमा जितिया पर्व मनाउन नसक्नेले कसरी मनाउँछन् भन्ने बारेमा बयान गरिएको छ । त्यस्तै थारुको नयाँ वर्ष कस्तो हुन्छ भन्ने बारेमा तलको साक्ष्य हेरौँः

थारु समुदायको नयाँ वर्ष खिचरा माघेसंक्रान्ति चिचर र माछाको परिकारबाट बनाएर स्वागत गरिन्छ । बिहान सबेरै नुहाइधुवाइ गरेर चोखो भई पुसमा पकाएको चिचर र माछा माघमा खाने चलन छ । माछा मात्रै नभई हाँस, कुखुरा, खसी, बोका, भेँडाका मासुबाट बनेका परिकारहरु खाएर मनाउने चलन छ । खिचरा हामी थारुहरुले मान्ने नयाँवर्षको भनेर गुरौले सुनाउने गरेका छन् । (टुकी, पृ. ८८)
माथिको वर्णनमा थारुको नयाँवर्ष माघी अर्थात् माघे संक्रान्ति किन र कसरी मनाइन्छ ? त्यसको सांस्कृतिक महत्त्व के छ ? भन्ने बारेमा चिनाउन खोजिएको छ ।

थारुको मुख्य चाड दशैँ र तिहार हो । तिहार कसरी मनाइन्छ भन्ने बारेमा यस उपन्यासमा यसरी वर्णन गरिएको छः

सोहराइको मछवारी, दीपावलीको अघिल्लो दिन भएर होला चरनमा छुट्टै उमङ्ग थियो । गाउँघरका ढोकाढोका, दैलोदैलोमा विभिन्न खालका चिन्हहरु सजिएका थिए, रङ्गीविरङ्गी रङ्गहरुबाट चौपायाहरु सजिएका थिए । भेँडाहरुका शरीरमा फरकफरक रङ्गका पाँचैवटा आँैलाहरु प्रष्ट हुनेगरी हत्केलाका छापहरु बनाएका थिए । गाईगोरुका शरीरमा पनि त्यस्तैखालका रङ्गहरुबाट टीकाटीकी बनाइएका हुन्थे । दीपावलीको झिलीमिलीझैँ चौपायाहरु पनि झिलीमिली थिए । चौपायालाई पनि तिहार लागेको हो । (टुकी, पृ. ७७)

पहिला पहिला थारुहरुको जीवनशैली कस्तो हुन्थ्यो ? भन्ने बारेमा तलको वर्णनले प्रष्ट पार्न खोजेको छः

जाडो मौसममा भुङ्ग्राहरु थारुका घरआँगनमा हुन्थ्यो । आगोका भुङ्ग्रोमा खानेकुराहरु पोल्न केटाकेटीदेखि बुढाबुढीसम्मका राप लिँदै बिहानभर मस्त हुन्थे । (टुकी, पृ. ११५)

‘टुकी’ उपन्यासका उपन्यासकरले यसमा थारुको कथा लेखेको भएका कारण यसभित्र चितवनको शुक्रनगर आसपासका थारुले मनाउने चाडपर्व, त्यसको शैली, विवाह पद्धति, जीवनशैली आदिका बारेमा सुन्दर चित्रण गरेका छन् । यसमा गैर थारु अर्थात् पहाडिया मूलका व्यक्तिको संस्कृति पनि उपयुक्त तरिकाले चित्रण गरिएको छ । यसमा चितवनका थारु र गैर थारु तथा काठमाडौँको विभिन्न समुदायको कथा मिसिएर आएको हुँदा यसमा चितवन र काठमाडौँको संस्कृतिको मिठास पाइन्छ ।

चितवनको उपन्यासयात्रामा ‘टुकी’ उपन्यासको स्थाननिर्धारणः

‘टुकी’ उपन्यासले हालसम्म नेपाली आख्यानले छायामा पार्दै आएको बिल्कुल नयाँ खालका कथा पस्कने काम गरेका छ । त्यसो त २०६२–६३ सालको आन्दोलनले दिएको मुख्य उपलब्धि भनेको जातिगत पहिचान हो । नेपाली साहित्यमा पनि पाश्चात्य साहित्यमा विकसित भएको उत्तरआधुनिक चेतनाले पनि सबाल्टर्नका कुरालाई अघि सारेको पाइन्छ । यी दुबै राजनीतिक तथा साहित्यिक मान्यतालाई ‘टुकी’ उपन्यासले सहज रुपमा उठाएको छ । थारु भनेका थारु नै हुन् चाहे ती चितवनमा बसून् कि बाँके, बर्दिया, कैलाली वा कञ्चनपुरमा बसून् । त्यसो त थारुहरु पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्म बसोबास गर्दै आएका भूमिपुत्र हुन् । यिनीहरुसँग खेती, किसानीका कुरा मात्र नभएर जीवन सङ्घर्षका अनेकौँ कथाव्यथाहरु छन् । तिनलाई टिप्न मात्र सक्नुपर्छ । त्यस्ता कथालाई केही मात्रामा भए पनि टिपेर प्रस्तुत गरेकाले ‘टुकी’ उपन्यास नेपाली साहित्यका पृथक् खालका प्राप्ति भएका हुन् ।

बैठानः

र अन्त्यमा, आजका मितिमा चार वर्षको बाल्यकालीन उमेर पूरा गरिसकेको ‘टुकी’ उपन्यास थारु संस्कृतिको उपज भएको कुरा पुनः अवगत गराउँदै उपन्यासकारको आगामी कृति पनि यही परिवेश र विषयवस्तुमा आधारित भएर जन्मिायोस् भन्ने शुभेच्छा छ मेरो । अझ तिनमा थारुका मौलिक संवाद यथेष्ट रुपमा आऊन् भन्न चाहन्छु म । त्यसो त लेखक आफू थारु हुनुुले कथामा मौलिक स्वाद आउँछ भन्ने कुरा थारु समुदायका मनोज चौधरी अज्ञातको औपन्यासिक कृतिले प्रमाणित गराइदिएको छ । यो कृतिको युगान्तसम्म सफलताको लागि मुरी मुरी शुभकामना दिन चाहन्छु । यो कृतिले उनलाई धेरै माथिसम्म पु¥याओस् भन्ने शुभेच्छा छ मेरो । धेरै कुरा पछि गर्दै गरौँला, अहिलेलाई यत्ति ।