
विश्व कवि तुलसी दिवसको प्रमुख आतिथ्यता र शिखर कवि शैलेन्द्र साकार, कृष्ण प्रधान, महेशराज खरेल, डा. शेखरकुमार श्रेष्ठको विशेष उपस्थितिमा ज्योति साहित्य प्रतिष्ठानले २०२ औँ कविता यात्रा सम्पन्न गर्यो । कार्यक्रममा सुधा मिश्रलाई प्रा. तुलसी दिवस र शैलेन्द्र साकारले आजीवन सदस्यताद्वारा सम्मानित गरेका थिए ।
ललितपुर जिल्ला महालक्ष्मी नपा इमाडोलको राता मकै चोकस्थित शुवेक्षा डेरी बेकरी एण्ड स्वीट्सको हलमा चियासितै कवि मनहरूको उपस्थितिमा भएको कार्यक्रममा ज्योति साहित्य प्रतिष्ठान काठमाडौंका अध्यक्ष मणिराज सिंहले प्रतिष्ठानले साप्ताहिक रूपमा कार्यक्रम गर्दै आइरहेकोमा भदौ महिनामा २ कार्यक्रम र असोज महिनामा यो १ कार्यक्रम गर्ने बताए । साथै, अब मासिक रूपमा महिनामा १ कार्यक्रम गर्दै जाने जानकारीसमेत गराए ।
२०२ औँ कविता यात्रामा प्रमुख अतिथि तुलसी दिवसले ज्योति साहित्य प्रतिष्ठानले नियमित रूपमा कार्यक्रम गरिरहेको र नयाँ प्रतिभाहरूलाई समेट्दै गएको प्रशंसनीय कार्यरहेको बताए । उनले भने, ‘कविता ताली र गालीका लागि लेखिनु हुन्न । कविले आफ्ना अनुभूति लेख्दै र सुधार गर्दै जानु पर्छ । सफलता अवश्य पाइन्छ ।’
उनले मानवीय अनुभूतिको सबभन्दा कोमल र सुन्दरतम रूप नै कविता भएको बताउँदै एउटा मोहक कविता वाचन गरेर दर्शकहरूलाई मन्त्रमुग्घ पारे ।
शिखर कवि शैलेन्द्र साकारले स्थानीय विद्यालयका छात्रछात्राहरूको कविता वाचनले आफू पनि विद्यार्थी अवस्थामा पुगेको बताउँदै “बकपत्र” कविता सुनाएर स्रोतालाई लठ्याए । त्यस्तै कृष्ण प्रधान, महेशराज खरेल र डा. शेखरकुमार श्रेष्ठले ओजपूर्ण कविता वाचन गरे ।
कार्यक्रममा प्रगतिशील लेखक संघ ललितपुरका अध्यक्ष नानीमैया अधिकारी, विश्व नेपाली साहित्य महासङ्घ ललितपुर जिल्ला अध्यक्ष बुद्धिमान महर्जन, कृष्ण बहादुर विष्ट, रमेश लुइटेल, जनार्दन रिजाल, सुधा मिश्र, राजाराम राउत, हारित रेग्मी, सन्ध्या जोशी, जुमन किरण, रूबिना राना, अनोज महर्जनलगायतले कविता वाचन गरेका थिए ।
उक्त कार्यक्रममा स्थानीय महेन्द्र आदर्श माद्यमिक विद्यालयका छात्रछात्राहरू मनिसा ठाकुर, कृष्पन न्यौपाने, तारा पुन, आयुश तिमिल्सिना , अंकित सुवेदी, बिमला बिक, स्मृति घिमिरेसमेतले कविता वाचनद्वारा सक्रिय सहभागिता जनाएका थिए ।
सुधा मिश्रले प्रभावकारी रूपले कार्यक्रम सञ्चालन गरेको उक्त कार्यक्रममा सुबेक्षा डेरी बेकरी एण्ड स्वीट्सका प्रोप्राइटर नवीन भण्डारीले कवि साहित्यकारहरूको सहभागीतामा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

