यही चैत्र ३, ४ र ५ गते विराटनगरमा नेपाल-भारत साहित्य सम्मेलन हुँदैछ। उक्त सम्मेलनमा भाग लिन काठमाडौंबाट साहित्यकारहरू त्यसतर्फ जाँदै छन् ।
यसअघि बीरगंज र काठमाडौंमा सम्पन्न भएको महोत्सवको यो तेस्रो शृङ्खला हुने मेरठ भारतका डा. विजय पंडितले जनाएका छन् ।
नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र भारतका विभिन्न भूभागबाट ५० गरी जम्मा ३०० जना साहित्यकारहरूको सहभागिता रहने उक्त महोत्सवमा काठमाडौंबाट भीष्म उप्रेती, अभय श्रेष्ठ, जनार्दन अधिकारी धड्कन, राजबाबु श्रेष्ठ सागर, सुशीला ढकाल अधिकारी, पौडेल बिमुन्स, राजेन्द्र घिमिरे सागर, सुचिता काफ्ले , दुर्गाकिरण तिवारीको सहभागिता रहने छ।
तीन दिनसम्म आयोजना हुने उक्त सम्मेलन विराटनगरको राम मन्दिर परिसरमा हुनेछ । सो कार्यक्रमको शुक्रबार चैत्र ३ गते अर्थात् मार्च १७ तारिख १० बजे बिहान समुद्घाटन हुने र ५ गते अर्थात् १९ मार्च आइतबार २ बजे अपरान्ह समापन तथा बिदाइ कार्यक्रम हुने तय गरिएको छ ।
नेपाल भारतका श्रष्टाहरूबीच भाइचाराको सम्बन्ध कायम गर्दै जनस्तरबाटै सौहार्द्धताको सेतु निर्माण गर्ने मनसायले हरेक वर्ष नेपालका विभिन्न सहरमा कार्यक्रम गर्दै जाने आयोजक डा. पंडितले जानकारी दिनुभएको छ।
काठमाडौँबाट ज्योति साहित्य प्रतिष्ठान र चन्द्रागिरी साहित्य प्रतिष्ठानले श्रष्टाहरूबीच संयोजनको कार्य गरेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










