भारत आसामका नेपालीभाषी साहित्यकार रण काफ्लेको नवीनतम कृति ‘मस्यकन्याको मुलुकमा’ नियात्रासङ्ग्रहमाथि काठमाडौंमा एक परिचर्चा कार्यक्रम सम्पन्न भएकाे छ ।
ज्योति साहित्य प्रतिष्ठानको ब्यानरमा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवस हुनुहुन्थ्यो । नेपाली जनजाति क्षेत्रकी पौरखी अगुवा चिनीमाया माझीको जीवनमा आधारित भएर आख्यानात्मक शैलीमा लेखिएको ‘मस्यकन्याको मुलुकमा’ नियात्रासङ्ग्रहमाथि प्राडा. भरतराज भट्टराई र प्राज्ञ नन्दु उप्रेतीले परिचर्चा गर्नुभएको थियो।
परिचर्चाकार प्राडा. भरतराज भट्टराईले भारतको आसाममा बसेर नेपाली साहित्यको सेवा गर्ने रण काफ्लेद्वारा लिखित यो ‘मत्स्यकन्याको मुलुकमा’ नियात्रासंग्रह नेपाली साहित्यको लागि एउटा ठूलो उपलब्धि भएको बताउनुभयो । भट्टराईले निम्नवर्गीय परिवारमा जन्मिएर बाख्रापाठा चराउँदै हुर्किएकी चिनीमाया माझीले जीवनमा गरेका संघर्ष र गौरवशाली कामहरूलाई उजागर गरेर साहित्यकार रण काफ्लेले सिङ्गै नेपाली समाज र नेपाली साहित्यमाथि ठूलो गुन लगाएको बताउनुभयो ।
त्यस्तै, अर्का परिचर्चाकार प्राज्ञ नन्दु उप्रेतीले बर्मा एवं भारतको मणिपुर, आसामजस्ता ठाउँहरूमा बसेर नेपालीभाषी साहित्यकारहरूले नेपाली भाषा र साहित्यका लागि गरेको योगदानको उच्च कदर गर्दै रण काफ्लेप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपाली छोरी चिनीमाया माझीको जीवनीलाई विषयवस्तु बनाएर रण काफ्लेले नेपाली साहित्यलाई एउटा सुन्दर साहित्यिक कृति उपहार दिएको बताउनुभयो ।
“मत्स्यकन्याको मुलुकमा कृतिले नेपाली भूगोलको परिचय दिएको छ, माझी जातीको सिङ्गो संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज, जीवनशैली सम्पूर्ण कुराको उत्खनन गरेको छ, यसले संघर्षशील एवं गौरवशाली इतिहास बनाइसकेका अरू नेपाली जीवनलाई कृतिमा रूपान्तरण गर्ने प्रेरणा प्रदान गर्छ ।” उप्रेतीले भन्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसले रण काफ्लेले नेपाली गौरवशाली महिलालाई चिनेको कुरा उल्लेख गर्दै अरू पनि थुप्रै नेपाली त्यस्ता व्यक्तिहरू छन् जसलाई हामीहरूले चिन्नुपर्ने कुरा बताउनुभयो र उहाँले आगामी दिनमा यो काम हुने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो ।
आफू स्वयं पनि ‘मत्यकन्याको मुलुकमा’की नायिकाको सामजिक क्रियाशीलता थाहा पाएर अत्यन्तै प्रभावित भएको सुनाउनुभयो ।
कृतिकी नायिका चिनीमाया माझीले आफूलाई साहित्यिक कृतिमा समेटिदिनुभएकोमा साहित्यकार रण काफ्लेप्रति आभारी हुँदै उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
साहित्यकार ममता मृदुलद्वारा सञ्चालित उक्त कार्यक्रममा कृतिका लेखक रण काफ्लेले भारत, आसामबाट पठाउनुभएको आभारपत्र वाचन गरिएको थियो । वरिष्ठ कवि शैलेन्द्र साकार, डा. लेखनाथ काफ्ले, नित्यनूरले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा साहित्यकारहरू प्रमोद सारङ, प्रधुम्न जोशी, गोकुल अधिकारी, चन्द्रमणि प्रसाईं, सृजना सरोवर, विक्रमभक्त जोशी, डा. शेखरकुमार श्रेष्ठ, अम्बिका खड्का, ईश्वर पोखरेल, बर्माकी कवि वन्दना गौतम, पूर्वराजदुत डा. विष्णुहरि नेपाल, राधिका गुरागाई, निर्मलराज पराजुली, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, बिमल भौकाजी, निरुपा प्रसुन महाकाव्यकार रामनाथ अधिकारी, रोमा लम्सल, रमा वली, त्रिपुरा पौडेल, सुनिता अधिकारी, जुनु घिमिरे नानीबाबु अधिकारी, राजन प्रसाद न्यौपाने लगायतको बाक्लो उपस्थिति रहेको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।