ज्योति साहित्य प्रतिष्ठानको १७ औँ वार्षिकोत्सवको काठमाडौँमा मनाएकाे छ । विशिष्ट साहित्यकारहरूलाई सम्मान अर्पण तथा विशेष कविता वाचनको कार्यक्रम गर्दै प्रतिष्ठानले १७ औँ वार्षिकोत्सव मनाएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. तुलसी दिवस, विशिष्ट अतिथि कवि शैलेन्द्र साकार, प्राडा. गोविन्दमान सिंह कार्की र ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको उपस्थितिमा खादा र रुद्राक्षको माला लगाई घनश्याम राजकर्णिकार, डा. भरतकुमार भट्टराई र श्रीओम् श्रेष्ठ रोदनलाई ज्योति साहित्य सम्मान अर्पण गरिएकाे थियो ।

त्यस्तै, खादा र रुद्राक्षको माला लगाई जलेश्वरी श्रेष्ठ र सन्ध्या पहाडीलाई ज्योति स्रष्टा सम्मान अर्पण गरी सम्मानित गरिएकाे थियो ।

प्रमुख अतिथि तुलसी दिवसले कार्यक्रमका सभापति मणिराज सिंह आफू हिँडे पनि साहित्यिक कार्यक्रमलाई दौडाइरहेको देखेर आफू जति पनि व्यस्त हुँदा पनि आउने गरेको बताए । विशिष्ट अतिथि कवि शैलेन्द्र साकारले विशिष्ट हस्तीहरुलाई सम्मानित गर्न पाउँदा आफू नै सम्मानित भएको अनुभव गरेका बताए ।

कार्यक्रममा कविहरु शैलेन्द्र साकार, बुद्धिमान महर्जन, नीरा श्रेष्ठ, कुमार नेपाल, रुबिना राना मगर र जुमन किरणले रचना वाचन गरेका थिए ।  कार्यक्रमकाे सञ्ञालन सुधा मिश्रले प्रभावकारी रुपमा गरेकी थिइन् । उनले मैथिली भाषामा कविता वाचनसमेत गरेकी थिइन् ।