कवि तुलसी दिवसको उपस्थितिमा ज्योति साहित्य प्रतिष्ठानको २०१ औँ शृङ्खला सम्पन्न भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि कवि शैलेन्द्र साकार, गजल माली ज्ञानुवाकर पौडेल, कृष्ण प्रधानका साथै दिव्य गिरी, त्रिपूरा पौडेल, महेशराज खरेल, डा. शेखरकुमार श्रेष्ठ, , नीता श्रेष्ठ, राकेश कुमार झा (जनकपुर) ले ज्योति साहित्य प्रतिष्ठानको साहित्यिक सक्रियता लोभलाग्दो रहेको बताए । साथै, कविता, मुक्तक, गजल, गीत, हायकू वाचनसमेत गरे ।

कविहरू जुमन किरण, बुद्धिमान महर्जन, कृष्ण बहादुर विष्ट, रुबिना राना, सुधा मिश्र, सुनिता अधिकारी, यमुना प्रधानाङ्ग र सन्ध्या जोशीले समेत आफ्ना सिर्जनाहरू वाचन गरेका थिए ।

उक्त अवसरमा प्रमुख अतिथि प्रा. तुलसी दिवसले महेशराज खरेल, राकेश कुमार झा, नीता श्रेष्ठ र कृष्ण बहादुर विष्टलाई आजीवन सदस्यता सम्मान पत्र अर्पण र संस्थाको लोगो अङ्कित पिन लगाइदिएका थिए ।

ललितपुरको इमाडोल राता मकै चोकस्थित नेवा: भोये रेष्टुरेन्टको नेवारी शैलीको आकर्षक हलमा भएको कार्यक्रममा प्रा. दिवसले ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सक्रियता लोभलाग्दो भएको, कार्यक्रममा नयाँ र पुराना पुस्ताका कविहरूको लोभलाग्दो उपस्थिति रहने गरेको बताए । उनले भने, ‘प्रत्येक कविले अरुको नक्कल नगरी आफ्नै बेग्लै शैलीमा कविता लेखेर प्रतिभाको प्रष्फुटन गर्नुपर्दछ ।’

सभापति मणिराज सिंहले कार्यक्रममा उपस्थित सबै साहित्यकारहरूलाई आभार ज्ञापन गर्दै नेवा: भोये रेष्टुरेन्टका सञ्चालक अजय अमात्यमा कार्यक्रमको सौजन्यताप्रति धन्यवाद व्यक्त गर्दै आगामी कार्यक्रम दसैँअघि गर्ने जानकारी दिए ।