चिया कविताको नयाँ कार्यक्रम ललितपुरको जावलाखेलस्थित बगैँचा ग्रील एण्ड बारमा सम्पन्न भयो।

प्रमुख अतिथि विश्व कवि तुलसी दिवसले ज्योति साहित्य प्रतिष्ठानले चिया कविताको नाममा छिटोछिटो कविताको कार्यक्रम गरिरहेको कुरा सम्झाउनु हुँदै आफूले २० वर्षअघि नै रूख शीर्षकमा ७/८ वटा कविता लेखेर प्रकाशित गरिसकेकाले नेपाली साहित्यमा अहिले आएर मात्र पर्यावरण विषयमा कविता लेख्न सुरु भएको होइन भन्दै ‘रूख’ शीर्षकको एउटा र ‘बाघचाल’ शीर्षकको अर्को कविता वाचन गरेर पर्यावरणसम्बन्धी कविताको महत्त्वमा प्रकाश पार्नु भयो।

विशिष्ट अतिथि शैलेन्द्र साकारले पाटनका लोकप्रिय कवि ध्रुवकृष्ण दीपको सम्झना गर्नु हुँदै ‘दीप’ कविता वाचन गर्नुभयो।

उक्त कार्यक्रममा सर्वप्रथम गोरखापत्रका पूर्व प्रधान सम्पादक तथा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कविता वाचन गरी कार्यक्रम सुरु गर्नु भयो।

त्यसपछि साहित्यकार किशोर पहाडीले कविता वाचन गर्नु भयो। पूर्व प्राज्ञ तथा आख्यानकार माया ठकुरीले पनि आफूले साहित्यको सुरुवात कविताबाटै गरेको जानकारी दिनु हुँदै कविता वाचन गर्नुभयो ।

विशिष्ट अतिथिहरूको कविता, मुक्तक र गजल वाचन सकिएपछि अन्य अतिथि कविहरू त्रिपूरा पौडेल, गायिका तथा कवि भारती वस्याल, अम्बिका खड्का , कृष्ण बहादुर विष्ट, वुद्धिमान महर्जन, नम्रता श्रेष्ठ , राज रजक, राज बाबु श्रेष्ठ सागर, अम्बिका खड्का, रूपसिंह भण्डारी, सबिता श्रेष्ठ बेहोसी, जीतेन्द्र मल्ल, कपिल अन्जान, लोचन रिजालले कविता, गीत, गजलद्वारा कार्यक्रममा आकर्षण थप्नु भयो।

युवा कवि समृद्धि बस्यालले अंग्रेजीमा कविता वाचन गरी फरक स्वाद पस्कदै कार्यक्रममा रोचकता थप्नु भयो।

कार्यक्रममा गजल माली ज्ञानुवाकर पौडेल, प्रा डा भरतप्रसाद भट्टराई, नारायण तिवारी, किशोर पहाडी, विजय हितान लगायत अन्य धेरैको उपस्थिति रहेको थियो ।

ज्योति साहित्य प्रतिष्ठानको १९७औँ शृङ्खलामा सभापति मणिराज सिंहले आफ्नो ‘लोकतन्त्रको अस्मिता’ कविता वाचन गर्दै चिया कविताको अर्को शृङ्खला छिटै हुने जानकारी दिनु भयो। कार्यक्रमको संचालन साहित्यकार राज बाबु श्रेष्ठ ‘सागर’ले रोचक शैलीमा गर्नु भयो।