ज्योति साहित्य प्रतिष्ठानले “चिया कविता” कार्यक्रमको नयाँ संस्करण सम्पन्न गरेको छ । ललितपुरको झम्सिखेलमा OHH! MY CHICKEN PIZZA HUB मा चिया कविता कार्यक्रममा पिज्जाको स्वाद समेत थपिन पुग्यो । सो हबका प्रोप्राइटरहरू रवि प्रधान र रोशन श्रेष्ठले कविहरूलाई स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि तुलसी दिवसले कविता लेखेर मात्र नभई प्रकाशित पनि गर्नुपर्ने र वाचन पनि उत्तिकै असरदार रूपमा गर्नुपर्ने बताउनुभयो । दिवसले कविता वाचनको शृङ्खला छिटोछिटो भएकोमा १५/१५ दिनमा गर्ने हो कि भन्ने सल्लाह पनि दिनुभयो।

गजल माली ज्ञानुवाकर पौडेलले प्रतिष्ठानले नियमित रुपमा कार्यक्रम गर्न सकेकोमा खुसी व्यक्त गर्नुहुँदै गजल गायन गर्नुभयो ।

कार्यक्रममा प्रा.डा. भरतकुमार भट्टराई, पूर्व प्राज्ञ लक्ष्मी माली, स्नेह सायमी, नारायण तिवारी, पूर्व प्राज्ञ नन्दु उप्रेती, डा शेखरकुमार श्रेष्ठ, त्रिपूरा पौडेल, लोचन रिजाल, रवीन्द्र आशीष् शैली, सन्ध्या जोशी, गीता पन्थ (न्युयोर्क)को विशिष्ट वाचन रह्यो।

कार्यक्रममा बुद्धिमान महर्जन, राज रजक, सनोज श्रेष्ठ, सुनिता अधिकारी, सुष्मिता श्रेष्ठ, प्रशान्त चौधरी, प्रिन्स लिम्बुले पनि आआफ्ना कविता वाचन गरि कार्यक्रममा उपस्थिति जनाउनुभएको थियो ।

कलाकार माया प्रधानले तुलसी दिवसजस्ता विद्वान व्यक्तित्वसँग प्रत्यक्ष भेट्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रम ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले १९८औँ शृङ्खलामा उपस्थित सबैमा आभार व्यक्त गर्दै कविता वाचनका साथ चिया कविताको यो कार्यक्रममा रेष्टुरेण्ट संचालकका तर्फबाट चियाका साथै पिज्जा र चिसो पेयको समेत व्यवस्थाले कविमनहरू आनन्दित अनुभव भएको अनुभूति सुनाउनु हुँदै एउटा कविता वाचन गरी कार्यक्रम समापन गर्नु भयो।