ललितपुर, जेठ १३ / ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा “१९४औं कविता यात्रा कार्यक्रममा “चिया कविता” को ( श्रृङ्खला–२)ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं.३ इमाडोलस्थित बोझेपोखरीमा शिखर कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा गजल माली ज्ञानुवाकर पौडेलका साथै कवि, उपन्यासकार, निवन्धकार निर्मोही व्यास विशिष्ट अतिथिका रुपमा उपस्थित हुनु भयो। वरिष्ठ कविहरू कृष्ण प्रधान, दिव्य गिरी, महेश प्रसाइँ, नारायण तिवारी, श्रीराम पौडेलको पनि गरिमामय उपस्थिति थियो।
चियाको चुस्कीसँगै सुधा मिश्रले सञ्चालन गर्नुभएको कार्यक्रममा भवानी खतिवडा, यमुना प्रधानाङ्ग, पवित्रा अधिकारी, रञ्जु दाहाल, श्रीराम पाण्डे, नानीमैयाँ अधिकारी, लक्ष्मीदास मुस्कान, कृष्णबहादुर बिष्ट, सनोज श्रेष्ठ, राजेश्वरी काफ्ले, सुधा शर्मा, बुद्धिमान महर्जन, विमुन्स पौडेल र सुधा मिश्रसहित दुई दर्जन कविहरूले कविता वाचन गर्नुभयो ।
ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न उक्त चिया गोष्ठीमा प्रमुख शिखर कवि शैलेन्द्र साकारले कविता उपदेशात्मक भन्दा पनि सन्देशमूलक र प्रभावकारी हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।
यसै क्रममा साकारले “सडक कविता क्रान्ति”, “बूट पालिस आन्दोलन”, गन्तान्त्रिक आन्दोलनको सम्झना गर्दै कविता वाचन गर्नु भयो। विशिष्ट अतिथि गजल माली ज्ञानुवाकर पौडेलले आजको कार्यक्रम उपस्थिति र कविता वाचन दुवै दृष्टिले उत्कृष्ट रहेको र अग्रज शैलेन्द्र साकारको उपस्थितिले ३०/४०को दशकको साहित्यिक वातावरणको सम्झना ताजा गराएको सुनाउँदै गजल वाचन गरी मुग्घ पार्नु भयो।
सभापति मणिराज सिंहले यस प्रकारको “चिया कविता” सिक्किमतिर सञ्चालन हुने गरेको र ज्योति प्रतिष्ठानले पनि साहित्यलाई गाउँस्तरसम्म लैजानको निम्ति सिक्किमका चिया कविता आयोजकहरूको सहमतिमा नेपालमा “चिया कविता” श्रृङ्खलाको आयोजना गरिएको जानकारी गराउनु भयो ।
कार्यक्रमलाई सुधा मिश्रले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमको प्रायोजन स्थानीय कवि द्वय बुद्धिमान महर्जन र कृष्णबहादुर विष्टले गर्नु भयो।कार्यक्रम सकिएपछि स्थानीय कविद्वय बुद्धिमान महर्जन र कृष्णबहादुर विष्टले चियापान गराउँदै बोजेपोखरीमा रहेको महादेव मन्दिर परिसरमा श्रष्टाहरूको सामुहिक फोटो खिच्ने कार्यक्रम सम्पन्न भएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।