प्रणय दिवसको अवसर पारी शनिबार काठमाडौंको कोटेश्वर महादेवस्थानमा रहेको सरस्वती माध्यमिक विद्यालयमा ज्योति साहित्य प्रतिष्ठानले आफ्नो १९२औँ कविता वाचन शृङ्खला सम्पन्न गरेको छ ।

वरिष्ठ कवि तुलसी दिवसको प्रमुख अतिथ्यता र शैलेन्द्र साकार, नरेन्द्रराज पौडेल, महेशराज खरेल तथा अभय श्रेष्ठको
विशिष्ट काव्यिक उपस्थितिमा प्रणयसम्बन्धी रचना वाचन सम्पन्न गरियो ।

उपस्थित सबै कवि साहित्यकारहरूबाट प्रेमसम्बन्धी नै रचनाहरू वाचन भएको उक्त कार्यक्रममा प्रणय कविताद्वारा कवि राजबाबु श्रेष्ठले स्वागत गर्नुभएको थियो भने १५ जना कवि तथा साहित्यकारका चोटिला, हार्दिक र चेतनामूलक कविताहरूले काव्यिक माहोलमा रौनकता थपेको थियो।

कवि तुलसी दिवसले मैले बिहे गरेको छैन तर सबैभन्दा बढी प्रेम मैले बाँडेको छु भन्दै प्रेम स्वाभाविक, वास्तविक, हार्दिक आस्था हो भन्नुभयो ।

ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले कार्यक्रम निकै आकर्षक र ओजपूर्ण भएकोमा प्रमुख अतिथि , विशिष्ट अतिथि र सम्पूर्ण कवि मनहरूप्रति ज्योति साहित्य प्रतिष्ठानको तर्फबाट आभार व्यक्त गर्नुभयो ।

कार्यक्रम कवि विमुन्स पौडेलले सञ्चालन गर्नुभएको थियो ।