साहित्यपोस्ट

सांग्रिला बुक्सले बन्दाबन्दीअगाडि नै मुद्रण भएका पुस्तक क्रमश: बजारमा ल्याउने भएको छ ।

सांग्रिला बुक्सका संचालक मणि शर्माका अनुसार बन्दाबन्दीअघि १० बालबालिका सम्बन्धि पुस्तकसहित १३ ओटा पुस्तक मुद्रण भएर तयार भएका थिए, तर बजारमा पठाउनुअघि ‘लकडाउन’ शुरु भएकाले बजार पठाइएको थिएन ।

“अब क्रमैसँग अड्किएका पुस्तक र अन्य नयाँ पुस्तक पनि बजारमा उपलब्ध हुनेछन् ।” मणि शर्माले साहित्यपोस्टसँग भने, “बन्दाबन्दीअघि दश विभिन्न शीर्षकका बालबालिकाका पुस्तक र खगराज बरालद्वारा लिखित ‘सिकाइ र सहयोग’ शिक्षा सम्बन्धि पुस्तक, जीवनप्रसाद राईद्वारा लिखित ‘समृद्दिका आधार’ र यात्रीप्रकाश पाण्डेको उपन्यास ‘सइन’ प्रेसबाट आइसके पनि बजारमा पठाउन सकिएको थिएन, अब आइतबारबाट क्रमैसँग यी पुस्तक बजारमा पठाइने छ ।”

आइतबारबाट सांग्रिला बुक्सले खगराज बरालद्वारा लिखित पुस्तक ‘सिकाइ र सहयोग’ बजारमा उपलब्ध गराउने छ । शर्माका अनुसार यो पुस्तकलाई थुप्रै अनलाइनसँगको सहकार्यमा सांग्रीला बुक्सले इ-बुक फर्म्याटमा समेत उपलब्ध गराएको छ ।  साथै,  अमेजन, बार्न्स एन्ड नोबल जस्ता साइटमार्फत संसारका जुनसुकै ठाँउमा रहनुभएका पाठकले समेत पेपरब्याक संकरण पुस्तक प्राप्त गर्न सक्ने छन् ।

‘सिकाइ र सहयोग’ पुस्तक सिकाइका प्रारूप– सुनाइ, बोलाइ, पढाइ र लेखाइका बारेमा बृहत जानकारी दिने पुस्तक हो । लेखकले शिक्षा मन्त्रालय अन्तर्गत विभिन्न विभाग र मन्त्रालयमा रहेर काम गर्दा शिक्षासम्बन्धि सैद्धान्तिक र व्यवहारिक समस्या र चुनौतीसँग आफूले सामना गर्नुपरेका अफ्ठ्यारा र तिनका सम्भावित निराकरणका बारेमा पुस्तकमा सरल तरिकामा वर्णन गरेका छन् ।

पुस्तकका सन्दर्भमा लेखक भन्छन् – “सिकाउने शैलीमा शिक्षण सिकाइका विषयहरू कमै समेटिए, शिक्षा सेवामा लामो समय काम गर्दा कार्यक्षेत्रमा देखिएका, भोगिएका कुराहरू समेटिएको अघिल्लो पुस्तकमा नअटाएका र शैक्षिक प्रक्रियासम्बद्ध विषय ‘सिकाइ र सहयोग’ पुस्तकमा उल्लेख गरेको छु । अघिल्लो पुस्तकले झैँ यो पुस्तकले पनि पाठकहरूलाई फरक स्वाद दिने मात्र होइन ज्ञानको सीमासमेत फराकिलो पार्ने समेत विश्वास लिएको छु ।”

लेखक बराल हाल नेपाल सरकारका सचिवका रूपमा कार्यरत छन् । उनका यस अघि करिब एक दर्जन विभिन्न विषयका पुस्तक प्रकाशित छन् ।

लेखकको यसअघि ‘सिकाउने शैली’ पुस्तक सांग्रिला बुक्सद्वारा नै प्रकाशित छ । ‘सिकाइ र सहयोग ‘ पुस्तकको मूल्य नेपाली रुपियाँ तीन सय पन्चानब्बे रहेको छ  ।