नेपाल सरकारको उच्च प्रशासनिक क्षेत्रमा लामो समय सेवा दिएर अवकाश लिँदै हाल पूर्णकालीन साहित्यिक बगैँचामा मनमोहक फूलहरू फुलाउने एक मालीको नाम हो— डा.खगराज बराल । उनले यसअघि शैक्षिक क्षेत्रसँग सम्बन्धित थुप्रै पुस्तकहरू प्रकाशन गरिसकेका छन् । आख्यान र गैह्रआख्यान दुवै क्षेत्रमा उत्तिकै कलम चलाउने बरालले श्रमिक बराल र खगराज बराल दुवै नाम सँगसँगै चम्काइरहेको प्रतीत हुन्छ । नामजस्तै उनका पुस्तकहरूले पनि चर्चा र प्रसिद्धि कमाइरहेका छन् । यसक्रममा आएको उनको पछिल्लो पुस्तकको नाम हो— प्रतिरूप । यो उनको दोस्रो उपन्यास हो, यो अघि ‘स्यानी’ नामक प्रथम उपन्यास प्रकाशन भइसकेको छ ।
भर्खरै विवाह गरेर नयाँ दुलहीलाई माइतीमै छाडेर रोजगारीको खोजीमा कोइलाखात पुगेको प्रवीनले अन्ततः मेघालयमा खासी जातिकी महिलासँग दोस्रो विवाह गर्न पुग्छ । यता पहिलो पत्नी आफ्नो श्रीमान्को आगमनमा बाटो कुरेर बसिरहेको अवस्थामा साथीमार्फत् निधनको आकस्मिक खबर सुनेर स्तब्ध बन्छिन् । प्रवीनका दुईवटी श्रीमतीहरू छुट्टा छुट्टै बसेर यिनीहरूका सन्तानले जीवन जिउने क्रममा भोगेका यावत् घटनाक्रमहरूमा उपन्यास घुमेको छ । प्रवीनको छोरा नवीनलाई उपन्यासको नायक बनाइएको छ । उसले यी दुवै परिवारलाई भेटघाट र सम्पर्क स्थापित गराएर अन्त्यमा उपन्यास संयोगान्तमा टुङ्ग्याइएको छ । मूल कथावस्तु यही हो प्रतिरूपको ।
उपन्यासका नायक नवीनको घर उदयपुरको लेखानी भन्ने ठाउँमा भएको कुरा उल्लेख भए पछि म अझ उत्सुक बन्न थालेँ यो उपन्यास पढ्न । किनकि मलाई मेरी आमाले बखान गर्ने गरेको उहाँको माइती उदयपुरको लेखनी गाउँको यादले सताउँछ । आमाको प्यारो जन्मभूमि अनि मेरो मावलीघर । उहाँले त्यहाँ बिताएका बाल्यस्मृतिहरू हामीलाई सुनाउँदा रमाइलो कथा लाग्ने गर्दथ्यो । यसरी मैले सानैमा लेखानीको कल्पना गरेको स्थान र त्यहीँका दाहाललाई नायक बनाएर आएको यो उपन्यासमा अवश्य पनि केटाकेटी अवस्थामा आमाले सुनाएका ती दृश्य र स्थानहरू कहीँ न कहीँ आउलान् कि भन्ने कारणले यो कृति पढ्न उत्सुक बनेँ, र एकै दिनमा पढिसकेँ पनि ।
खगराज बरालको कृतिगत विशेषता भनेकै अनुसन्धान, विश्लेषण र सूक्ष्म समालोचकीय दृष्टिकोण हो । उनले कथा लेखुन् या उपन्यास, निबन्ध या नाटक जहाँ तहाँ अनुसन्धान नै आउँछ । अनुसन्धान आफैँमा नराम्रो कुरा किमार्थ होइन । आख्यानमा अनुसन्धान आउनु त झन् दुर्लभ कुरा नै मान्नु पर्छ । यो एउटा उत्कृष्ट प्राज्ञिक कर्म पनि हो । जो कोहीले यस्तो गहन कार्य मिहीन पाराले सितिमिति लेख्न सक्दैन भन्ने मेरो ठम्याई छ ।
उनी कुनै पनि घटना वा विषयवस्तुलाई किन भयो ? कसरी भयो, कहाँ भयो, कहिलेदेखि भयो ? त्यसको फेहरिस्त विवरण केलाउँछन् । पृष्ठभूमि नियाल्न पुग्छन् र इतिहास नै देखाउँछन् । पादटिप्पणी र सन्दर्भग्रन्थ सूची दिने हो भने त्यो विल्कुलै नयाँ अनुसन्धानमूलक कृति बन्न सक्छ । यस उपन्यासमा पनि उनले यसको प्रयोग राम्ररी नै गरेको अनुभूत हुन्छ ।
रोजगारको खोजीमा नेपालीहरू कोइलाखात जान्थे । कोइलाखातमा के गरिन्छ ? कसरी कोइला काटिन्छ ? त्यो कार्य कति कठीन र जोखिमपूर्ण छ उनले त्यसको इतिवृत्त वर्णन गरेका छन् यस उपन्यासमा । त्यसैगरी, खसिया जातिका बारेमा पनि मिहीन पाराले व्याख्या विश्लेषण गरेर त्यसको समाजशास्त्रीय अध्ययन समेत गर्न भ्याएका छन् । नेपालीहरू यता विवाह गरेर उता कामको खोजीमा गएपछि फेरि खसियाको प्रेम चक्करमा फसेर घरजम गरेर बसेका परिवारको जीवन्त कथा छ । खसिया महिलाहरू विवाह गरेर श्रीमान्को घरमा जाँदैनन्, बरु श्रीमान्लाई आफ्नो घरमा ल्याउँछन् । हाम्रा लागि यो नितान्त नौलो र अनौठो प्रचलन पनि हो । हाम्रातिर यस्ता एकाध घटनाहरूलाई घरज्वाइँ बस्ने भनिन्छ ।
उपन्यासमा एउटी एकल महिलाले आफ्नो जीवन जिउन कति सङ्घर्ष गर्नु पर्छ भन्ने कुरा पनि उठाइएको छ । तराई मूलको जनजीवन र शैक्षिक स्थितिका बारेमा परमानन्दका मुखबाट धेरै कुराहरू खगराज बरालले पाठकलाई जानकारी र सूचना विवरणहरू पस्किदिएका छन् । तर यति हुँदा हुँदै पनि उपन्यास शुरु हुँदै जाँदा जति उत्सुकता पैदा गराउँछ, अलि पछि जाँदा त्यहाँका पात्र र घटना परिस्थितिहरू त्यति गतिमान भएर अगाडि बढ्न सकेको देखिदैँन । कतै त्यो उपन्यास नभएर यात्रा संस्मरण पो हो कि भन्ने कता कति छनक पनि पलाउने गर्दछ । लाग्यो महत्त्वपूर्ण कृतिहरू लेखिसकेका लेखकले (उपन्यासकारले) किन आख्यान लेख्ने लोभ संवरण गरे होला भन्ने भाव पुस्तक पढ्दै गर्दा बीचमा नआएको पनि होइन । तर जब म पुस्तकको अन्ततिर आइपुग्छु घटनाले एकाएक नाटकीय मोड लिन पुग्छ ।
नवीन जागीर खान गएपछि कालीलाई भेट्छ । अन्ततः ऊ बिई पढ्न जाने भएकाले आफ्नो जागिर राजीनामा दिएर हिँड्ने अन्तिम दिन कालीले नवीनलाई आफ्नो जीवन कहानी सुनाएपछि उपन्यास उत्कर्षमा पुग्छ । त्यसले पाठकलाई रोमाञ्च र उत्सुकता पैदा गराउँछ । अब पाठकलाई त्यहाँ उपन्यास मात्र पनि होइन सिनेमा हेरेको अनुभूति मिल्न पुग्छ । कुनै सिनेमा हेर्दा शुरुमै दर्शकले यसको अन्त्य अब यसरी हुन्छ भनेर अनुमान गर्छ र अन्तमा मिल्न पुग्छ, यसमा त्यसरी आँकलन गर्न नसकिएका घटना र परिवेश दिन्छन् उपन्यासकार । अन्त्यमा नाटकीय रूपमा उक्त एकल महिला कालीका श्रीमान् प्रवीन हुन्छन् र तिनै प्रवीनका छोरा नवीन नै कालीका सौतेने छोरा हुन्छन् भन्ने कुरा पाठकलाई जानकारी गराइदिन्छन् । उपन्यासमा आफ्नी आमा र सौतेनी आमा बीच भेट गराउने अठोट गर्छन् उपन्यासका नायक अर्थात् नवीन । अतः यो उपन्यासको कथावस्तु रोमाञ्चक त छँदैछ, कसिलो धागोले पनि बाँधिएको छ ।
उपन्यासमा भित्ताकोरेका कुरा छन् । अहिलेका नयाँ पिढीलाई भित्ताकोरे भनेको के हो र को हो भन्ने जिज्ञासा पलाउनु स्वाभाविक हो । बाबुले नागरिकता नबनाइदिए अनागरिक हुने पीडाका बारेमा सूक्ष्म मनोविज्ञान छ । जन्म दिने बाबुभन्दा कर्म दिने बाबु महत्त्वपूर्ण हुन्छन् भन्ने कुरा पनि यसमा उठाइएको छ । पुरुषहरू जता जान्छन् अनुकूल मिल्नासाथ दोस्रो विवाह गर्न पछि पर्दैनन् भन्ने कुरा पनि यसमा देखाइएको छ । मेघालयको तीर हान्ने खेलले धेरैलाई उठिबास लगाएका वर्णनहरू छन् । खासीहरूमा घरको मूली मान्छे महिला हुन्छन् भन्ने कुराको चेत र चेतावनी पनि उनले दिन भ्याएका छन् (पृ.२३०÷२३१) । यात्राका क्रममा विभिन्न डिपोका नाम टिप्न पनि भ्याएका छन् उनले जस्तो— गोरखपुर डिपो, राप्तीनगर डिपो, देवरिया डिपो, महाराजगञ्ज डिपो, सोनौली डिपो, बस्ती डिपो, सिद्धार्थनगर डिपो आदि आदि । त्यस्तै पहाडका गाउँ र थाँतथलोहरूको पनि सविस्तार नामहरू दिएर उपन्यासलार्र्ई साँच्ची नै यथार्थ र जीवन्त पार्न खोजिएको छ । रेल नौतनवाबाट हिँडेपछि तेह्रचौधवटा छोटी स्टेसन पार गर्दै अगाडि बढ्यो भनेर उनले अठारवटा सबै स्टेशनको नाम नै उल्लेख गरिदिएका छन् (पृ.१०७) । यस्ता धेरै हामीले नजानेका र नसुनेका नाम, ठाउँ र गाउँहरूको विवरण यसमा उल्लेख छन् । उपन्यासले आवश्यकतानुसारका विभिन्न पात्रपात्राहरूको निर्माण गर्दै उनीहरूकै मुखबाट विविध संवादहरू सुनाउन सफल भएको छ ।
कुनै पनि उपन्यासमा कथावस्तुको स्थान सर्वोपरि र महत्त्वपूर्ण मानिन्छ । यसको कथावस्तु पहाडिया जनजीवन र तराईसँग अन्तर्रघुलन गर्दै प्रवाससम्म पुर्याएर लम्ब्याइएको छ । पात्र, चरित्र, परिवेश, भाषा तथा प्रस्तुतीकरणमा पनि नयाँपन दिने प्रयास गरिएको छ । कुनै पनि उपन्यास हामीहरूको जीवन जगत्कै बिम्ब प्रतिबिम्बहरू हुन् । अतः घातप्रतिघात, सुख, दुःख, हाँसो, आँशु सबैको समुचित सम्मिश्रण हुनु स्वाभाविक हो । मुख्यतः नेपालीहरूको दुःखपूर्ण जीवन कहानीलाई नै उपन्यासले प्रतिनिधित्व गरेको छ भन्न सकिन्छ । उपन्यासका लागि ज्यादै पुरानो र जीर्ण भइसकेका विषयहरू त्यति प्रभावकारी हुँदैन भनिन्छ । नवीन विषयवस्तुको चयन गर्न उपन्यासकार सजग र सचेत हुनु जरुरी देखिन्छ । यस परिवेशमा खगराज बराल कहीँ कतै चुकेका देखिँदैनन् ।
जागिरबाट राजीनामा दिई अफिसबाट बिदाबारी भई घर फर्कन नवीन हिँड्नुभन्दा अघिल्लो दिन कालीसँग भएको संवादले उपन्यासलाई रोचक र कौतुहलपूर्ण बनाएको छ । सोझो घटनाको विकास उपन्यासले त्यति रुचाउँदैन अर्थात् प्रभावकारी देखिँदैन । यसरी नाटकीय स्थितिको प्रादुर्भाव र विकासले उपन्यासलाई सशक्त र जीवन्त मात्र होइन संवेद्य समेत बनाउँछ । सङ्घर्षबाट खारिएका पात्रपात्राहरूको अझ महत्त्वपूर्ण र विशिष्ट भूमिका हुन्छ । यहाँ कालीलाई सङ्घर्षबाट खारिएकी दुःखी पात्रको रूपमा हेर्न सकिन्छ ।
त्यसो त प्रतिरूपमा पनि शिथिल कथावस्तु, असम्बद्ध घटनाक्रमहरू थुप्रै नपाइने होइनन् । जसको खास कुनै औपन्यासिक महत्ता र मूल्य पाइँदैन । तर झिनो तन्तु बुनेर त्यही धागोको माध्यमलाई समात्दै मूलकथावस्तुसँग उपकथा जोडेर उपन्यासलाई गतिशील बनाउन सक्नु डा. खगराज बरालको सफलता र चातुर्य हो । यसले एकातिर उपन्यासलाई विविधतापूर्ण बनाएको छ भने अर्कातिर मधेशको, मेघालयको, पहाडी जनजीवनको, खासीजातिको, मातृसत्ताका राम्रा—नराम्रा पक्षको जस्ता विविध विषयहरूको सूक्ष्म अध्ययन र वर्णन गरेको छ । सरल शब्द र शैलीमा ससाना वाक्यहरूको समावेशले उपन्यासलाई पठनीय र सुबोध बनाएको छ । यो वर्णनात्मक र अझ कतै कतै त नियात्रा शैलीमा समेत बगेको महसुस हुन्छ ।
उपन्यासले अरू विधाजस्तो तत्काल प्रभाव देखाउँदैन, यसले ढिलो प्रभाव उत्पन्न गर्छ र वर्षाैं वर्ष टिक्छ । त्यसैले उपन्यास लेख्नु कुनै लरतरो विषय पटक्कै होइन । यसका लागि शुरुमै गम्भीर आत्मसंलाप गरेर भावभूमिहरूको तय गरिनु आवश्यक पर्दछ । धेरै लामो बाटो हिँड्नुपर्ने हुँदा यात्राका सम्पूर्ण सरसामग्रीहरू सातुसामलको जोहो गरेर मात्र कलमले पाइला सार्नुपर्ने हुन्छ । त्यसैले यो जिम्मेवारीपूर्ण लेखन हो । समाज र राष्ट्रका प्रति गम्भीर उत्तरदायित्व बोध पनि हो । कलाको भित्री तह छुने प्रयत्न । यस्तो गहन विधामा हात हालेर साहित्यिक, बौद्धिक र प्राज्ञिक चक्चक गर्न सदैव तत्पर रहने स्रष्टा सर्जक डा. खगराज बरालले आगामी दिनहरूमा पनि अझ यस्ता सकृयताहरू बढाउन सफल होउन्, हार्दिक शुभेच्छा र शुभकामना ।
कृतिको नाम : प्रतिरूप,
विधाः उपन्यास,
प्रकाशकः साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि
पृष्ठः २३८, मूल्य : ३९५।—



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










