
विद्यावारिधिका शोधार्थी पितृराज बाँस्तोलाको अन्तिम परीक्षा हुनै लागेको थियो, नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्र काठमाडौँमा । वाह्यपरीक्षक प्रा.डा.गोविन्दराज भट्टराईको अनुपस्थितिले कार्यक्रम अगाडि बढ्न सकिरहेको थिएन । फोन सम्पर्क गरेँ, उताबाट जवाफ आयो ‘नजिकै आइसकेँ भाइ ।’ यो जानकारी प्राप्त हुनासाथ कार्यक्रमको औपचारिक सुरुआत भयो । कार्यक्रम समापन पश्चात् उनले आफ्नो व्याग खोतलेर केही थान पुस्तकहरू निकाल्दै डा.दयाराम श्रेष्ठ, डा.भीमप्रसाद खतिवडा, डा.कृष्णचन्द्र शर्मा, डा.सुधनकुमार पौडेललगायतका विद्वान्हरूलाई वितरण गरे ।

नगेन्द्रराज रेग्मी
मैले पनि पुस्तकको अनुहार चिहाएँ । आवरणले नै आकर्षित गरेको थियो । शीर्षक पढेँ, ‘मेरो पहिलो बेलायत यात्रा ।’ यो देखेपछि त मलाई झन् औडाहा भयो, कसरी यो पुस्तक प्राप्त गर्ने भनेर । किनभने आफूले पनि बेलायत यात्राको एउटा सम्झौटो कोर्ने रहर गरिरहेको थिएँ । अतः यो पुस्तकबाट मलाई पनि निश्चय नै थप केही जानकारी प्राप्त हुन सक्थ्यो भन्ने लालसा मनमा पलाउन पुग्यो । नकच्चरो भएर माग्न पनि मन लागेन, पुस्तक हात परिगएको पनि छैन । हुन त बजारमा खोज्न जाँदा नपाइने पनि थिएन होला । तर मन न हो सित्तै पाउँदा र अवसर भेट्दासम्म किन छोड्ने भन्ने लोभ त्यसै त्यसै पलाउन पुग्यो । नभन्दै एकछिन पछि त मलाई पनि खोज्दै आएर एक प्रति पुस्तक उपहार स्वरूप हातमा थमाई दिएपछि त के थियो र म त्यसै त्यसै प्रफुल्लित भएँ । पुस्तक प्राप्तिको पृष्ठभूमि यही हो मेरो ।
सङ्ग्रहका सुरुका केही पानाहरूले नै मेरो मन प्रफुल्लित पार्यो । ‘मलाई यस्तै ससाना कुराले छुन्छन् (पृ.१५)।’ ‘ठूला कुराहरू छैनन्’ (पृ.२०) । सायद मलाई पनि ठूलो कुराले भन्दा यस्तै झिनामसिना कुराहरूले नै छुन्छ । आफूलाई पनि यस्तै कुराहरू मन पर्ने भएकोले हो कि यो भनाइ मेरो जीवनमा पनि ठ्याक्कै मिल्न पुग्यो । आफूलाई जुन कुराले बढी चिमोट्छ त्यतैपट्टि मन बढी केन्द्रित हुन पुग्दो रहेछ ।
तर पढ्दै जाँदा थाहा भयो त्यहाँ केवल स-साना कुराहरू मात्र किमार्थ थिएनन् । पुस्तकमा विषयको चिरफार गर्ने सूक्ष्म समालोचकीय दृष्टि थियो, विश्लेषण थियो, विवेचना थियो । सूचना र जानकारीहरू त थिए नै त्यहाँ । तर त्यो भन्दा पनि गहन प्रश्न र जिज्ञासा थियो । अनि त्यसको उत्तर पनि थियो । समाधान, कार्यान्वयन र उपायहरू पनि सुझाइएको थियो । लाग्यो अहिले कतिपय प्रकाशनहरूमा लथालिङ्ग र असरल्ल पारेर व्यथिति र विसङ्गतिहरूका बिस्कुन सुकाइदिने चलन व्याप्त छ । तर त्यसलाई कसरी उठाउने र व्यवस्थित पार्ने भन्ने कुराहरू प्रायः कम पाउने गरिएको छ । पोखिएको कुरा देखाइदिने तर उठाउने कला र सीपहरू नदेखाइदिनाले समाजमा पनि त्यस्ता कसिङ्गरको डुङ्गुर थुप्रिरहेको हो कि ? म अनुमान गर्छु ।
पुस्तकभित्रका केही हरफहरू मलाई निकै मन परे, जसलाई मैले यसरी टिपोट गर्न थालेँ ।
क) राजनीति भनेको विष हो, त्यो जेमा मिसिन्छ त्यसैलाई विषाक्त गराउँछ (पृ.७७)।
ख) नेपालका धनी र गरीबलाई पनि यसरी मिलाउन पाए (पृ.७४)।
ग) हामीलाई अनुशासित बनाउन अरू दुई सय वर्ष लाग्छ होला (पृ.७४)।
घ) लन्डनमा मेरो जन्म भएको भए मध्यरातसम्म यस्तै दुखले मलाई कुधाइरहेको हुन्थ्यो होला । धन्य नेपालमै परेँ छु (पृ.७०)।
ङ) बानी र अभ्यासले मात्र संस्कृति बन्छ (पृ.६८)।
यो त यात्रा हो, भ्रमण गर्दा जे जस्ता दृश्यहरू देखिन्छन् प्रकट हुन्छन् त्यस्ता कुराहरू प्रत्यक्ष र सर्लक्क देखाइदिँदा मात्र पनि हुन्थ्यो । तर अहँ यस्ता विषयहरूमा उनले कुकाठ पनि देखाइदिएका छन् र त्यसलाई फाँड्न खुकुरी लिएर आफैँ पनि खरो रूपमा उत्रिएका छन् । पुस्तकभित्रको उनको लेखकीय कौशल मलाई सर्वथा प्रशंसनीय लाग्यो ।
डा. गोविन्दराज भट्टराईजस्ता धुरन्धर र प्रखर विद्वान् पनि यात्रामा मन विचलित परिरहेका हुन्छन् । कतै हराउँछु कि भनेर डराउन पुग्छन् । एअरपोर्टबाटै फर्काइदिने हुन् कि ? गेट पत्ता नलागेर कुद्दा कुद्दै बित्ने हो कि ? ढिलो हुने हो कि ? कतै छुट्ने पो हुँ कि ? चेकिङले दुख दिने हो कि ? १६ वटा गोजी भएको इष्टकोट लगाएर कतै राहदानी, कतै टिकट, कतै डलर र पाउण्ड त कतै अन्य कागजातहरू राखेर हिँडेका छन् । पाकेट मारिदेला कि भनेर यात्राभरि उनी बेलाबेलामा आफ्नो गोजी छामिरहन्छन् ।
लन्डनका विभिन्न ठाउँहरूमा यात्राका क्रममा तेस्र्याइएका तगारा र बारहरू उघार्ने कला जान्दैनन् । नजानेको कुरा पनि जानेको छु भनेर असत्य लेख्न पनि जान्दैनन् । च्याँक्क…गरेर पैसा खसाले पछि मात्र पस्न पाइयो भनेर यथार्थ बताउँछन् । त्यो पैसा कहाँ र कसरी खसाल्ने भन्ने विधि प्रविधि पनि उनलाई थाहा छैन । ‘मलाई त आँट आएन पैसा मेशिनले खाइदियो भने कता हारगुहार गर्ने’ (पृ.३४) । बिजुलीले च्याँक्क गरेपछि मात्र आफूलाई जान दियो भनेर यथार्थ प्रकट गर्छन् ।
धाराप्रवाह अंग्रेजीमा विद्वता बाँडेर कीर्तिपुर हल्लाउने व्यक्ति पनि लन्डन जाँदा यति लुरे हुन सुहाउँछ ? अंग्रेजीको प्रोफेसर अनि अंग्रेजको मुलुकमा जाँदा किन त्यस्तो हीन अनुभूति ? म मेरै मनसँग प्रश्न गरिरहन्छु । वास्तवमा हामीजस्ता सामान्य यात्रीहरूलाई चाहिँ निसन्देह यस्तो समस्या पर्ने गरेको कुरा कटु सत्य हो । प्रोफेसर र डाक्टर भएर पनि दम्भ र अहं नदेखाइकन सामान्य एउटा नेपाली नागरिकका रूपमा उनी त्यहाँ यात्रा गरिरहेको महसुस हुन्छ । जसले गर्दा आफूलाई केन्द्रमा राखी हामीजस्ता सर्वसाधारण पाठकको मनोदशा र समस्याको चित्र खिच्न उनी सफल देखिन्छन् । यो अर्को लेखकीय चतुर्याई पनि हो ।
कतै डिस्टर्व होला कि भनेर अर्काको पाहुना बनेर बस्दा खुसी भएको बखत ‘‘कहिले त अटोमेटिक गुन्गुनाउन मन हुन्छ । तर म ती काम गर्न सक्दिनँ । मलाई संकोच र भय हुन्छ’’ (पृ.२०)। विहान छिटै उठेर लेखपढ गर्ने मानिस बत्ती बाल्दा पल्लो कोठा वा छिमेकमा सुतेका मानिसहरू उठेर उनीहरूको दिनचर्यामा खलल वा दखल पो पर्ला कि भनेर सचेत बनेर गजधम्म बरु अँध्यारोमै बसिदिन तयार हुन्छन् । आफ्नो स्वतन्त्र जीवन र त्यसको अस्तित्व कत्ति महत्वपूर्ण हुँदो रहेछ भन्ने कुरा यी भनाइहरूले सूक्ष्म रूपमा प्रकट गर्दछन् ।
त्यस्तै आफू मासु खाने हुँदा हुँदै पनि अरूलाई धेरै दुख र खर्च पर्ला भनेर सिन्की, गुन्द्रुक र मस्यौरा तर्फ जान मन पराउँछन् । ‘माछा मासु र अतिथि जोडिए पछि जीवन गह्राैँ हुन्छ’ (पृ.१८)। कति राम्रो भाष्य बनाएका छन् उनले । कतिपय ठाउँमा घुम्न मन हुँदा हुँदै पनि उसलाई आर्थिक रूपमा बोझ पार्नु हुँदैन भनेर कुनै बहाना बनाएर पन्छिन खोज्छन् । आफ्ना कारणले अरूलाई दुख कष्ट नहोस् भनेर उनी साह्रै सतर्क बनेर बसेका छन् । यो सम्झँदा उनीप्रति टीठ लागे पनि यो बानी असाध्यै मन पर्छ । यात्रामा हिँड्दा ठूलो नठानिए पनि यस्ता कुराहरू अति संवेदनशील हुन्छन् । ‘सित्तैमा पाए अलकत्रा पनि खाने’ हाम्रो बानीलाई उनले राम्रै झापड हानेका छन् बुझ्नेका लागि । यथार्थ, सत्य र वास्तविकता प्रदर्शन गर्न उनी किञ्चित पछि परेका छैनन् प्रस्तुत सङ्ग्रहमा । न त बडप्पन देखाएर बुज्रुक भएको नै कतै भान हुन्छ ।
चौबीसवटा भिन्न भिन्न र रमाइला शीर्षकहरूको समावेशले पुस्तकको आकर्षण बढाएको छ । उनी कहिले सेक्सपियरको जन्मभूमि हेर्न पुगेका छन् त कहिले लन्डन शहर र स्टोनहेन्ज तथा कहिले डोभर पुग्छन् । कहिले मिजास भाइको क्वाटरमा रात बिताउन पुग्छन् भने लन्डन पुगेर मलामी जान पनि भ्याउँछन् । कहिले अंग्रेजी आदिकविसँगको मनोसंवादमा व्यस्त हुन्छन् भने कहिले हाम्रै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको कार्यक्रममा पुगेर मन्तव्य दिन चुक्दैनन् । मेसिनले खेती गरेको हेरेर आश्चर्य मान्दै फिर्छन् त कतै नेपालीहरूको भव्य कार्यक्रममा पुगेर स्वागत खान पनि भ्याइनभ्याइ छ उनलाई ।
त्यहाँ पुगेपछि भन्छन्- ‘आज मलाई कहीँ पुग्नु छैन, मोबाइल बज्दैन, कोही प्रपोजलसँग आउँदैन, कोही थेसिसमा सल्लाह लिन खोज्दैन, कोही आफ्नो भूमिकाको डेडलाइन सम्झाउँदैन, कोही एउटा आर्टिकल भन्दैन, कोही साढे तीनबजे एकेडेमी बोलाउँदैन, कतै विमोचन छैन’ (पृ.२२)। यसो भने पनि उनलाई त्यहाँ भ्याइनभ्याइ छ । त्यहीँ पुगेर शनिबारको कान्तिपुरलाई आज लेख लेखिसिध्याउनु छ भन्छन्, बेलायतबाट निस्कने नेपाली पत्रिकालाई अन्तर्वार्ता दिन पछि परेका छैनन्, विश्वासदीप तिगेलालाई अर्को लामो अन्तर्वार्ता दिइरहेका छन् । भन्नलाई उनले यसो भने पनि बेलायतमा पुगेर उनी अझ बढी यस्ता प्राज्ञिक कर्ममा संलग्न मात्र होइन व्यस्त नै भइरहेको कुरा यसै सङ्ग्रहले बताएको छ ।
ठाउँ ठाउँमा मेरा जिल्लावासी साहित्यिक मित्रहरूको सन्दर्भ र उठबस पुस्तकभित्र पढ्न पाउँदा झनै उत्सुक हुन पुग्छु म । जगत् नवोदित आउँछन्, उनले त बेलायतको नेपाली पत्रिकामा छपाउन भनेर फोन सम्वाद नै गर्न पुग्छन् । गणेश राई जसले लेखकलाई घुमाउने काम गर्छन् । उनको नाम ठाउँठाउँमा उल्लेख गर्ने मात्र होइन उनका कृतिको समेत चर्चा गरेका छन् । मुलवीर राई हरियो पर्खाल र मृत शहर शीर्षकका दुई आख्यानका लेखक भनेर चिनाएका छन् । आनन्द रानोहाेँछा राईको त्यसैगरी चर्चा छ । देवेन्द्र खेरेसलाई पनि सम्झिएका छन् । यसले मलाई गर्व महसुस भयो । कमसेकम बेलायतमा पनि मेरो जिल्ला उपस्थित भएको छ, खोटाङले बेलायतमा पनि नाम राखेको छ । डा. भट्टराईलाई बेलायतमा पनि खोटाङले सहयोग र स्वागत गरेको छ भन्ने सम्झेर खोटाङे हुनुको नाताले म पनि फुर्किन पुगेँ ।
कतिपय बेलायतका विभिन्न स्थानहरूको भ्रमण गर्दा नेपालका सन्दर्भहरू, आफ्नै गाउँ ठाउँका घटना प्रसङ्गहरू जोडेर त्यसलाई अझ जीवन्त र खँदिलो पार्न नियात्राकार चुक्दैनन् । यसले गर्दा भन्न खोजेको कुरा अझ राम्ररी उद्घाटित हुँदै प्रस्तुत सन्दर्भलाई थप पुट दिन मद्दत पुर्याएको महसुस हुन्छ । २०६५ सालको भाद्र १३ गते मिजास भाइको क्वाटरको भुवादार ओछ्यानमा सुत्छन् र ताप्लेजुङ्गको ढुङ्गेसाँघु सम्झन्छन् ।
डोभरमा पुग्छन् र त्यहाँको काशल हिलमा पुगेर एकछिन बिसाउँदा उनलाई नेपालको चिसापानी गढी र सिन्धुलीगढीको यादले सताउँछ । त्यहाँका भित्ताभरि जङ्गली ऐँसेलु पाकेर कालै देख्छन् झुप्पाका झुप्पा । अनि उनीहरू नेपालकै दार्मे सम्झन्छन् । बेलायतका हरिया चउरहरू हेरेर ताप्लेजुङको शिरका कहिल्यै नसकिने नागीजस्ता फराकिला ठाउँहरूको याद गर्छन् । इलामको फिक्कल जस्तो डाँडैडाँडा हुरुरु बताससँग ठोकिँदै डोभरतिर झरेको कल्पना बुन्छन् । काकरभिट्टादेखि छुटेर काठमाडौंं पुग्ने ५६० किलोमिटरको सुरुङ कस्तो होला भनेर कल्पना गर्छन् बेलायत र फ्रान्सबीचलाई जोड्ने समुद्री रेलमार्गलाई हेरेर । यसरी उनले प्रत्येक ठाउँसँग नेपाललाई जोड्न र सम्झन भुलेका छैनन् संग्रहभित्र । यता बसे पनि मन उतैको दुखमा थियो भन्न पुग्छन् ।
‘हे गोरा हो, तिमीहरूले ग्रामर हेरेनौ, बुझेनौ, डिक्सनरी नपल्टाई त्यो डिजिटल्स सूचना बनायौ’ (पृ.७१)। यसरी एकठाउँमा उनले प्रध्यापकीय स्वभाव देखाएका छन् । यात्रामा निस्कँदा उनी सदैव राम्रा राम्रा पुस्तकहरू बोकेर हिँड्छन् र उपयुक्त ठाउँ मिल्नासाथ त्यो पढ्न थालिहाल्छन् । हुन पनि उनले जानेको कुरा त्यही त हो पढ्नु, लेख्नु, सम्पादन गर्नु । यो बाहेक आफू बौध्दिक भएर पनि कहीकतै बौद्धिकताको जलपले रङ्ग्याएर सामग्रीलाई जटिल बनाउनु भन्दा सुबोध र सरल शब्दहरू राखेर बहुसंख्यक पाठकको हृदय झङ्कृत पार्नमा उनको ध्यान गएको महसुस हुन्छ ।
अन्त्यमा सत्यनिष्ठापूर्वक वर्णन गरेर बेलायतको जनजीवन र त्यहाँ बसोबास गर्ने नेपालीहरूको वर्तमान अवस्था र अवस्थितिको सजिव चित्रण गरेर पाठकहरूलाई गतिलो खुराक प्रदान गर्ने साहित्यकार भट्टराई धन्यवादका पात्र छन् । उनी आफैँ पनि एउटा कुशल समालोचक, नियात्राकार भएका कारण यात्रा र नियात्राका भेद खुट्याउने पारखी हुनाले यो यात्रा विवरण मात्र नभएर राम्रो यात्रा साहित्य हुन पुगेको छ । मात्राच्युति, मात्राधिक्य, शब्दच्युति, शब्दाधिक्य, वणर्विन्यासगत त्रुटि कतै देखिँदैनन् । यो भनेको पुस्तकको ठूलो सौन्दर्य हो ।
कहीँ कहीँ पुनरुक्तिका केही संकेतहरू भने देख्न पाइन्छ, जुन त्यति असंगतिपूर्ण लाग्दैनन् । यसरी २०६५ सालमा यात्रा गरेका डा. भट्टराईको यो किताब दसवर्ष पछि २०७५ सालमा प्रकाशित गरेर पनि हिजै बेलायत पुगेर आए जसरी हामीलाई उनले सविस्तार त्यहाँका विविध स्वाद चखाउनु निश्चय नै महत्वपूर्ण कुरा हो । नभन्दै उनले पुस्तकमै भने जस्तो ‘यो एउटा सानो जङ्गबहादुरको बेलायत यात्रा हो भन्ने लागेको छ (पृ.२०३)।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

