काठमाडौं । साहित्यकार खगराज बरालको नयाँ उपन्यास ‘प्रतिरूप’ को परिचर्चा कार्यक्रम शनिबार काठमाडौँको एम्बिसन कलेज, पुतलीसडकमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख वक्ताका रूपमा प्रा. डा. जयराज आचार्य उपस्थित हुनुहुन्थ्याे भने उपन्यासका लेखक बराल स्वयंले आफ्नो कृतिको पृष्ठभूमिबारे जानकारी दिनुभएकाे थियाे।
डा. आचार्यले उपन्यासजस्तो गम्भीर साहित्यिक विधाको मूल्याङ्कन सानो समूहमा सूक्ष्म ढंगले गर्नुपर्ने औँल्याउँदै, यो उपन्यास जीवनको गहिरो अर्थ झल्काउने कृति भएको बताउनुभयाे । उहाँले रसियन साहित्य, बौद्ध दर्शन, इस्लामिक वास्तुकलाजस्ता विश्व योगदानको सन्दर्भमा साहित्यको विश्व प्रभावसमेत उल्लेख गर्नुभएकाे थियाे ।
लेखक बरालले ‘प्रतिरूप’ को बीउ वि.सं. २०६९ मा जनक शिक्षा सामग्री केन्द्र पुगेका बेला सुनेको एक मजदूरको कोइलाखानीको कथा सुनेर रोपिएको बताउनुभयाे । उपन्यासमा निम्न मध्यम वर्गीय पात्रहरूको संघर्ष, सामाजिक अवस्था, र कानुनी पक्षको तथ्यपरक प्रस्तुति समेटिएको जानकारी उहाँले दिनुभयाे ।
पवनकुमार न्यौपानेद्वारा सञ्चालित कार्यक्रममा उपस्थित पाठक, समीक्षक तथा साहित्यप्रेमीहरूबाट उठेका जिज्ञासाहरूको लेखकले प्रत्यक्ष रूपमा उत्तर दिनुभएकाे थियाे । उपन्यासमा कौतुहलता र यथार्थताको सशक्त मिश्रण रहेको मूल्याङ्कन कार्यक्रममा गरिएको थियो।
साङ्ग्रिला मिडिया ग्रुपद्वारा प्रकाशित उपन्यासको प्रवर्द्धन एम्बिसन गुरुले गरेको हो। उपन्यास भौतिक संस्करण, ईबुक्स र अडियो बुक्सको रूपमा उपलब्ध छ।
कार्यक्रममा चिरञ्जीवी बराल, दिवाकर गौतम, शान्ति पौडेल, केशवप्रसाद दाहाललगायत सहभागी हुनुहुन्थ्याे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










