स्यानी मामाघर हजुरबुबाले राखिदिएको नाम हो । स्यानैमा हजुरबुबाले स्यानी भनेर बोलाउनुभयो । घर, माइती, मावली सबैतिर स्यानी दिदी, स्यानी आमा, स्यानी बहिनी भनेर उनको नाम परिचित भयो । चेतन कार्की पोखरा हुँदा हिँडेरै आफ्नो गाउँ बाटारी पुग्थे । प्राय शुक्रबार साड्गीतिक झमघट हुन्थ्यो उनको घरमा । मामाघर बसेर हुर्किँदै गरेकी स्यानी पनि रमाइलो हेर्न चेतन कार्कीको घरमा पुग्थिन् । पिँडीको डिलमा टुक्रुक्क बसेर गीत सुन्थिन् । रमाइलो हेर्थिन् ।

“जान्न म त हजुर खुर्सानी बारीमा

हिलो लाग्छ हजुर नाइलनको सारीमा” भन्थी सानीले ।

अहिले पनि चर्चाको शिखरमा रहेको गीत बाटारी स्याङ्जामै भएको साङ्गीतिक माहोल जन्मिएको हो । स्यानी सानै हुँदा जन्मिएको गीत अहिलेसम्म पनि उत्तिकै चर्चाको शिखरमा छ । आज स्यानी दिदी भौतिक रूपमा नभए पनि उक्त गीत रेडियोमा बज्दा मलाई स्यानी दिदीकै याद आउँछ । आँखाका किनारा रसाउन पुग्छन् । आज फेरि तिनै मेरी स्यानी दिदीको सम्झना आउने गरी, मेरो आँखाको डिलै भत्काउने गरी स्यानी उपन्यास बजारमा आएको छ । कवि, गीतकार तथा स्यानीकै छोरा खगराज बरालले स्यानी उपन्यास बजारमा ल्याएका छन् ।

आमाको अप्रत्याशित मृत्युबाट अत्यन्त भावविह्वल भएर पीडाका शब्दहरू उनेर तयार पारिएको छ उपन्यास । उपन्यासको पहिलो अङ्क नै सामान्य पाठकहरूलाई सरल तरिकाले पढ्न निकै गाह्रो हुन्छ । जस्तै कठोर पाठकको पनि आँखा रसाउन पुग्छ । यो पङ्क्तिकारलाई सबै उपन्यास पढ्न निकै गाह्रो महसुस भयो । आँखामा आँसु र हातमा स्यानी लिएर तीन दिन र धेरै छिन गरेर उपन्यास पढेर सकेँ ।

सुरज उपाध्याय

राति नौ बजिसकेको थियो …………………… मोबाइलको घण्टी बज्यो उताबाट बा बोल्नुभयो ‘खब, आमालाई सन्चो भएन । ट्याक्सी लिएर तुरुन्तै घर आइज’ उपन्यासको पहिलो अनुच्छेद हो यो । बुबाले फोन गरेर घरमा बोलाएपछिको कुराबाट उपन्यासको कथाको सुरुवात हुन्छ । अन्तिमसम्म पनि आमाकै सम्झनामा उपन्यासका कथा र पटकथाहरू घुमिरहन्छन् । भनिन्छ, अरूको लाखभन्दा आमाको काख प्यारो । छिट्टै नै आमाको साथ गुमाउनुपर्दा जुनसुकै छोराछोरीलाई पनि पीडा हुन्छ । आमाबाबाको सपना साकार पार्न अहोरात्र प्रयास गर्ने छोराछोरीलाई त हुने नै भयो । आमाको दुःखद निधनले लेखकलाई असीमित पीडा भएको छ । नेपाल सरकारका पूर्व सचिवसमेत रहेका लेखकले आमाको सपना पूरा गरे तर आमाले देख्न पाउनु भएन ।

उपन्यासको सेरोफेरो कास्की र स्याङ्जा वरिपरि नै घुमेको छ । तेह्र दिन काजकिरिया गर्दा आमासँग बिताएका स्मरणहरूको अनुभूतिलाई लेखकले उपन्यासमा प्रस्तुत गरेका छन् । लेखकका पाँच भाइमध्ये लेखक माहिलो छोरा हुन् । सानैमा अर्थात् अरू तीन भाइ नजन्मँदै आमाले कान्छो भनेर बोलाएको । भाइहरू जन्मिएपछि गाउँलेहरूले माहिलो भनेर बोलाउँदा बाल मनोविज्ञानमा परेको प्रभावलाई समेत उपन्यास समेटेका छन् । सत्य हरिश्चन्द्रको कथामा माहिलो बेचिएको प्रसड्गले लेखकको बाल मनलाई विक्षिप्त बनाएको प्रतीत हुन्छ । तेह्र दिन किरिया गर्दा हुने विभिन्न संस्कार र आमाको पूर्वस्मृतिमा नै उपन्यास केन्द्रित छ । उपन्यासमा प्रस्तुत भएका गरुडपुराण, स्वस्थानी कथाका केही सन्दर्भहरू अहिलेका पुस्तालाई अनौठो लागे पनि केही नयाँ तथ्यहरू बुझ्ने र जान्ने अवसरसमेत यस कृतिले दिएको छ ।

‘अहिले पनि आमा सेती खोलातिर मामाघर गएकी छन् कि पोखरातिर गएकी छन् जस्तो लागिरहन्छ । …………… सिम्ले बारीमा तरकारी टिप्न गएकी पनि हुन सक्छिन् जस्तो लाग्छ । ………………. कुनै दिन रातो सारीको सप्को काँधमा हालेर खुइय सुस्केरा हाल्दै टुप्लुल्क आँगन आइपुग्छिन् कि जस्तो लाग्छ ।’ लेखकले उपन्यास अन्त गर्दाको अन्तिम अनुच्छेद हो यो । यो अन्तिम अनुच्छेद लेखिसक्दा पनि लेखक आमा अझै भेट्न आउँछिन् कि जस्तो लाग्छ । कहीँकतै गएकी होलिन् जस्तो लाग्छ । यसरी उपन्यासको बिट मारेका छन् लेखकले ।

विशेष गरी गीत, कविता, समालोचना र शिक्षासम्बन्धी अनुसन्धात्मक आलेखहरूमा कलम चलाइरहने खगराज बरालको पहिलो उपन्यास हो स्यानी । नेपाल साहित्यमा शोक काव्यहरू धेरै नै लेखिए, कि त ऐतिहासिक उपन्यास लेखिए तर कथामा आधारित भएर लेखिएको पहिलो शोक उपन्यास हो स्यानी ।

आमाको सम्झनामा लेखिएको यो उपन्यास आमाको दुःखसङ्घर्षका कथाहरूले भरिएको छ । स्याङ्जा र कास्कीमा प्रयोग हुने भाषिकाहरू प्रयोगले यो उपन्यास अझै बढी पठनीय भएको छ । जम्मा दुई सय सन्ताउन्न पृष्ठमा समेटिएको उपन्यास स्यानीमा तेह्र ओटा अङ्क छन् । हरेक पाठकलाई हरेक अङ्क पढ्दा आफ्नै आमाको सम्झना र मायाँले पगाल्छ ।

कृति- ‘स्यानी’

विधा- उपन्यास

लेखक- खगराज बराल

प्रकाशक- साङ्ग्रिला बुक्स प्रा.लि.

संस्करण- पहिलो (२०७७)

पृष्ठ- २५७

मूल्य- ने.रु. ४७५