सुरज उपाध्याय

बिस्तारै थाहा भएको छ
घरको महत्त्व
सबै जना यतिबेला
घर फर्किन आतुर छन् ।
आपत् परेका बेला
सिङ्गै देश पनि
घरजस्तै हुँदो रहेछ
नाङ्गै महाकाली तरेर वल्लो किनार आएपछि
एक मुठी बालुवा छातीमा दलेर
सन्तोषको स्वास फेरे साहिँला दाइले
सङ्कटका बेला
महाकाली किनारको बालुवा पनि
दैलामुनिको माटो जत्तिकै प्यारो हुँदोरहेछ  ।
भन्थ्यौ नि साहिँला दाइ
देश भनेको सिमाना मात्रै हो
देख्यौ नि
देश सिमानाभन्दा पारि पनि पुग्दो रहेछ
देश नजिक हुँदा पनि दुख्दो रहेछ
टाढा हुँदा पनि दुख्दो रहेछ
देश दुखेपछि घर अँध्यारो हुन्छ
घर अमिलिएपछि मनमा साउन बर्सिरहन्छ ।
ऊ, हेर त
समुद्र पारिबाट
फेरि अर्को हवाइजहाज आइरहेछ
बिलखबन्दमा परेका आफ्ना देशहरूलाई लिन
यस्तै बेला जानिँदो रहेछ साहिँला दाइ
हामीले मनमा बोकेको देशको मनमा
हामी छौँ कि छैनौँ भनेर
देशसँग मन भए त
खाडीमा सुस्ताएका गङ्गे दाइ
अस्ति नै फर्किसक्थे नि  ।
यतिबेला
देशलाई माया गर्ने
आमाजस्तै मान्छेको खोजी गर्नु छ
खोजी गर्नु छ आफ्नो देशको
आऊ साहिँला दाइ
रित्तो देशमा मन भरौँ
खोक्रो देशमा प्राण भरौँ
देश कुनै पनि भूगोलमा
बिलखबन्दमा पर्नु हुँदैन
हो साहिँला दाइ, आऊ
जाऔँ र हाम्रो देश बोकेर
आफ्नै घरमा ल्याऔँ,
 जाऔँ साहिँला दाइ ।