पोखरा  । पोखराको कालिकाचोकस्थित अल्फा एकेडेमीमा रहेको अल्फा बाल क्लबले साहित्यकार सुरज उपाध्यायद्वारा लिखित साइकल कवितासङ्ग्रहमाथि पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूमा पठन संस्कृति विकास गर्ने उद्देश्यले क्लबले पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको हो ।

परिचर्चामा कक्षा १० का छात्र विश्वास ढकाल, कक्षा १० कै छात्रा दिया बास्तोला र कक्षा ८ का छात्र समीर सुनारले कवितासङ्ग्रहमाथि आफ्नो पाठकीय प्रतिक्रिया प्रस्तुत गर्नुभएकाे थियाे । उहाँहरूले सङ्ग्रहका कविताहरूमा बालबालिकाको मन छुने भाव रहेको उल्लेख गर्दै प्रकृति, खेलकुद र प्रविधिसम्मका विषय कवितामा समेटिएको बताउनुभयाे । कविताहरूले थुप्रै कुरा सिक्न प्रेरणा दिएको उहाँहरूको धारणा थियो ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सुरज उपाध्यायले बालबालिकाले घरबाटै जीवनका पाठ सिक्ने र विद्यालयमा आफ्ना सोचलाई फराकिलो बनाउने सिप हासिल गर्ने बताउनुभयाे । उहाँले पछिल्लो समय विद्यालयहरूमा ज्ञानका साथै जीवनोपयोगी सिपसमेत सिकाउन थालिएकोमा खुसी व्यक्त गर्नुभयाे । “देशमा असल नेतृत्व नजन्मिएका कारण दुःखद् अवस्था आएको छ,” उहाँले भन्नुभयाे, “क्लबका भाइबहिनीहरूले अध्ययनलाई निरन्तरता दिएर नेतृत्वको अभाव पूर्ति गर्नुपर्ने छ ।”

उपाध्यायले विदेशिएका छोराछोरीलाई कुर्दाकुर्दै आमाबुबाले लाससम्म पर्खनुपर्ने स्थितिको संवेदनशीलता व्यक्त गर्दै युवाहरूलाई देशमै केही गर्ने सोच विकास गर्न आग्रह गर्नुभयाे । क्लबका संरक्षक एवम् साहित्यकार सञ्जीव पौडेलले क्लबमार्फत पठन संस्कृतिमा नयाँ अध्याय थपिएको बताउनुभयाे । उहाँले जीवन र जगतकाे विश्लेषण गर्ने क्षमता विकास गर्न पुस्तक अध्ययन अत्यन्त आवश्यक रहेको बताउनुभयाे ।

कार्यक्रममा साहित्यकार सुरज उपाध्यायले आफ्नो पछिल्लो कवितासङ्ग्रह बाबा कतारमा आमा हतारमा का केही प्रति विद्यालयको पुस्तकालयलाई हस्तान्तरण गर्नुभयाे । उहाँले क्लबको पठन संस्कृतिको अभियानलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे ।

परिचर्चा गरिएको कवितासङ्ग्रहबाट केही कविता बालबालिकाले वाचन गरेर सुनाउनुभएकाे थियाे । क्लबकी अध्यक्ष प्रशंसा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रिसी त्रिपाठीले स्वागत मन्तव्य दिनुभएकाे थियाे भने सञ्चालन सचिव अर्पण भण्डारीले गर्नुभएकाे थियाे ।