बीसौं शताब्दीको पूर्वार्धमा नेपाली साहित्य भर्खरै बामे सरिरहेको थियो । त्यही बखत छिमेकी मुलुक- भारतमा हिन्दी, बङ्ग्ला र अङ्ग्रेजी साहित्यले निकै ठुलो फड्को मारिरहेको थियो । सन् १९१३मा त रवीन्द्रनाथ ठाकुरले नोबेल पुस्कार नै पाइसकेका थिए गिताञ्जलिका लागि । १०७ वर्षपछि पनि यो अवसर जुरेको छैन नेपाली साहित्यलाई । त्यस बेला बङ्गाली साहित्यमा शरद्चन्द्र चटोपाध्यय, बन्किमचन्द्र बन्धोपाध्यय, माइकल मधुसूदन दत्तले आफ्नो स्थान सुरक्षित राखिसकेका थिए साहित्यमा । रवीन्द्रनाथ त अन्तराष्ट्रिय कविको दर्जा पाएर कविता पढ्दै विश्व भ्रमणमा निस्किसकेका थिए । त्यही समयमा हिन्दी साहित्यमा मुन्सी प्रेम चन्द, सुमित्रानन्दन पन्त, रामधारी सिंह ‘दिनकर’, सूर्यकान्त त्रिपाठी ‘निराला’, जयशङ्कर प्रसाद आदि सक्रिय भएर साहित्य सिर्जना गरिरेका थिए । उर्दूमा भने गालिबले भानुभक्तले रामायण अनुवाद गर्नु अघि नै उच्चतम प्रसिद्धि कायम गरिसकेका थिए जो आजसम्म पनि कायमै छ । गालिबलाई कवि सनतकुमार वस्ती र प्रकाश सायमीले बर्सेनि सम्झिन्छन् अरू नेपाली कविहरूलाई सम्झे पनि, नसम्झे पनि । प्रकाश सायमीले त गालिबको चिहान कवितासङ्ग्रह नै निकालेका छन्  । अङ्ग्रेजीमा भने माइकल मधुसूदन दत्त, तरु दत्त, राजा राव, मुलुकराज आनन्द, आर. के. नारायण, सरोजिनि नाइडु, अरबिन्द घोष लगायतका साहित्यकारहरूले अङ्ग्रेजलाई टक्कर दिने साहित्यहरू सिर्जना गरिरहेका थिए । त्यही समयमा देखापरे पारसमणि प्रधान भारतिय नेपाली साहित्य आकाशमा नयाँ जोस, जाँगर र ऊर्जा लिएर तर त्यही भुगोलमा जन्मेर र दीक्षित भए पनि उनले बोल्ने र लेख्ने भाषा र साहित्य निकै कमजोर थियो-विषयवस्तुमा, शैलीमा र व्याकरणमा । उनी आफैँ हिन्दीमा पढेर म्याट्रिक पास गरेका थिए भने अझैसम्म सबै नेपालीलाई मन्य हुने मानक व्याकरण निस्किसकेको थिएन त्यसबखत ।  यही पृष्टभूमिमा पारसमणि प्रधानको लेखन साधना सुरु हुन्छ ।

पारसमणि प्रधान

पारसमणि प्रधानका योगदानका बारेमा धेरै पुस्तक, स्मृतिग्रन्थ र लेखहरू निस्किसकेका छन् । उनका छोरा नगेन्द्रमणि प्रधानले लेखेको पारसमणि प्रधानको जीवनयात्राले सन् १९९५मा साहित्य अकादमी पुरस्कार समेत पाइसक्नुभएको छ  तर पनि उनको विशाल व्यक्तित्व र कृतित्वमाथि जति लेखे पनि कमै हुन्छ होला जस्तो लाग्छ मलाई । पारसमणि प्रधानलाई मुख्यरूपमा हामीले सम्झन पर्ने  चार-पाँच कुराहरूमा हो जस्तो लाग्छ । अहिलेभन्दा ४० वर्षअघिसम्म कुनै तहमा उनले लेखेको वा सम्पादन गरेको पाठ्यपुस्तक नपढ्ने मान्छे नै थिएन दार्जिलिङमा । यो ठुलो गुन लगाए उनले भारतीय नेपालीलाई  । यसका साथै नेपाली भाषामा पठन पाठन गराउने अभियानको उनी अग्रेणी अभियन्ता पनि थिए । दोस्रो जनवरी १९१८ देखि चन्द्रिका निकाल्ने जुन साहस गरे उनले त्यसले निकै ठुलो प्रभाव परेको थियो नेपाली साहित्यमा । तेस्रो नेपालीमा मानक व्याकरण निकाल्ने प्रयास अत्यन्तै सराहनीय काम थियो पारसमणिको । चौथो विभिन्न तह र तप्कामा रहेर उनले शिक्षामा दिएको योगदान र पाँचौचाँहि पुस्तक प्रकाशनको व्यवसायिकरण । उनले प्रकाशित गरेको पुस्तकमा कसैलाई कोसेली दिनका निम्ति छुट्टै पानामा – कोसेली अनि सेवामा र मिति लेखेको हुन्थ्यो ।

सायद काशीबाट अनेपाली माधव प्रसादको सम्पादनमा निस्केको ‘चन्द्र पत्रिकको  मई १९१५, वर्ष १, अङ्क ९ मा प्रकाशित अध्यवसाय’ लेखबाट साहित्यमा होमिनु भएको पारसमणि प्रधान सोही पत्रिका अर्को अङ्कमा विद्या लेख प्रकाशित गर्छन् । विद्या शीर्षक निबन्धमा प्रधान लेख्छन्- “जसद्वारा हामी मनुष्य जातिले केही कार्य  चाहे सानो या ठुलो  गर्नेछौँ त्यसैलाई ‘विद्या’ भनिन्छ । विद्वानहरूले विद्यालाई ‘सरस्वती माता’ पनि भन्दछन् ।” पारसमणि प्रधान कर्मयोगी थिए, कुनै पनि काम ठुलो वा सानो ठान्दैन थिए । महिलाहरूलाई पनि पढाउनु पर्छ भन्नेमा उनको ठुलो जोड थियो । उनले आफ्नी बुहारी (मेरो आफ्नै फुपूकी छोरी) मधुमालती प्रधानलाई वनारसमा मन्टेसरी  शिक्षा प्रणालीमा प्रशिक्षित गर्न  पठाएका थिए र उनले प्रथम श्रेणीमा पास भएर आएपछि तस्विर सहित बधाई भारती’मा छापेका थिए । मधु दिदीको नियात्रा लेख मेरो बनारस यात्रा भारतीको अप्रिल-मई १९५६ अङ्कमा  प्रकाशित भएको थियो । उनको कडा नियम र निगरानीको सधैँ चर्चा गर्नुहुन्थ्यो मेरो बुवा । घरको कामलाई आठ आने काम भन्ने गर्थे र लुगा धुने काम राति गर्नुपर्छ भन्ने उनको भनाइ थियो, बुवा भन्नु हुन्थ्यो ।

पारसमणि प्रधानले थोरै कविता लेखे तर धेरैजस्तो कविता तत्कालिन परिस्थितिलाई सुहाउँदो लेखे  । जाली माकुरो उनको निकै चर्चित कविता हो;

वरिपरि सब घेरी जाल राम्रो बुनेर

नजर गरि चनाखा चाल राम्रो सुनेर,

दलिनमनि कुनामा माकुरो एक बस्थ्यो,

घरिघरि घुमि हेरी प्वालमा फेरि पस्थ्यो  । १

“भ्रमर पुतलि झिङ्गा जालमा आइ पर्छन्,

लटपट भइ चाँडै जालमा नै ति मर्छन्,

अरुहरु पनि पर्छन् जालमा धेर हेर,

बसि बसि अनि खाला मासुको भोज धेर  ।” २

यति भनिकन भित्र प्वालमा गै लुकेर-

वरिपरि पनि हेर्दै माकुरो त्यो ढुकेर,

दिनभरि अनि बस्थ्यो आसको खास दास-

पुतलिहरु नपर्दा दुष्ट हुन्थ्यो उदास  । ३

भ्रमर वर नआई जालको चाल पाई

परपरतिर जान्थे जाल देखी डराई,

अरुहरु पनि उड्थे जाल मागी उडेर,

रस पनि अनि चुस्थे फूलमा ती भुलेर  । ४

सरल सरल मौरी मस्त भै गान गाई,

फुल फुल रस खाई फेरि खाई अघाई,

घुनुनु घुनुनु गर्दै जालमा पर्न आयो,

लटपट भइहाल्यो प्राण त्यल्ले गुमायो  । ५

झटपट गरि निस्क्यो जालमा माल पाई,

लटपट अरु पार्‍यो जालमा माललाई,

विष पनि अनि हाल्यो हात खुट्टा समायो,

चुसि चुसि अनि खायो माकुरो त्यो अघायो  । ६

विषय रस कुनामा एकहोरो नलागी,

अघि पछि पनि हेर्दै ज्ञानिले हिँड्नु पर्छ,

अघि र पछि नहेर्ने हुस्सु हो त्यो अभागी,

अतिशय दुख पाई मूर्खले मर्नु पर्छ  । ७

प्रकृतिसित म मिल्छू भाव लिन्छू उसैको,

भनिकन कवि जस्तै भै उसै तम्सिएको,

हुन त कवि म कैले सक्तथे बन्न ऐले  ।

तर पनि कविता यो लेखि-हेरेँ बलैले ।८

“कवि कविता होस्, कविता कवि होस् तब पो हुन्छ, शब्द थुपारीकन के हुन्छ भाव भए पो हुन्छ ” यो भनाइ पारसमणी प्रधानको महावाणी जतिकै चर्चित छ । त्यो समयमा धरणीधर कोइरालाको कविता, सूर्यविक्रम ज्ञावालीको इतिहास र समालोचना र पारसमणि प्रधान व्याकरण र पाठ्यपुस्तक लेख्नमा व्यस्त रहे । एउटा सिङ्गै शिक्षित र साहित्यिक पुस्ता उनीहरूबाटै दीक्षित भएर आएको थियो नेपाली समाजमा  ।

मूर्धन्य समालोचक रामकृष्ण शर्मा आफ्नो लेख- दार्जिलिङ क्षेत्रमा नेपाली साहित्यको पृष्टभूमि र जन्म लेखमा पारसमणि प्रधानले दिएको योगदान बारेमा लेख्छन्,” पारसमणि प्रधान स्कुलको छात्र हुँदा नै होला बनारसबाट प्रकाशित हुने माधवी, सुन्दरी, गोर्खाली र चन्द्र पढ्न पाएका थिए र त्यहाँ छापिएका कविता समस्यापूर्तिद्वारा प्रेरणा पाएर उनले आफ्ना प्रारम्भिक कविता लेखे, छपाए । तदन्तर खरसाङबाट उनले नेपाली पत्रिका ‘चन्द्रिका’ सन् १९१८ मा आफ्नै सम्पादनमा निकाले । यो पत्रिका यद्यपि एक वर्षमात्र चल्न सक्यो तापनि यो पत्रिका साहित्योन्मुखि पत्रिका थियो । त्यसर्थ मेरा विचारका ‘साहित्यिक ध्येय मनमा लिएर लेखनि चलाउने दार्जिलिङ क्षेत्रमा पारसमणि प्रधान देखिन आउँछन् । तिनताक उनले ‘सुन्दर कुमार’ नाटक र त्यस अघि ‘हिरण्मयी चरित्र’, (अनुवाद) पनि लेखेको बुझिन्छ । यी नै क्रियाकलापको भरमा पारसमणिलाई दार्जिलिङमा साहित्यको घडेरी खन्ने प्रथम व्यक्ति तोकिन सकिएला ।”

बीसौँ शताब्दीको प्रथम चरणमा भारतमा नेपाली व्याकरण लेख्नु बाध्यता थियो । व्याकरणबिना नेपाली भाषालाई पाठ्यक्रममा राख्न नमिल्ने भएपछि यो कार्यको सुरुवात हुन्छ । नेपाली व्याकरणको छोटो इतिहास शीर्षक लेखमा डा. पारसमणि प्रधान लेख्नछन्,”  नेपाली भाषामा विश्वविद्यालयको परीक्षा दिनलाई नेपाली व्याकरणको आवश्यकता पर्‍यो  । विश्वमणिले सन् १९११ मा एउटा यस्तै व्याकरण हतपतमा लेखे र सन् १९१३ मा प्रकाशित पनि गरे । यो व्याकरणको नाउँ थियो “ गोरखा व्याकरण बोध” विश्वमणिज्यूले यो व्याकरणको भूमिकामा लेख्नुभयो -” भारतवर्षका प्रचलित भाषाहरूमा हलन्त शब्दको उपयोग उठ्दै गएका हुनाले हाम्रो भाषाको उन्नति गर्नलाई हामीले पनि जँहासम्म हुन्छ हलन्त शब्द राखेका छैनौँ । यस पुस्तकमा ठाउँ ठाउँमा यस सम्बन्धमा हामीले आफ्ना मत प्रकाश गेरेका छौं ।

पाठकवृन्दले वही हेरनु परछ भनने हाम्रो प्रार्थना छ ।”  डा. प्रधानका अनुसार सन् १९१२मा हेमराज गुरुज्यूको गोरखा भाषा व्याकरण ‘चन्द्रिकामा त्यही व्याकरणलाई चन्द्र शमसेरले सदर गरेको जानकारी दिइएको छ ।  दार्जिलिङमा व्याकरण र शब्दकोश निर्माण गर्नमा विदेशी विद्धान्हरूको विशेष योगदान र चासो रहेको पाइन्छ । नेपाली भाषा र व्याकरणको विषय लेखिएर पारसमणि प्रधान र पादरी गङ्गाप्रसाद प्रधानको शीतयुद्ध चलेको कुरा पारसमणि प्रधानको काशी भाषे बोली’ लेखमा पढ्न पाइन्छ ।  समालोचक नवीन पौड्यालले नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित हुने समकालन साहित्य’को पुर्णाङ्क ७३मा भारतबाट प्रकाशित नेपाली व्याकरण परम्परा र प्रवृत्ति’ नामक लेखमा पारसमणि प्रधानले नेपाली व्याकरण निर्माण र परिमार्जनमा दिएको योगदानको चर्चा गरेको पाइन्छ । यसै गरी सन् २०१६ मा ‘समकालीन साहित्य अनलाइनमा भाषासेवीका रूपमा पारसमणि प्रधान शीर्षकमा एउटा लेखमा नवीनज्यूले नेपाली साहित्यलाई दिएको सम्पूर्ण योगदानको विस्तृत जानकारी दिएका छन् । उक्त लेखमा नवीनज्यू लेख्छन्, “नेपाली व्याकरण लेखनको परम्परामा पारसमणि प्रधानको नाम उच्च छ । नेपाली भाषाको व्याकरण लेखनमा उनको नाम अति आदरका साथ लिइन्छ । सन् १९२०मा हरि प्रिन्टिङ वर्क्स खरसाङबाट प्रकाशित नेपाली व्याकरण विशेषगरी अङ्ग्रेजी व्याकरण र भाषा-भास्करको ढाँचामा र हेमराज पाण्डेयको चन्द्रिका व्याकरणको आधारमा लेखिएको छ ।

पारसमणि प्रधान एक्लैले र सहलेखनमा तयार पारेका व्याकरण पुस्तकहरूमा सजिलो नेपाली व्याकरण (१९३५), नेपाली रचना कुसुम (भाग १, नगेन्द्रमणि प्रधानको सहलेखन), नेपाली रचना भारती (भाग १ र २, अमरमणि प्रधानको सहलेखन,१९५४), नेपाली व्याकरणको परिवर्द्धित र वर्तमान रूप (१९७०), व्याकरणको दन्त्य कथा (१९७०), नेपाली व्याकरण भारती, (नगेन्द्रमणि प्रधानको सहलेखन, १९५४), प्राथमिक नेपाली व्याकरण (१९५४), प्रवेशिका व्याकरण र रचना (१९५५, टिकाराम शर्माको सहलेखन) नेपाली व्याकरण (पहिलो भाग, १९७०), माध्यमिक नेपाली व्याकरण र रचना( १९८२) । यद्यपि उनको सन् १९२०मा प्रकाशित व्याकरणकै कहिले सजिलो नेपाली व्याकरण, कहिले व्याकरण भारती अनि कहिले प्रवेशिका नेपाली व्याकरण र रचनाजस्ता विभिन्न नामहरू लिएर देखा पर्छन् । व्याकरण र पाठ्यपुस्तक लेखनमा उनले छोराहरूलाई पनि सहभागि बनाएको देखिन्छ । यस्तो परम्परा कमै देखिन्छ साहित्य लेखनमा ।

पारसमणि प्रधानका अनुसार भाषाको व्याकरणमा समयोचित हेरफेर हुनु जीवित भाषाको लक्षण हो । नेपाली भाषाको व्याकरणका नियममा पनि समय समयमा धेरथोर हेरफेर भइरहनु पर्छ । उनका आफ्नो जीवनकालभरि भाषाको एकरूपताका लागि सङ्घर्ष गरिरहे । नेपाली भाषालाई अघोरै माया गर्ने पारसमणिले जीवनकालभरि नै नेपाली भाषा- साहित्यको सेवामा आफूलाई समर्पित गरे ।

दार्जीलिङमा जनजागरण विशेषगरी साहित्य र भाषामा सूधपाको ठुलो योगदान छ । नेपालबाट आएका धरणीधर कोइराला, वनारसबाट सूर्यविक्रम ज्ञावाली र दार्जिलिङकै रैथाने पारसमणि प्रधानको पहलमा खोलेको  नेपाली साहित्य सम्मेलनले नेपाली साहित्यमा अतुलनीय योगदान गरेको छ । सन् १९२४मा हरिप्रसाद प्रधानको अध्यक्षतामा नेपाली साहित्य सम्मेलन गठन हुँदा पारसमणि प्रधान मन्त्रीमा मनोनित भएका थिए । उक्त कार्यक्रम पारसमणि प्रधानद्वारा रचित गानबाट सुरु भएको थियो । सोही कार्यक्रममा पारसमणि प्रधानले वक्तव्य दिएका थिए । “ अरूले शिक्षा हासिल गर्छन् मातृभाषाको माध्यमबाट तर नेपालीहरूले यस्तो गर्न पाएका छैनन् । यसर्थ अरूलाई केही सिक्न जति समय लाग्छ नेपालीहरूलाई दोब्बर समय लाग्छ । विश्वविद्यालयहरूमा नेपाली पढ्ने अनुमति दिइएको छ, तर त्यहाँ अध्ययन गर्ने नेपालीहरूको सङ्ख्या औँलामा गन्न सकिने बराबर छ । त्यसर्थ नेपालीहरूले प्राथमिक पाठशालामै मातृभाषामा पढ्ने सुविधा पाउनुपर्छ  । यसरी विद्याको प्रचार हुन्छ औ नेपाली भाषाको पनि उन्नति भएर जान्छ । भाषा र साहित्यको उन्नति नभई जातिको उन्नति कदापि हुनसक्तैन ।”, आफ्नो व्यक्तव्यमा प्रधान भन्छन् ।

सूधपाको पहलमा साहित्य र शिक्षाको चेतना फैलाउने कार्यले  भारतीय नेपाली साहित्यलाई ठुलो फड्को हान्न सहज भयो । चालिस र पचासको दशकमा देखापरेको दार्जिलिङ, सिक्किम, पूर्वी नेपालका आधिकांश साहित्यकारहरू उनीहरूबाटै शिक्षित र दीक्षित वा प्रभावित भएको पाइन्छ ।   पारसमणि प्रधानले जीवनमा धेरै कामहरू गरे ।  हरि प्रिन्टिङ प्रेसको व्यवस्थापनदेखि मणि प्रन्टिङ प्रेससम्म यात्रा तय गरे । विभिन्न स्कुलमा पढाउने कामदेखि शिक्षा निरिक्षक सम्म बने उनी । व्यवसायिक बने, सम्पादक बने, प्रेस चलाएर उद्यमी बने । अरू व्यपारहरू पनि गरे । सायद उनी सफल व्यवसायी नबनेको भए नेपाली साहित्यलाई त्यति धेरै योगदान दिन सक्तैन थिए होला । पारसमणि प्रधानको शिक्षक जीवन बारेमा समालोचक दिवाकार प्रधान  लेख्छन्, ”२४ जुलाई १९१८-मा कलकत्ता विश्वविद्यालयले म्याट्रिक, आई ए र बी ए-मा नेपाली भर्नाकुलर पढाइ हुने अध्यादेश प्रकाशित गरेपछि चन्द्रिकाका सम्पादक पारसमणिलाई १ फरवरी १९१९-देखि कालेबुङको स्कटिस युनिभर्सिटी मिसन इन्स्टिट्युट (SUMI)मा पहिलो नेपाली शिक्षक बनाइयो भने  १ अप्रेल १९१९-देखि दार्जिलिङ सरकारी हाई स्कुलमा दोस्रो नेपाली शिक्षक बनाइयो ।”

पारसमणि प्रधानले पुस्तक लेखन र प्रकाशनमा व्यावसायिकता नल्याएका भए दार्जिलिङले साहित्य र साहित्यिक पत्रकारितामा यति ठुलो योगदान दिन सक्तैन थियो । समाजको प्रत्येक क्षेत्रहरूमा आफूलाई संलग्न गराउनु पारसमणिको विशेषता थियो । साहित्यकार शरद् छेत्री आफ्नो पुस्तक ‘केही पृष्ठहरू अध्ययनकामा लेख्छन्,” भाषा र साहित्यमा मात्रै होइन तर नेपाली जातिको सामाजिक, शैक्षिक र राजनैतिक उन्नतिसमेत भएको देख्न चाहने अध्यवसायी पारसमणि प्रधानले उद्योग र व्यवसायको क्षेत्रमा पनि आफूलाई दृष्टान्त पारेको कुरा उल्लेखनीय छ । “

नेपाली साहित्यिक पत्रकारितामा पारसमणि प्रधानको ठुलो योगदान छ  । यसको प्रमाण सन् १९१८मा प्रकाशित चन्द्रिका र वि.स. २००६ मा निस्केको भारतीलाई नै लिन सकिन्छ । चन्द्रिकाले आशुकवि शम्भु प्रसाद ढुङ्गेल, धरणीधर कोइराला, लेखनाथ पौड्याल, सूर्यविक्रम ज्ञावाली आदिको रचनाहरूलाई स्थान दिएको पाउँछौ भने भारतीले असङ्ख्य लेखक र कविहरूलाई जन्म दियो । वि.सं. २०१५ सम्म प्रकाशनमा आएको यो पत्रिकामा रूपनारायण सिंह सुरु सुरुमा प्रधान सम्पादकको रूपमा जोडिएको पाउँछौ ।  भारती कालसम्म नेपाली पत्रिकाहरूको एक झलक शीर्षक लेखमा अजित बस्नेत लेख्छन्,”  भारती’ पत्रिकाले नेपाली भाषा र साहित्यको विकाश तथा सम्बर्धनका लागि खेलेको भूमिका बृहत् र प्रशंसनीय छ  । आजभन्दा प्रायः पाँच ६ दशकअधिको समयमा दार्जिलिङमा नेपाली भाषा र साहित्यको अति शोभनीय व्यवस्था रहेको बेला नेपालीहरूले मातृभाषाको माध्यमद्वारा शिक्षा ग्रहण गर्न नपाएको हुँदा ‘भारती’ पत्रिकाको जन्म भएको कुरा ‘भारती’ मा प्रकाशित सम्पादकीयहरूबाट प्रमाणित हुन्छ ।” भारतीको उपजहरूमा अगमसिंह गिरि, अगमसिंह तामाङ, तारानाथ शर्मा, इन्द्रबहादुर राई, ईश्वर बल्लभ, देवनम देउजा, जी छिरिङ आदिलाई लिन सक्छ । पछिल्ला चरणमा हिमालचुलिको अवैतनिक प्रधान सम्पादकको भूमिका निभाए । उनको सम्पादनकालमा मैले हिमालचुलिमा केही लेख छपाउने अवसर पनि पाएको थिएँ ।

भारतबाट पनि निकै राम्रा र स्तरीय लेखक र कविहरू नेपाली साहित्यमा आए पनि केवल पारसमणि प्रधानले मात्र  वि.स. २०२५मा मदन पुरस्कार पाउने सौभाग्य पाए आफ्नो पुस्तक टिपन-टापनमा अपितु फादर विलियम बर्क हेलिङ्गयाक्सले सह शब्द नामक पुस्तकमा वि.सं. २०५१ यो पुरस्कार पाए पनि( उनी क्यानाडियन मूलको भारतीय नागरिक हुन) । अरू लेखक र कविहरू जगदम्बा श्री सम्मानमा नै चित्त बुझाउनु पर्‍यो । उनले त्रिभुवन प्रज्ञा पुरस्कार र त्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ महाविद्यावारिधी (डीलिट) उपाधि पाएका थिए ।

पारसमणि प्रधानले आफ्नो ८७ वर्पको दीर्घ जीवनमा ४५ वटा जति पुस्तकहरू लेखन, सह-लेखन र सम्पादन गरे जस्मा  भारतवर्षको इतिहासविलायत यात्रा, सजिलो नेपाली व्याकरण. कथा भारती जेठो, माहिलो, साहिलो, काहिंलो भागबुद्ध चरित्र नाटक, भानुभक्त ग्रन्थावली, नेपाली भाषाको उत्पत्ति र विकास, कवि र कवित, टिपन टापन, रोचक संस्मरण, नेपाली साहित्यको साउँ अक्षर, नेपाली भाषा साहित्यको विवरण, जयमाला, काठमाडौमा द दिन, काठे झाँकी, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा आदि प्रमुख हुन् ।

पारसमणि प्रधानलाई असीको दशकमा केही बुद्धिजिवीहरूले निकै खैरो खेदे । उनले लेखेको व्याकरणलाई चुनौती पनि दिए अनेक तर्क वितर्क दिएर नेपाली भाषाको एकरूपताको नाममा । तर उनी आफ्नै अडानमा अडिग रहे । उनकै व्याकरण र पाठ्यपुस्तक पढेर कखरा सिकेकाहरूले उनलाई नै चुनौती दिनु उनका निम्ति धेरै पीडादायी क्षण थियो । पारसमणिले जुन काल र परिस्थितिमा पाठ्यपुस्तक र व्याकरण लेखे त्यस्को मुल्याङ्कन वर्तमान अवस्थालाई मध्यनजर राखेर गर्न मिल्दैन । गङ्गाप्रसाद प्रधानले लेखेको लेखबाटै थाहा पाउन सक्छौँ कस्तो थियो भाषाको अवस्था अनि पारसमणि र उनका सहकर्मीहरूले ल्याएको सुधार पारसमणि र उनका समकालीन लेखकहरूको लेखबाट प्रष्ट हुन्छ ।

पारसमणि प्रधानले दिएको योगदानको सही मूल्याङ्कन शरद् छेत्रीले आफ्नो लेखमा गर्नु भएको छ । उनी लेख्छन्,” विविध चुनौती र आलोचना खेप्दै भानुभक्तको नेपाली लेखाइलाई विशुद्धताका निम्ति आधार बनाउँदै स्व. परासमणिले कतिपय रचानाहरू लेख्नुभएको छ तथा त्यही आधारमा व्याकरण र पाठ्यपुस्तक तयार पारेर नेपाली भाषा एकरूपमा लेखिनुपर्छ भन्ने आग्रहको बीजारोपण गर्नुभएको छ । यही विशुद्ध नेपाली भाषा लेख्नुपर्छ भन्ने आग्रहलाई आफ्नो जीवनको शेषकालमा समेत उनले प्रत्यक्ष तौरमा प्रतिध्वनित गरेको पाइन्छ । शैक्षिक, अर्थनैतिक, राजनैतिक, भौगोलिकजस्ता कारणहरूले विभिन्न क्षेत्र र विभिन्न व्यक्तिमा आइरहेको नेपाली लेखनको अनेकरूपतालाई मेटाउने निवेदन गर्दै महाविद्यावारिधि पारसमणि प्रधानज्यूले भनेका छन्- “ नेपाली भाषामा कुनै कुरो लेख्ता हामीले मनपरी लेख्नुहुँदैन । नेपाली भाषामा एकरूपता आएन भने, मनपरी लेख्न र भाँडभैलो मचाउने कुबानी अब पनि हामीले छोडेनौँ भने नेपाली भाषा र साहित्यको प्रगतिमा बाह्र बज्छ ।……. मेरो मत जान्न चाहनुहुन्छ भने म भन्छु, प्रत्येक लेखक-लेखिकाले, शिक्षक-शिक्षिकाले, पत्र-पत्रिकाले, सम्पादक-सम्पादिकाले, प्रकाशक-प्रकाशिकाले, परीक्षक औ मुद्रकले एकरूपतामा विशेष ध्यान दिनु मात्र होइन दिनैपर्छ । नदिनेहरू नेपाली भाषामा वैरी ठहर्छन् ।”