काठमाडौँ । टोखा नगरपालिका र १ नं.वडा कार्यलयको आयोजनामा ‘साहित्यको जगेर्ना तथा प्रवर्धन कार्यक्रम – २०८१’ सम्पन्न भएको छ । झरना पार्टी प्यालेसको प्रेक्षालयमा स्थानीय तथा विभिन्न क्षेत्रबाटका साहित्यिक व्यक्तित्वहरूको उत्साहजनक उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा लामो समयदेखि साधनारत, नेपाली भाषा साहित्यलाई जगेर्ना तथा प्रवर्धन गर्नुहुने स्थानीय १५ सर्जकहरूलाई नगद र सम्मानपत्र तथा मायाको चिनोसहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा टोखा-१ का स्वर्गीय मंगलबहादुर तामाङ (गीत र गायन) र स्वर्गीय भैरव अधिकारी (भजन र साहित्य ) लाई मरणोपरान्त साहित्य जगेर्ना तथा प्रवर्धन पुरस्कार – २०८१ प्रदान गरिएको थियो । साथै, नरहरी दुलाल (गायन), श्यामकाजी श्रेष्ठ (गायन तथा गीत), शुदर्शन अधिकारी (गायन), सुमनकुमार धिताल (गीत), सुन्दरकुमार लामिछाने (कला तथा गायन), ईश्वरीप्रसाद अधिकारी (पत्रकारिता तथा साहित्य), ई. महेश्वर अधिकारी (उपन्यास), दिपेन्द्र घिमिरे (उपन्यास), आँचलकुमार शर्मा (गजल), शिव शर्मा (छन्द कविता), माधब बिडारी (उपन्यास), हरिकृष्ण धिताल (गीत र मुक्तक) र रेणु अधिकारी (गीत,लघुकथा र कविता) लाई नगदसहित साहित्य जगेर्ना तथा प्रवर्धन पुरस्कार-२०८१ तथा सम्मान प्रदान गरिएको थियो ।

टोखा न.पा. १ नं. वडाका वडा अध्यक्ष रमेशकुमार लामिछानेको सभापतित्व, टोखा न.पा.का नगरप्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्य तथा साहित्यका विभिन्न विशिष्ट व्यक्तित्वहरूको आतिथ्य रहेको उक्त कार्यक्रममा स्थानीय सर्जकलगायत ३५ जना सर्जकहरूले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा डा. दामोदर पुडासैनी ‘किशोर’, साहित्यकार वासुदेव गुरागाईं र समकालीन मुक्तककार सन्तोष अम्गाईँले वक्ताका रूपमा मुक्तक विधा, समसामयिक साहित्य, साहित्य र पर्यटन विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

यस कार्यक्रमको सहजकर्ता एचके धिताल र चेतनपथ माधव रहनुभएको थियो । कार्यक्रमको सञ्चालन गीतकार एचके धिताल र गजलकार आँचलकुमार शर्माले गर्नुभएको थियो ।

सो अवसरमा टोखा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा कार्यक्रमका सभापति रमेशकुमार लामिछानेले कार्यक्रमले आफ्नो वडाको गौरब बढाएकोले आफूलाई खुशी लागेको बताउँदै कार्यक्रमको निरन्तरता दिने वचन दिनुभएको थियो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति, काठमाडौँका सदस्य राजकुमार बिडारी, पूर्व वडाध्यक्ष श्रीकृष्ण अधिकारी, मुक्तक अभियन्ता सुनिल अधिकारी र मदन नेपाल, मुक्तक मन्च काठमाडौँका अध्यक्ष राजेन्द्र घिमिरे, वरिष्ठ साहित्यकारहरु योगेन्द्र तिमल्सिना, मुकुन्द पौडेल, मुकुन्द शर्मा चालिसे, कवि उमेश पाण्डेलगायत अन्य साहित्यकारहरुको उपस्थिति रहेको थियो ।