इतिहासकार प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार मध्याह्न निधन भएको छ । शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरे पनि सुधार हुन नसकेको नेपालका भाइ एकमणि नेपालले जानकारी दिए ।
लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो ।
१० दिनअघि नेपाललाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । नयराज पन्तका शिष्य ज्ञानमणि नेपालको चर्चित पुस्तक ‘नेपालको महाभारत’ हो । ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’, ‘नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष’ नेपालले लेखेका उल्लेखनीय पुस्तक हुन् ।
नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन् ।
नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपाल ९२ वर्षको उमेरमा बितेका हुन् । उनकी पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो । उनका दुई छोरा छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।