रूपनारायण सिंहको जीवनशैली एउटा दन्त्य कथा भएको छ दार्जीलिङमा । उनको रहन-सहन, बोली-चाली, वकालति बहस, सुरा-सुन्दरी, अङ्ग्रेजी जीवनशैलीको मोह- यो सबैले पृथक् बनाएको छ रूपनारायण सिंहलाई अरूभन्दा । अङ्ग्रेजहरूसँग उठबस, बङ्गालीहरूसँग बहस, जिमखाना क्लबको रात्रिकालीन जीवन र प्लिभा (अहिले ग्लिनेरिस) रेस्टुरामा भोजन(त्यो समय प्लीभाको भोजन गर्ने नगन्य नेपाली हुन्थे) उनको दिनचर्या थियो । बेलायती पहिरनमा सजिए पनि मनमा थिए उनी पक्का नेपाली । उनको नेपाली साहित्यप्रतिको झुकाब बेजोड थियो । आख्यानमा नवीनतम शैलीको प्रयोग र नँया विषयवस्तुको समायोजन- यी सबै कुराले गौण बनाइदियो उनको विलासिताको जिन्दगी ।
रूपनारायण सिंह जीवितै हुँदा दार्जीलिङ सरकारी महाविद्यालयमा अध्यापन गरिरेका मूर्धन्य समालोचक ईश्वर बरालले बढो सुन्दर तरिकाले रूपनारायण सिंहको जीवन शैलीको बारेमा कथासङ्ग्रह ‘झ्यालबाट’मा लेख्छन्,” रूपनारायण आधुनिक युगमनस्कता तथा राजनैतिक सञ्चेतना भएका व्यक्ति थिए । सामाजिक वर्जना पाखा लगाउने औ त्यहाँ प्रत्येक प्रकारका जड परम्परादेखि असंलग्न हुने विद्रोही प्रकृति तिनको थियो । दार्जीलिङमा ती जण्ड वकिल औ प्रचण्ड स्वाभिमानी व्यक्तिका रूपमा विख्यात थिए । रक्सीका लतले नकज्याउन्जेल तिनले त्यहाँका अनेक सामाजिक, सांस्कृतिक औ राजनैतिक संस्थाका सदस्य भई आफ्ना गच्छेअनुसार नेपाली समाजको सेवा गरे । ती घरमा आफ्ना जहान बालबच्चासित सधैँजसो अङ्ग्रेजी नै बोल्थे, पूरा साहेबी ठाँटबाँटसित बस्थे तर नेपाली भाषाका पाठक औ लेखकसित भने सह्रदय भई नेपालीमा नै कुराकानी गर्थे औ यस भाषाका निम्ति हुरुक्क मरिमेट्ने आन्तरिकताको परिचय दिन प्रशस्त आतुरिन्थे ।”
रूपनारायण सिंहको जीवनशैली, सुरा-सुन्दरी प्रेम (तीनपटक त बिहे नै गरे) को धेरै रसिलो किस्साहरू छन् तर उनले नेपाली साहित्यमा दिएको योगदानलाई नै प्राथमिकता दिएर लेख्ने प्रयास हो मेरो । कवि अगमसिंह गिरी तथा लेखक राजनाराणय प्रधानको अनुसार रूपनारायण सिंह ‘होचो कद भए पनि धपक्क बलेको अनुहार, टिलिक्क टल्कने कपाल, गोल औ ठूलठूला भावुक आँखाहरू, सुहाउँदिलो नाक अनि मिलेका ओठ, छरितो र सुहाउँदिलो ज्यान भएका हिउँजस्तै उज्याला थिए।‘
युगद्रष्टा इन्द्रबहादुर राईले पनि रूपनारायण सिंहको व्यक्तित्वको निकै राम्रो पाराले उजागर गरेका छन् आफ्नो लेखमा, “रूपनारायाण वकिल फौजदारी पक्षमा उत्तर बङ्गालमा अद्वितीय थिए । वकालतीको जिरह उहाँको अत्यन्त छोटो, बुँदामै बोलिएको र सङ्केत दिएरै धेरै कुरा छाडिएको हुन्थ्यो । त्यही विशेषता उनको लेखाइमा देखिन्छ । कम शब्द र वाक्यमै स्पस्ट छन् तिनी, बुनाइ त्यति राम्रो छ तिनको । आवृत्ति र आलङ्कारिक रूपान्तरहरू सब सध्येय छन्।”
विद्यार्थीकालमा रूपनारायण सिंहलाई साक्षात् देखेका कुनै समयको जण्डा समालोचक तारानाथ शर्मा उनीबाट निकै प्रभावित थिए । ‘अन्नापूर्ण पोस्ट’मा शर्मा लेख्छन्, “उनी गोरी आइमाईहरूसित मदिरासेवन गर्थे र जिमखाना क्लबमा नाच्थे । उनी ठाँटसित बस्थे, अङ्ग्रेजी पोसाकमा जम्थे र अङ्ग्रेजहरूले मात्र धान्न सक्ने ‘प्लिभा’ भोजनालयमा खान्थे । उनी जसरी उच्चवर्गीय सानसित दैनिक जीवन व्यतीत गर्थे, त्यत्तिकै प्रखर तार्किक र श्रेष्ठ वक्तासमेत थिए । यसरी बाहिरबाट हेर्दा जतिसुकै पाश्चात्य ढाँचाका देखिए पनि र अङ्ग्रेजी भाषाका प्रकाण्ड विद्वान भए पनि रूपनारायण सिंह एक जिउँदा जाग्दा, जोसिला र ज्वलन्त नेपाली थिए । उनी नेपाली भनेपछि हुरुक्क हुन्थे । उनको नेपाली भाषा लेखाइको शैली बेजोडको थियो । उनका ‘कथा नवरत्न’ का कथाहरू पढेर र प्रसिद्ध उपन्यास ‘भ्रमर’ हेरेर नै मैले आफ्नो नेपाली शैलीलाई तिखारेको थिएँ, छरितो र रमाइलो पार्ने जमर्को गरेको थिएँ । त्यति भएर पनि उनी बाँचुन्जेल म फुच्चो उनका छेउमा पर्न सकिनँ, पर्ने आँटै ममा आएन ।”
रूपनारायण सिंह सफल र लोकप्रिय वकिल त थिए नै उनी न्याय र जाति प्रेमी पनि थिए । पारिश्रमिक कम लिन्थे र तर्क पनि उफ्री उफ्री, हँसाई हँसाई र व्यङ्ग्य गरी गरी गर्थे रे । कम्युनिस्टको कट्टर दुस्मन उनी एकपल्ट कम्युनिस्ट नेता रतनलाल ब्राह्मिन उर्फ माइला बाजेको पक्षमा लडे । कारण थियो उनलाई एउटी अङ्ग्रेज महिलाले छेडछाडको आरोप लगाएर मुद्दा हालेकी थिई । अङ्ग्रेजको विरुद्धको त्यो मुद्दा सबैले हार्छ भनेका थिए तर उनले जिते । जितेपछि बाहिर नेस्के रे तर माइला बाजेसँग नबोली र बाँचुन्झेल कहिले पनि बोलेनन् रे । उनले व्यक्ति र राजनैतिक सिद्धान्तभन्दा माथि उठेर गरेको यो जातिप्रतिको मोहको ज्वल्वन्त दृषान्त अरू के हुन सक्छ र।
रूपनारायण सिंहको प्रवेश नेपाली साहित्यमा निकै चाख लाग्दो छ । कलकत्ताबाट बि.ए., बि.एल. गरेको र अङ्ग्रेजी, हिन्दी र बङ्ग्ला साहित्यले निकै प्रभाव पारेको व्यक्ति उनी, प्रखर शैली लिएर त्यसबखत नेपाली साहित्यमा आउनु आश्चर्यको कुरा थियो । रुद्रराज पाण्डेको ‘रूपमति’-ले नेपाली आधुनिक उपन्यासको थालनी गरेता पनि विषयवस्तु र शैलीका हिसाबले नितान्त नौलो थियो ‘भ्रमर’- रूपनारायण सिंहको उपन्यास । वि.सं. १९९३ मा प्रकाशित यो उपन्यासबाट नेपालीमा स्वच्छन्दतावादी धाराको प्रवेश हुन्छ नेपाली साहित्यमा । त्यसपछि देखिएका यस धाराका अन्य उपन्यासहरूमा अच्छा राई ‘रसिक’को ‘लगन’ र ‘दोभान’, शिवकुमार राईको ‘डाक बङ्गला’, लीलाध्वज थापाका ‘मन’, ‘शान्ति’ र ‘पूर्वस्मृति’, मोहनबहादुर मल्लको ‘उजेली छायाँ’, लक्ष्मीप्रसाद देवकोटाको ‘चम्पा’ आदि उल्लेख्य छन् । ‘भ्रमर’-को समालोचना गर्दै प्राध्यापक मोहन पि दाहाल लेख्छन् ‘आधुनिक नेपाली उपन्यासमा’, ” विषयवस्तुका दृष्टिकोणले ‘भ्रमर’- भन्दा असल उपन्यास लेखिन सक्छन् तर ‘भ्रमर’-को सफलता श्रेष्ठता जाँच्ने कसी हो रूपनारायाणको भाषा र लेखनशैली । सन् १९२९ मै ‘परिवर्तन’ र ‘अन्नापूर्ण’ कथा लेखेर नेपाली गद्याख्यानको क्षेत्रमा रूपनारायणले भाषाको परिमार्जितपन र शैलीको नवीनता देखाइसकेका थिए; त्यसैको उत्कृष्ट रूप ‘भ्रमर’ (१९३६)-मा देखियो । नेपालीमा पहिला कहिल्यै नदेखिएको भाषा र शैली ‘भ्रमर’ले दियो ।”
पारसमणि प्रधान, सूर्यविक्रम ज्ञावाली र धरणीधर कोइरालाको छत्रछाँयामा बसेर दार्जीलिङमा अध्ययन गर्दा तिनी कथा, कविता लेखनमा उत्प्रेरित भए । यी तीनले तिनमा रहेको साहित्यिक प्रतिभाको अनुभूत गरेका थिए । अर्का धुरन्धर साहित्यकार महानन्द सापकोटा पनि रूपनारायणकै सहपाठी थिए, गुरु पारसमणि प्रधानद्वारा प्रकाशित ‘भारती’को उनी प्रधान सम्पादक भएको थिए केही समय ।
कथाशिल्पमा रूपनारायण सिंहले विशिष्टता हासिल गरेको पाउँछौँ । उनले कथाहरू कलकत्तामा हुँदै लेखेता पनि पूर्णता कुनैलाई दिइएको थिएन । सूर्यविक्रम ज्ञावालीको सरसल्लाहले उनी कथा लेखनमा पुनः होमिए तर नेपाली साहित्य सम्मेलनको मुख-पत्रमा, ” नेपालका यशस्वी लेखक कप्तान बालकृष्णशमशेर जङ्गबहादुर राणा तथा अरू-अरू नाँउ चलेका लेखकहरू र दार्जीलिङका प्रसिद्ध लेखक रूपनारायण सिंह बि.ए., बि.एल. र भारतका अरू ठाउँमा बसेका विद्वान् नेपालीहरूले लेखेका कथाहरूको सङ्ग्रह छाप्ने आयोजन हुँदैछ । यो पुस्तक नेपली साहित्यमा यौटा अपूर्व कुरा हुनेछ । मार्च १९३८ का अन्त्य सम्म छापिई प्रकाश हुनेछ । मूल्य १२ आनादेखि बढता हुने छैन।” लेखिएता पनि सूर्यविक्रम ज्ञावालीले सम्पादन गरेका ‘कथाकुसुम’मा न रूपनारायण सिंहको कथाले स्थान पाए न भारतका अन्य लेखकको कथाले । ‘कथाकुसुम’-मा सङ्गृहीत कथाहरू भन्दा रूपनारायणको कथाहरू ‘परिवर्तन’ र ‘अन्नापूर्ण’ कुनै कुरामा पनि निम्न स्तरका थिएन । यो नहुनुमा सूर्यविक्रम ज्ञावालीको ब्राहम्णवादलाई पनि केही समालोचकहरूले दोष दिएका छन् ।
इन्द्रबहादुर राईको ‘दियालो’को अप्रेल १९६२ अङ्कमा प्रकाशित आफ्नो लेख ‘रूपनारायणः लेखनकार’-मा लेख्छन्,” ‘भ्रमर’ जब प्रथम प्रकाशित भयो भाषाले नै यसले तिरिमिरी पाऱ्यो । ४० सम्म हाम्र लेखकहरूको भाषाले पुरानो भाषाको लोसेपन, आडम्बर र पद्धतिवादहरूलाई छोड्नै सकेका थिएनन् । सन् १९३८ मा प्रकाशित भएको ‘कथाकुसुम’-मा सङ्कलित कथाको भाषा हेर्नोस् र ‘भ्रमर’-को भाषा हेर्नोस् । त्यो भाषा नेपालीमा अघि कहिल्यै थिएन । सामन्त युगदेखि पुँजीवादमा प्रवेश गरेको जस्तो लाग्छ । उताको सामन्ती युगमा नभन्दै बालकृष्ण थिए, भाषाका अर्का बलवान् स्रष्टा । नेपाली भाषाले पूरा काँचुली यस कालमा फेऱ्यो । भानुभक्तले गरिदिएको क्रान्तिजस्तै जसपछि शान्तिकालमा भाषालाई लेखनाथले सुन्दर छाहारी दिनुभयो, यस्तै क्रान्ति फेरि बालकृष्ण, देवकोटा आदिका पालामा भाषाले पायो । रूपनारायाणको भाषा तर एकदमै अघि थियो । युग र आर्थिक अवस्थाको हिँडाइमा पछि परेको नेपालले रूपनारायणको भाषालाई ठम्माउनै सकेन, हृदयङ्गम गर्न सकेन, कसैले एउटा ‘अहो’ लेखेन । यताका हामीले भने हामीले बाँचिरहेको खाइरहेको यताको छिटो र छरितो भाषालाई चिन्यौं त्यसमा तर पनि पूरै हाम्रै भाषा थिएन । रूपनारायणको व्यक्तित्व जति त्यो हामीभन्दा भिन्दै थियो । नेपाली साहित्यमा शैली र विषयवस्तुमा आएको परिवर्तनलाई त्यसबेलाका साहित्यकारहरूले सहजै स्वीकार गर्न नसकेको इन्द्रबहादुर राईको गुनासो पनि छ ।
कथा लेखनमा रूपनारायण सिंहको दाँजोमा आउने कमै थिए । देहरादुनबाट प्रकाशित हुने ‘गोर्खा संसार’ पत्रिकाको फागुन ४ गते, वि.सं. १९८३ अङ्कमा ‘परिवर्तन’ कथाबाट साहित्यमा प्रवेश गरेका सिहंले सोही वर्ष त्यही पत्रिकामा अर्को कथा ‘अन्नापूर्णा’ प्रकाशित गरेका थिए तर यी कथाहरू पछि वि.सं. २००७ सालमा प्रकाशित ‘कथा नवरत्न’-मा समावेश भएको पाउँदैनौँ । ‘कथा नवरत्न’-मा रूपनारायण सिंहले सन् १९३८ देखि १९५० सम्म लेखेका नौवटा कथाहरू संलग्न छन् र यी कथाहरूमा दार्जीलिङको तत्कालिन सामाजिक परिवेश, आर्थिक स्थिति, जनचेतना, शैक्षिक र राजनैतिक परिवेशको चित्रण पाउछौँ । ‘धनमतीको सिनेमा स्वप्न’ र ‘मिस्टर एच.बि. ब्यास्नेट’ उनको अति विशिष्ट कथाहरू हुन् जस्मा भारतमा भरखरै सुरु भएको भौतिकवादी जीवनको कुशलतापूर्वक चित्रण गरिएको छ । ‘धनमतीको सिनेमा स्वप्न ‘ मा यौन वा रतिरागलाई अङ्गालिए तापनि तत्कालीन दार्जीलिङे नेपाली समाजको सजीव चित्रण पाइन्छ । ‘धनमतीको सिनेमा स्वप्न’-मा दार्जीलिङको परिवेश साथै प्रकृतिक वर्णन गरिएको छ । यसरी दार्जीलिङ हुदै कलकत्तासम्मको वर्णन उनको कथामा पाइएको छ । उनको कथा ‘पुष्पराग’-मा उच्चवर्गले निम्नवर्गलाई अत्यचार गरिरहेको पाउँछौँ । उनको कथा शिल्पमाथि समालोचक डा. दयाराम श्रेष्ठ ‘नेपाली कथा र कथाकार’-मा लेख्छन्,” कथाकार रूपनारायाण सिंहले समाज-रचनाको गत्यात्मक स्वरूपलाई स्पष्ट पार्दै समाजका संस्कारहरूको प्रकृतिमाथि प्रकाश पारेका छन् । उनका कथामा निम्न तथा निम्नमध्यम वर्गका मानिसहरूको जीवनशैली प्रतिविम्बित हुने भएकाले मानवजीवनको निराशावादी पक्षमै विषयलाई केन्द्रित गरिएको पाइन्छ तर यति भएर पनि उनका कथाहरूमा उच्च र निर्मल आदर्शको स्थापनामा जोड दिइएको पाइन्छ । यसको कारण के हो भने, मानिसभित्रको उदारताको भावनालाई जगाउन आदर्श भावबाहेक अर्को कुनै विकल्प नभएको कुरामा उनको विश्वास रहेको छ । उनको विचारमा उदारभावले नै व्यक्ति-व्यक्तिबिच आत्मीय सम्बन्ध स्थापना गर्दछ जसको फलस्वरूप समाज सबल बन्दछ । यही विचार वा दर्शनमा आधारित उनका कथाहरू पाठकवर्गका लागि बौद्धिक खुराक पनि बन्न सकेका छन्।” डा. कुमार प्रधानले अङ्ग्रेजीमा लेखिएको नेपाली साहित्यको इतिहासमा रूपनारायाण सिंहको ‘अन्नापूर्ण’ कथामा देखिएको संस्कृत र बङ्गाली भाषाको प्रभाव ‘धनमतीको सिनेमा स्वप्न’ र ‘मिस्टर एच.बि. ब्यास्नेट’मा आइपुग्दा उनको भाषाले निकै परिपक्कता पाएको लेख्नछन् ।
डा. ईश्वर बराल पनि उनको कथाकारितादेखि निकै प्रभावित भएको पाउछौँ । डा. बरालले सम्पादित गरेको ‘झ्याबाट’-मा लेख्छन्, “‘पुष्पराग’, ‘बिग्रेको बाहुन’ र ‘ जिम्मावारी कसको?’ कथा व्यङ्गयका कलात्मक शिल्पच्छटायुक्त तिख्खर प्रयोग हुन् भने ‘धनमतीको सिनेमा स्वप्न’ र ‘मिस्टर एच.बि. ब्यास्नेट’ अर्कै किसिमको धारिला तथा पहसनात्मक व्यङ्ग्यको सफल प्रयोग।”
‘बिजुली’ उनको अपुरो उपन्यास हो जुन सन् १९४६मा ‘भारती’-मा धारावाहिक रूपमा प्रकाशित भएको थियो । यो अधुरो उपन्यासको बारेमा निकै जारकारी राख्ने साहित्यकार श्रद्धेय नरबहादुर दाहाल ‘बिजुली साँच्चै हराइन्?( समकालीन साहित्य, पूर्णाङ्क १३, माध-फागुन-चैत्र २०५०) शीर्षकको लेखमा लेख्छन्, ” रूपनारायण सिंहको यो अपूर्ण उपन्यास ‘भारती’-को पहिलो वर्षको सङ्ख्या २ देखि ४ या ५ सम्म)मा क्रमशः छाप्दै गयो । उहाँको यो उपन्यास लेखिसकेर छाप्न दिनुभएको थियो कि एक-एक अङ्कका लागि लेख्दै दिनुहुन्थ्यो यो आज एउटा शोधको विषय भएको छ तर ‘भारती’ (पहिलो वर्षको पाँचौँ किस्ता छापिएन । बरु सङ्ख्या ६ मा यसको यस्तो विज्ञापन छापियो- “अब ‘बिजुली’ पुस्ताकाकारमा छापिनेछ ।” सङ्ख्या ७ मा अर्को विज्ञापन पनि देखियो- ” ‘बिजुली’, सामाजिक मौलिक उपन्यास, परिमार्जित भाषा, सुपाट्य शैली (छापिँदै छ)- मणि प्रिन्टिङ प्रेस दार्जीलिङ ।” तर फेरि ‘बिजुली’ देखा परिनन् बिजुली साँच्चै हराइन्।” उक्त लेखमा दाहाल महोदयले यो ननिस्कनुमा पारसमणि प्रधानको हात रहेको इङ्गित गरेका छन् जस्को खण्डन प्राध्यापक दिवाकर प्रधानले समकालीन साहित्य, पूर्णाङ्क २६, साउन-भदौ-असोज २०५३को अङ्कमा गर्नुभएको छ ।
गुमानसिंह चामलिङ्गले ‘दार्जिलिङे कथा-साहित्यको पहिलो डेढ-दशक’-मा दार्जीलिङको कथा लेखनको सुरुवाति दिनहरूको विश्लेषण गरेको पाउँछौँ । विशेष गरी रूपनारायण सिंहको कथाकारिताको इतिहास बारेमा उनी लेख्छन्,”‘खोजी’-को पहिलो अङ्कमै त्यसका सम्पादक रूपनारायण सिंहको कथा ‘धनमतीको सिनमा स्वप्न’-को पहिलो अङ्क र दोस्रो अङ्कमा त्यसको दोस्रो अंश प्रकाशित भयो तर सो कथा पूरा नभई उनकै अर्को कथा ‘ मिस्टर एच. बि. ब्यास्नेट, ए.यस.यस. आई. (लन्डन)’ चाहिँ तेस्रो अङ्कमा पूरै प्रकाशित भएपछि आठ अङ्कपछि मात्रै दशौँ अङ्कमा ‘धनमतीको सिनेमा स्वप्न’-को बाकीँ अङ्क प्रकाशित भई कथा पूरा भयो । यसउसले यताबाट सर्वप्रथम प्रकाशित आधुनिक कथाको नामोच्चरण गर्नुपर्दा ‘ मिस्टर एच. बि. ब्यास्नेट, ए.यस.यस. आई. (लन्डन)’-कै गरिनुपर्ला ।”
‘कथाकुसुम’पछि निस्केका प्रायः सबै नेपाल र भारतबाट निस्केको कथासङ्ग्रहहरूमा रूपनारायाण सिंहको कथाहरू समविष्ट छ । ‘साझा कथा’मा उनको ‘बितेका कुरा’ कथा समावेश गरिएको छ । ‘साझा कथा’को भूमिकामा सम्पादक भैरव अर्याल लेख्छन्” ‘भ्रमर’जस्तो उपन्यास लिएर प्रवासबाट टल्किनुभएका रूपनारायण सिंहज्यूले थोरै नै भए पनि सुन्दर कथाहरू नेपाली साहित्य भण्डारमा थपिदिनुभएको छ । उहाँका कथामा प्रायः प्रवासी नेपाली जीवन व्यक्त गरिएको पाइनु स्वाभाविक हो । रतिरागात्मक आकर्षण-विकर्षणमा नै सिंहज्यूका अघिकांश कथा आधारित देखिन्छन् । संवादको तार्किक चित्रणको स्वाभाविकता र शैलीको लालित्य सिंहज्यूका विशेषता हुन् । प्रायः दार्जीलिङ र कलकत्ता बस्नुभए पनि उहाँको भाषा काठमाडौँमा बोलिनेजस्तो पाइनु उहाँको अर्को विशेषता हो ।”
रूपनारायण सिंहको सबैभन्दा बलियो पक्ष भनेकै उनको भाषाशैली हो । घर र कामकाजमा अङ्ग्रेजी भाषाको प्रयोग गरे पनि लेखनमा त्यस्को लेस पनि पाउँदैनौँ । उनी कथाका आधुनिक प्रयोगसित पूर्णरूपमा परिचित भएकाले उनका कथाहरूमा नवीन शैली प्रयोग गरेको पाउँछौँ । कथा ‘पुष्पराग’-मा आलङ्कारिक भाषाको प्रयोग गरेका छन् रूपनारायण सिंहले । अभिव्यञ्जनालाई हृदयस्पर्शी र मनोहारी बनाउने उपक्रममा रूपनारायाण सिंहले आलङ्कारिक भाषाको प्रयोग गरेका छन् ‘पुष्पराग’कथामा । भाषा-प्रयोगको दृष्टान्त यस्तो छ- “पोखराजका पिता पुष्पजीवी । पिल्पिलाउँदो पिलन्धरे । पुँवाले पगरी, पछ्यौरा र पटुका त्यसका परापूर्वदेखिको पहिरन् ।”
भाषा शिल्पी राजनारायण प्रधानको आफ्नै शैली जादुमय छ । उनले रूपनारायण सिंहको भाषामाथि टिप्पणी गर्दै लेख्छन् ‘केही कृति, केही स्मृतिमा,” ‘भ्रमर’-को भाषा सुश्री र सुषमित छ । नेपली उपन्यासमा उनको भाषाशैलीको विशिष्ट व्यक्तित्व छ र यस्तो छिटो, छरितो, छमकट्ट भाषा उपन्यासको विषयानुकूल पनि छ । साना-साना वाक्य, प्रायः सरल वाक्यमात्र, संस्कृतका शब्दहरूको सुरुचिपूर्ण प्रयोग, ठाउँ-ठाउँमा आलङ्कारिक प्रयोग, कतै-कतै बङ्ग्लामा जस्तो नचाहिँदा क्रियाको बहिष्कार सबै मिलेर रूपनारायणको लेखनशैली जन्मन्छ।”
उपन्यास कलामा रूपनारायण सिंहलाई अद्भूत मानिन्छ । प्रबुद्ध लेखक वासुदेव त्रिपाठी लेख्छन् ” ‘भ्रमर’ उपन्यास- शिल्पको प्रथम सफल अनुष्ठान हो र सामान्यतः अजेय पनि तथा ‘भ्रमर’ उपन्यास-कलाको दृष्टिले सर्वागपूर्ण सिद्धि हो ”
रूपनारायण सिंहको सम्पूर्णतालाई लेखक शरद् छेत्रीले ‘किरण’ पत्रिकाको वर्ष १४, अङ्क ४ अप्रेल १९९२मा प्रकाशित ‘बितेको कुरा’- हाम्रो साहित्यको एक उत्कृष्ट लघु कथा’ नामक लेखमा व्याख्या गरेका छन्,” स्व. रूपनारायण सिंहले थोरै (गद्य अनि दुई एक पद्य) लेख्नुभयो तर जति तिनका कलमद्वारा लेखिए सबै नै महत्त्वपूर्ण बुझिन्छन् । उहाँको सर्वप्रथम कथा ‘अन्नपूर्ण‘ सन् १९२७ को देहरादुनबाट निस्कने ‘गोर्खा संसार‘ (सम्पादन – ठाकुर चन्दनसिंह) मा प्रकाशित छ । त्यसरी ‘अन्नपूर्ण‘ कथाबाट आफ्नो कथा यात्रा सुरु गर्नुभएको रूपनारायणज्यू सन् १९३६ मा ‘भ्रमर’ नामक उपन्यास प्रकाशित गरेपछि विशेष प्रशसित हुनुभयो । ‘भ्रमर’-को स्वच्छन्दतावादी लेखनले धेरै पछिसम्म पनि पाठकवर्गलाई प्रभावित पारेको बुझिनेछ । त्यसपछि सन् १९५० मा तिनका नौवटा लघु कथाहरूको सङ्कलन ‘कथा नवरत्न’ प्रकाशित भयो । ‘आमा'( गोर्खा, स्वंतत्रता अङ्क, १९४८) ‘धनमतीको सिनेमा स्वप्न’, ‘बिग्रेको बाहुन’ ( साहित्य स्रोत, वर्ष ३, अङ्क-२ २००६), ‘पुष्पराग'( शारदा-वर्ष १४, अङ्क ६०३, २००५), ‘विध्वस्त जीवन’, ‘जिम्मावारी कसको?’ ( भारती, वर्ष १, संख्या ७, १९४६) मिस्टर एच० बि० ब्यास्नेट’, ‘हत्याकारिणी’, ‘ बितेको कुरा’(गोर्खा, पुजा अङ्क १९४८) जस्ता विविध विषयहरूमा लेखिएका कथाहरूसहित ‘बितेका कुरा’ जस्तो बेग्लै प्रकारमा लेखिएको कथा यस सङ्कलन ‘कथा नवरत्न‘ अन्तर्गत समावेश गरिएको छ ।”
निबन्धमा पनि उनको कलम चलेको पाउँछौँ । विषयहरू समसामायिक छन् तिनीहरूको । उनको पाँच निबन्ध यस प्रकारको छन् :
(१) ‘उपन्यास र गल्पको साहित्यिक निमार्णमा उपयोगिता’ (सन्
नेपाली साहित्य सम्मेलन पत्रिकामा प्रकाशित)
(२) ‘जातीय जीवनमा साहित्यको स्थान’
( नेपाली साहित्य सम्मेलन पत्रिकामा)
(३) ‘हामी औ हाम्रो भाषा’ (नेपाली साहित्य
सम्मेलन पत्रिकामा)
४) ‘थुनुवा कवि’ (भानुभक्त स्मारक ग्रन्थ)
(६) ‘लेफ्टेनेन्ट गोवर्धन गुरूङ’ (सर्दार बहादुर ए.डी. सी.बङ्गाल
लाठ) ( नेपाली साहित्य सम्मेलन पत्रिकामा प्रकाशित)
कविता चाहिँ निकै कम लेखे उनले । जम्मा तीन वा चार कविता प्रकाशित भएको पाउँछौँ । ‘त्यो दीन असहाय’, ‘दारिद्र्यको सराप’, ‘शान्ता’ आदि कविता ‘भारती’मा प्रकाशित गरेको पाउँछौँ । ‘दारिद्र्यको सरापमा’ उनले यस्तो भावना व्यक्त गर्छन्-
दारिद्र्यको सराप-
बूढो मामे उभिरहेथ्यो
राजपथमा, गर्दै हाय, हतास!
थिए अट्टालिका ठूला ठूलामा
धनी वैभवशाली नर – नारी
भूत्लावाल वस्त्रले देह सिँगारी-
न्यानो पार्ने, हिउँद टार्ने-
गर्थे भोग-विलास
माग्यो त्यस अर्थ, ककिञ्चनले’
भोको छु, गरीब पर्वर ।
रिसले चूर भै, भने धनीहरूले
जा ! जा ! कुकुर- पर गई मर !
सन् १९३१ देखि वकालतमा लागे, सन् १९३३ देखि पूर्णरूपमा एक्लै वहस गर्ने वकिल बनेँ, दार्जीलिङ नगरपालिकाको कमिसिनर बने, सामाजिक सेवा गरे, नेपाली साहित्य सम्मेलन र गोर्खा दुःख निवारक सम्मेलनलाई सहयोग गरे । गोर्खालिगका डम्बरसिंह गुरुडसँग चुनाव हारे तर यो हारले उनको जाति प्रतिको मोहभङ्ग गरेन । सन् १९५५ मा ५१ वर्षको उमेरमा देहत्याग गर्नुहुने रूपनारायण सिंहले नेपाली साहित्यलाई थोरै उमेरमा धेरै धनी बनाएर गएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।