
गीत सङ्गीतको इतिहास लेख्न कठिन छ । मानव सृष्टिदेखि नै मान्छेले कुनै न कुनै रूपमा गीत गाइरहेको हुन्छ, गुनगुनाई रहेको हुन्छ । यति फरक छ ती आदिम गीतहरूमा ती गीतहरू प्रकृतिको सम्मोहनमा परेर गाएको हुन्थ्यो भने अहिलेका गीतमा मान्छेको पिर-व्यथा, मिलन-बिछोड, राग-अनुराग आदिको बाहुल्य हुन्छ ।
आधुनिक नेपाली गीति इतिहास त्यति पुरानो नभए पनि कथ्यमा आधारित लोक गीत निक्कै पुरानो हो । नेपाली भाषाको गीत भन्दा नेपालको अन्य भाषा जस्तै नेवारी(नेपाल) भाषा, मैथिलीको गीति इतिहास लामो छ । नेपाली आधुनिक गीत लेखनको समयलाई पर्यालोकन गर्दा मोतीराम भट्टबाट गीत र गजल सुरु भएको पाइन्छ । रेकर्डिङ र प्रसारणका हिसाबले भने सेतुरामको रेकर्ड भएको भजन ‘राम प्यारा छन्’ (वि.सं.१९६५) लाई नै आधुनिक नेपाली गीतको प्रसारणमा आरम्भ विन्दु मानिएको छ ।
भारतमा भने हाजिरमान राईको मिठा मिठा नेपाली गीत (सन् १९००)लाई मानिए पनि ती गीतहरू रेकर्डिङ भयो भएन मलाई थाहा हुन सकेन। गीतले जबसम्म स्वर र सङ्गीत पाउँदैन गीत कविताको एउटा रूपमा स्थापित हुन्छ र यसलाई विभिन्न चरणमा विभिन्न नाम र उपनापले सम्बोधन गरेको पाउन सकिन्छ। यदि रेकर्डिङ नभएको इतिहास हेर्ने हो भने लहरी, सवाई निक्कै पुरानो गीति विधा हो । भारतमा नै जन्मेको गीतकारको गीत रेकर्डिङ भएको इतिहास हेर्ने हो भने मास्टर मित्रसेन थापा माथि विद्यावारिधि गर्ने डा. खगेन शर्माअनुसार सन् १९३६ देखि उनको गीतहरू रेकर्डिङ भएको पाउँछौँ। नेपालको ऊस्ताद साहिँला र रत्नदास प्रकाश मित्रसेनको समकालीन हुन्। मलेवा देवीले भने सन् १९२८ मा नै कलकत्ताबाट गीत रेकड गरिसकेकी थिइन्।
सन् साठीको दशकमा आइपुग्दा नेपाल र भारत दुवै तर्फ राम्रा गीतकारहरूको उदय भइसकेको थियो। किरण खरेल, चेतन कार्की, रत्न शमशेर थापा नेपालबाट चम्किरहेका थिए भने भारतबाट अम्बर गुरुङ, हरिभक्त कटुवाल, गोपाल योञ्जन, शरण प्रधानले बर्चस्व कायम गरेको थिए। यो कालखण्डलाई नेपाली सुगम सङ्गीतको स्वर्णिम युग भन्न सकिन्छ।
गीतकारहरूको उदयसँगै उत्कृष्ट गायक-गायिका र सङ्गीतकारहरूले पनि नेपाली सङ्गीतमा प्रवेश पाए। यसको कुनै अरू लेखमा छुट्टै चर्चा गरौँला। भारतीय नेपाली गीत सङ्गीतले पनि सन् साठी कै दशकमा अलगै पहिचान बनाउन सफल हुन्छ । सय वर्ष भन्दा बढी गीत लेखनको इतिहास भारतमा छ र यसलाई संस्थागत रूपमा दस्ताबेजीकरण गर्नु पर्ने बहस समय समयमा नचलेको होइन । तर यो कार्य भने दुई वर्षअगाडि मात्र सुरु भयो भारतीय नेपाली गीतकार सङ्घको स्थापना भएपछि ।
‘भारतीय नेपाली गीत सञ्चयन’- पुस्तकमा सङ्घ अध्यक्ष अजित बस्नेत लेख्छन्, ”गीतमा भाव र भाषाबारे कुरा उठ्दा साहित्यका कुरामा गीतबारे पनि प्रसङ्ग उठ्दा, ९० को दशकमा उत्तर बङ्गाल विश्वविद्यालयका डा० घनश्याम नेपाल भाषा शुद्धाशुद्धिमाथि चर्चा हुँदा नेपाली गीतहरू स्तरीय हुँदै आएका छन् तर गाउँदा मिलाउनुपर्ने हुनाले व्याकरणमाथि ध्यान नदिएको कुरा पनि सुनिएको हुनाले, ‘सर! साहित्यका विभिन्न विधामा आलोचना- प्रत्यालोचना हुँदा गीतमाथि पनि यस्तो अभियानको आवश्यकता देखिन्छ, तपाईंको के मत छ?’ भन्दा उहाँले, ‘गीतकारहरू मिलेर एउटा अर्गनाइजेशन तयार गर्नुहोस् न, हाम्रो सहयोग पुग्छ भने म पनि समर्थन गर्छु ।’
यति कुरा त भयो तर यो कुरा, ‘कुरै’मा रह्यो अर्थात् केही हुन सकेन । कालान्तरमा लोकप्रिय गीतकार पुरण गिरीले प्रसिद्ध कवि दलसिंह ‘अकेला’ सित यो कुरा राख्नु भएपछि केही गीतकारहरूसित कुरा राख्ने क्रमको परिणामस्वरूप १८ फरवरी २०२१ को दिन गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङमा आदरणीय गीतकार श्रीमती चन्द्रमीत लक्समको सभापतित्वमा भारतीय गीतकार वा शब्दकार, भारतीय गोर्खा नेपाली गीतकार आदि विषयमा छलफल भएपछि अन्तमा भारतीय संविधानद्वारा मान्यताप्राप्त नेपाली शब्दकै प्रयोग गर्दै भारतीय नेपाली गीतकार सङ्घको नामकरण गरियो ।”
छोटो इतिहास बोकेको यो सङ्घले दुई वर्षमा नै १६९ गीतकारहरूको गीतहरू सङ्ग्रह गरी प्रकाशित गर्नु आफैमा एउटा इतिहास हो। दशकाैँ देखि गुनगुनाई रहेको गीतहरूको शब्दहरू पढ्न पाँउदा खुसी नहुनेको होला। यो सङ्ग्रहका धेरै गीतहरू नेपाल र भारत दुवै तर्फ उत्तिकै चर्चित छन् चाहे त्यो हरिभक्तको होस् या नरदेन रूम्बाको । गीतहरू लिपिबद्ध नभएर जनमानसमा आउँदा केही गीतकार मर्कामा परेका छन्। मूल गीतकारको नाममा अर्कै गीतकारको नाम परेकामा ईश्वर वल्लभ निकै पीडित भएका थिए । उनको गीत “सारा दिन अरूलाई बाँडे” धेरै वर्षसम्म गोपाल योञ्जनको नाममा बजिरह्यो । यो गीत उनले दार्जिलिङको मुनिसिपल स्कुलमा सरदारी काम गर्दा लेखेका थिए । यो गीत लेखिरहँदाको प्रसङ्ग इन्द्रबहादुर राईले सगरमाथा एफएममा अन्तर्वार्ता दिँदा प्रकाश सायमीलाई भने पछि यो रेडियो नेपालले सच्चाएको हो ।
भारतीय नेपाली गीत सञ्चयनले भारतीय गीतकारहरूलाई छुट्टै अस्तित्वबाेध गराएको छ । यो भागिरथ प्रयासमा अजित बस्नेत, पुरण गिरी, दलसिंह अकेलाको पूर्ण सहयोग पाउनु भएका छन् यसको सम्पादक कमल रेग्मीले । धेरै हराइसकेको गीतहरूलाई खोज्नु, उनीहरूको बारेमा लेख्नु एउटा ठुलो चुनौती पूर्ण काम हो । तर यस्तो कार्यलाई सहजताको साथ स्वीकार गरी जनसमक्ष ल्याउन सक्नु कमलको सम्पादकीय कुशलता हो । त्यति मात्र होइन भारत बसाइँमा नेपाली गीतकारहरूले लेखेको गीतहरूलाई प्रविष्ट गर्नु उनको महानता हो । नेपाली गीतहरू स्तर खस्किँदै गइरहेकाे गुनासो आइरहेको बेला युवा पुस्ताले अघिल्लो पुस्ताले लेखेको गीतलाई हेरेर आफूलाई मूल्याङ्कन गर्न पाउने यो ठुलो अवसर हो।
गीत कसरी लेखिनु पर्छ भन्ने पुस्तक प्रकाशनमा आउनुअगाडि नै शरण, गोपाल, अम्बर, दिव्य, नोरदेनले लेखेको गीतहरूले नयाँ पुस्तालाई पक्कै पनि सकारात्मक प्रेरणा दिन्छ । असारे महिनामा- यो गीतको गीतकार धेरैलाई थाहा थिएन तर तुलसी गजमेर हो भनेर यो पुस्तकमा लेखी दिएपछि अब कसैले बिर्सिंदैन उनलाई । यस्ता धेरै कालजयी गीतहरू समावेश छ यहाँ ।
यस पुस्तकका सम्पादकको पनि कुरा सुनौँ ।
उनी लेख्छन्, “गीत मूलतः शृङ्गार रसप्रधान विधा हो। तर समय, वातावरण र परिस्थितिसित विकसित र परिमार्जित हुँदै गएको गीत लेखनको पृष्ठभूमि र विषयवस्तु पनि फराकिलो बन्दै गयो। विभिन्न विषयवस्तु टिपेर गीतले व्यापकता अँगाल्यो।
फलस्वरूप नेपाली गीत साहित्यका अन्य विधासरह उन्नतशील बन्दै गइरहेछ । स्वातन्त्र्योत्तर नेपाली गीतहरूका अध्ययन गर्दा जातीयता, आध्यात्मिकता, राष्ट्रिय चेत, सामाजिक जागरणको सन्देश, देशभक्ति, नैतिकता, नैराश्य, प्रेमपीडा, अनुराग, मानवता, जीवन दर्शन, मानव संवेदन, लोकतत्त्व, कुण्ठा, वेदना, आक्रोश, आञ्चलिकता, विश्वप्रेम, प्रकृतिप्रेम, सांस्कृतिक चेतना, गौरवगान, राजनैतिक-सामाजिक विच्युति र विसङ्गतिप्रति तीखो व्यङ्ग्य, सौन्दर्यचेत, जीवनका विविध दृष्टिकोण, पर्यावरण, मानवमूल्य, जीवन र जगत्का यावत् भोगाइहरू, यथार्थता, विद्रोह, सांस्कृतिक मूल्य र मान्यताका कुराहरू, जीवन भोगाइका विभिन्न तह आदिजस्ता कुराहरू स्पष्ट रूपमा पाइन्छन् ।
गीत लेखनका यस क्रममा नेपाली गीतले नयाँ र विविध भाव, शैली, धारा, उपधारासँग प्रस्तुतिको नौलोपन, प्रतीक बिम्बहरूका समायोजन, भाषिक सरलता, सरसता र सुललितता, शब्दहरूका मितव्ययिता आदि कायम गर्दै आजका मोडसम्म आइपुगेको छ । यद्यपि नेपाली गीत विधाले नेपाली साहित्यका मूल धारामा प्रवाहित हुनका निम्ति सङ्घर्षरत रहनुपरेको यथार्थ साहित्येतिहासबाट ओझेल छैन । उपसंहारमा भन्नुपर्दा, एक शताब्दीभन्दा पुरानो भारतीय नेपाली गीतमाथिको मूल्याङ्कन भने अपेक्षित रूपमा भएको पाइँदैन । “
अभावलाई पूर्ति गर्नु साहित्यकारहरूको धर्म हो र यो धर्म पालन गरेको छ कमल रेग्मीले। यो पुस्तकमा खोट लगाउनु पर्ने ठाउँ कमै छ किनकि यसले पुरानो पुस्ताको मित्रसेनदेखि नयाँ पुस्ताका मोजेस त्रीखत्री अटेका छन्। अनि देवराली रुन्छ नाटकको मनबहादुर मुखियादेखि त्यही नाटकको अभिनेत्री मेनुका प्रधान अटेकी छिन्। पुरानामा चन्द्रमित लख्सम छिन् भने नयाँमा योगिता राई पनि छिन्। जातीय कवि अगमसिंह गिरीले पनि स्थान पाउनु भएको छ भने युगकवि श्री वीरेन्द्रले पनि । भूतपूर्व मुख्यमन्त्री पावन चामलिङ्ग देखि भूतपूर्व विधायक देवप्रकाश राई पनि अटाएको छ । नेपालमा नै जन्मेर दार्जिलिङमा दिक्षित भएका ईश्वर वल्लभ र वैरागी काइँला पनि छुटेका छैनन् तर छुटेछन् नगेन्द्र थापा जसको कालजयी गीतहरू दार्जिलिङमा नै सृजना भएको थियो।
= = =
अबको पालो केही सुझावहरूको :
१. गीतसँगै मूल गायक, सङ्गीतकारको नाम समावेश गर्नु पर्छ ।
२. गीत समावेश भएको सिनेमा वा नाटकको नाम दिए राम्रो हुने थियो।
३. सकेसम्म मूल गीत प्रकाशित गर्ने । जस्तै मनबहादुर मुखिया र नरदेन रूम्बाको गीतहरू रेडियो नेपालमा निक्कै सेन्सर भएको छ जसले त्यस गीतको मर्म मरेको छ ।
४. केही राम्रा गीतकारहरू छुटेका छन् जस्तै धनञ्जय थापा(उनले दार्जिलिङमा बसेर गीत लेख्ने र सङ्गीत दिने काम गरे), जगत छेत्री, वीरविक्रम गुरुङ, गोविन्द प्रधान, चन्द्र किरण छेत्री, दीप वाइबा, प्रेम कुमार छेत्री, पुरूषोत्तम प्रधान, एड्रिन प्रधान, फरिरोज स्याङ्देन। यिनीहरू सबैको गीत रेकडिङ भएको छ ।
दोस्रो खण्ड त पक्कै निस्केला । दोस्रो खण्ड अथवा दोस्रो संस्करण निस्किँदा सामान्य सुधार आउने विश्वास लिएको छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

