म कोकुसाई सडकको पेटीमा हिँड्दै थिएँ, सङ्गीतको एक चीरपरिचित धुनले मेरो ध्यान तान्यो ।  जब मैले मधुरो प्रकाश भित्रबाट आइरहेको आवाजलाई नियालेर सुनेँ थाहा पाएँ यो त बीटल्सको प्रसिद्ध गीत हो, Give Peace a Chance. पो रहेछ । वाह कति मिठो गीत !  बीटल्सका धेरै गीतहरू मध्ये यो कालजयी हो जो उनीहरूले भियतनाम युद्धको विरोधमा लेखिएको थियो । जुलाई ४ सन् १९६९मा विमोचित यो गीत अमेरीका र भियतनाम युद्धको पराकाष्टमा लेखिएर गाएको थियो ।

“Everybody’s talking about
Revolution, evolution, masturbation,
flagellation, regulation, integration,
meditations, United Nations,
Congratulations.
All we are saying is give peace a chance
All we are saying is give peace a chance.”

अँ साँञ्ची ! भियतनाम युद्धको विरोधमा लेखिएको भए पनि दोस्रो विश्वयुद्धताका दुई लाखभन्दा बढी अमेरिकी र जापानी लडाकुहरूका साथै स्थानीय नागरिकहरूले ज्यान गुमाएका ठाँउ भएकोले पनि शान्तिको मौका दिऊँ भन्ने भावमा लेखिएको यो गीत जापानको ओकिनावाको निम्ति उपयुक्त थियो ।  सन् १९५१मा सान फ्रान्सिस्को शान्ति सन्धि अन्तर्गत, ओकिनावा प्रान्तलाई अमेरिकी सरकारको नियन्त्रणमा राखिएको थियो, जुन २७ वर्ष पछि १९७२ मा जापानमा फिर्ता गरियो ।

यायावर भएर यो सहर घुमिरहेको बेला एउट पवभित्र यसो चिहाएर हेरेको मात्र के थिएँ एउटी जापानी युवतीले मलाई “इराशाइमासे !” भनेर स्वागत गरे । त्यो सहरमा मेरो पहिलो रात भएकोले म झट्टै भित्र पस्न हिचकिचाएँ र बाहिर निस्किएर कोकुसाई सडकबाट तल डुल्ने योजनालाई नै रोजेँ । नाहा सहरको मुख्य सडकमा भएकोले कोकुसाई सडकमा ठूलो सङ्ख्यामा सहरवासी र त्यहाँ आउने पर्यटक आउँदो रहेछ । सुन्दर तिरकाले अस्थायी बनाएको बजारमा सामानहरू सस्तो मूल्यमा पाउने गरेकोले पनि यो बजारमा निक्कै भीडभाड देखिन्थियो । पानी पर्दा पनि मज्जाले घुम्न सक्ने त्यो बजार रमाइलो थियो ।

शरद् प्रधान

दोस्रो विश्वयुद्धपछि दलदली क्षेत्रमा स्थापित यो सहर दोस्रो युद्धपछिको द्रुत गतिमा विकसित भएकोले यसलाई पुनर्निर्माणको प्रतीक मानिन्छ । “मिरेकल माइल”को रूप परिचित यो सडकमा उपहार पसलहरू, गहना पसलहरू, बुटिकहरू र रेस्टुरेन्टहरू  व्यवस्थितरूपमा सजिएर राखिएको छ । पुनः “इराशाइमासे!” सुनेर म पछि फर्केर हेर्दा त्यँहा  एक जापानी  युवती मुस्कुराउँदै मलाई एउटा रेस्टुरेन्टमा पस्ने इशारा गरिरहेको देखेँ ।  कल्पना गरेको भन्दा बढी यो शब्द सुन्दा तपाईलाई अचम्ब लाग्छ होला । सुन्दर मुस्कान सहितको “इराशाइमासे!” सुन्न तपाईंले पसल वा रेस्टुरेन्टमा खुट्टा टेक्नु पर्दैन। कोकुसाई डोरी(सडक)का व्यापारीहरूले गरिने यो अभिवादन स्वभाविक  थियो र यो जापानी सभ्यताको एउटा अङ्गको रूपमा पाएँ । पैदल यात्रीहरूलाई अभिवादन गर्न प्रवेशद्वारहरू वा लगभग सबै पर्यटक पसलहरूको फुटपाथहरूमा पनि जीवन्त अनुहारहरू लिएर युवाहरू “इराशाइमासे!” को अभिवादन गरेको देख्छौँ । पर्यटकहरूलाई किनमेलको लागि उनीहरूको पसलमा आउन  लोभ्याउने यो एउटा तरिका पनि रहेछ । यो ओकिनावाले प्रदान गरिने विशिष्ट हावाइयन-जापानी  शैलीको अतिथि सत्कार हो । यहाँका मानिस अत्यन्त विनम्र र शालीन,  छलकपटबाट निकै टाडा हुन्छन् ।

ओकिनावामा पुग्न जापानका अन्य भागहरू भन्दा धेरै गाह्रो र महँगो छ । क्युस्यु र ताइवानको बीचमा अवस्थित, ताइपेई, सांघाई, हङकङ, सियोल, मनिला र टोकियोजस्ता प्रमुख एसियाली सहरहरू ओकिनावाको १,५०० किलोमिटरको दायरा भित्र छन् । ओसाका हुँदै काठमाडौँदेखि ओकिनावासम्मको यात्रा एकदमै थकाइलाग्दो र लामो थियो, किनकि यो जापानको दक्षिणपश्चिमी प्रान्त हो, जसमा ५० बसोबास गर्ने  र ११० बस्ती नभएको  टापुहरू छन् जुन १,००० पूर्वदेखि पश्चिम र ४०० किलोमिटर उत्तरदेखि दक्षिणसम्म फैलिएको छ । ओसाकादेखि ओकिनावासम्मको साढे दुई घण्टाको उडान पछि, हामीले आफूलाई कोकुसाई होटलमा भेट्टायौँ । बजेट एरयलाइन्समा उडान गरेकोले पानी सम्म दिएनन् त्यत्रो लामो यात्रामा । प्रसिद्ध कोकुसाई डोरी (कोकुसाई सडक, जसलाई “अन्तर्राष्ट्रिय सडक” पनि भनिन्छ) को नाममा राखिएको यो होटेल, कोकुसाई सहरको सबैभन्दा व्यस्त बजेट होटलहरू मध्ये एक हो । अन्य एसियाली सहरहरूमा जस्तै ओकिनावाले हामीलाई विभिन्न प्रकारका व्यञ्जनहरूद्वारा स्वागत गर्‍यो जुन म शाकाहारी  खान सकिनँ । तर, होटल समिटका प्रबन्ध निर्देशक रोबिन मार्स्टनले आफूसँग भएको सबै थोक खाए किनभने उनी विगत ४० वर्षदेखि दक्षिण पूर्व र पूर्वी एसियामा घुम्दै-बस्दै आएका हुन् । चपस्टिक वा काटाको साथमा समुद्री खाना खाँदा उसलाई साँच्चै आनन्द लाग्यो। बेलायती नागरिक रोबिन नेपाल बसेको पनि पाँच दशक बढी भइसक्यो । हामीसँगै थिइन् द्वारिका होटेलका मालिक अम्बिका श्रेष्ठ । नागो सहरको बुसेना टेरेसबीच रिसोर्टमा भएको स्कल एसियन एरिया एसेम्ब्लीमा भाग लिनु अघि हामीसँग थप एक दिन भएकोले, हामीले ओकिनावाको नाहा सहरमा बस्नको लागि रोज्यौँ । मसँग कोकुसाई डोरीको एक माइल लामो सडक माथि र तल अनन्त रूपमा हिँडेको धेरै मनमोहक सम्झनाहरू छन् । सहर जीवन्त हुनलाई त्यहाँको मानिसको व्यवहारले ठूलो भूमिका खेल्छ र यो कोटीमा यो सहर पनि पर्छ । किनमेलको लागि यो सहर निक्कै उपयुक्त रहेछ किनभने यो अरू जापानी सहरभन्दा सस्तो छ र अरू ठाँउभन्दा यहाँ अंग्रेजी भाषामा कुरा गर्न निक्कै सहज छ । यो सहर अमेरेकी उपनिवेशको रूपमा लामो समयसम्म रहेकोसले यो भाषामा सहजता आएको होला ।

भोलिदेखि समुद्री किनारमा रमाइलो गर्ने मौका नपाउने भयो, भन्ने सोचेर अम्बिका श्रेष्ठले रविनलाई ट्रपिकल बिच घुम्न जानका आग्रह गरे। वेलायती नागरिक भएकोले रोबिनलाई कार भाडा लिन सजिलो भयो । हामी समुद्र तटतिर घुम्न निस्कियौँ । समुद्रमा आएको ज्वारभाटाका छालहरूले ढुङ्गाहरूलाई छुन खोजेको उत्कृष्ट सौन्दर्यको आनन्द लियौँ हामीले । मैले यस्तो कञ्चन पानीको समुद्र कमै देखेको छु ।

नाहा सहरमा दुई रात बिताएपछि हामी कार्यक्रमको मुख्य थलो बुसेना टेरेस रिसोर्टमा गयौँ रोबिनले भाडामा लिएको कारमा । त्यहाँ पुग्न हामीलाई करिब डेढ घण्टाभन्दा बढी समय लागेको थियो । सुन्दरको तटै तट भएर गरेको यो यात्रा निकै यादगार र रोमाञ्चक यात्रा थियो। बाटोमा हामीले KFC रेस्टुरान्टमा खाना खायौँ अम्बिका म्याडमको रोजाइमा । अम्बिका म्याडम र उहाँको श्रीमान् द्वारिकादास श्रेष्ट जापान घुम्न आउँदा द्वारिकादास श्रेष्टलाई मनपर्ने  रेस्ट्रुरान्ट हो भनेर त्यही खाना खाने अनुरोध गर्नु भयो । कुनै समय उहाँहरूको ट्राभल एजेन्सी थियो जापानमा । हामीलाई कुन होटेलमा बस्ने भनेर सोधिएको थियो नेपालमा नै । हामीले नअन्कनाई बुसेना टेरेस रिसोर्ट रोज्यौँ । आयोजक क्लब ओकिनावाको स्कल क्लबले बुसेना टेरेस रिसोर्टमा आयोजना भएको सभालाई भव्य प्रबन्ध गरेको थियो — यो त्यही होटेल हो जहाँ अमेरिकी तत्कालीन राष्ट्रपति बिल क्लिन्टन र रुसी राष्ट्रपति भ्लादमिर पुटिन, र अन्य राष्ट्र प्रमुखहरू G8को सम्मेलनमा जुलाई २००० मा आयोजना भएको थियो। अनि हाम्रो कार्यक्रम चाहिँ २००१को मे अन्त तिर । होटेलमा G8 सम्मेलनमा आएका अतिथिहरूको तस्विरहरू झुन्डाइको थियो सम्मलेन हलमा जो समुद्रको किनारामा थियो । ओकिनावाको उत्तरी सबैभन्दा सुन्दर ठाउँहरू मध्येमा अवस्थित बुसेना टेरेस रिसोटले समुद्र तटमा खुला-वातावरणलाई चुमेको जस्तो देखिन्थियो । रिसोट निकै ठुलो भएकोले एक ठाँउबाट अर्को ठाँउ जान सानो गाडी र बसको व्यवस्था गरेको थियो । रिसोट भित्रै गल्फ कोर्स बाहेक निजि समुद्र मुनिको जीबजन्तु र माछा हेर्ने अबज्बेटरी, बिज भलिबल खेल्ने ठाँउ पनि थियो । हजार यान तिरेर म पनि म पनि हेर्न गए ।

कहिलेकाहीँ हल्का वर्षा भए तापनि ओकिनावा उत्कृष्ट देखिन्थ्यो सापेक्षति आर्द्रता( Humidity) र मौसमको हिसाबले । यस्तो वातावरणले सबै चीज ताजा र हरियो बनाएको थियो त्यो ठाँउको । सम्मेलनको कार्यमा आउनु अघि, स्केललीगहरूलाई ककटेल समारोहमा स्वागत गरिएको थियो र रमाईलो रूपमा जापानी ड्रमद्वारा मनोरञ्जन गरिएको थियो आगुन्तकहरूलाई। ठूला जापानी ड्रमहरू बजाउन र सही लय कायम राख्न, हेर्दा जति सजिलो थियो बजाउनु त्यति नै गाह्रो । तर ओकिनावा युथ ड्रम एण्ड डान्स कोर्प्सले उत्कृष्ट प्रदर्शन गरे। तीन दिनको कार्यक्रम रमाइलो गरेर समाप्त भयो । डल्फिनको जादुई प्रदर्शन हेर्दा साँच्चै रमाइलो लाग्यो। उक्त सम्मेलनले सन् २००३ मा यो सम्मेलन  काठमाडौँमा गर्ने निर्णय गरे । यसले हाम्रो मिसन सफल बनाएको अनुभव गरेँ । हामीले गरेको तयारी फलीभूत भयो । सन् २००३मा काठमाडौँमा यो कार्यक्रम हुँदा एक छुद्र व्यक्तिको कारण मैले भाग लिन पाइनँ ।

अम्बिका म्याम र रोबिनलाई एयरपोर्टमा छोडेर राती बस्नका लागि मे २८ मा फेरि काकुसाई होटलमा पुगेँ । अम्बिका म्याम टोकियो तिर लागे, रोबिन ओसाका । फर्के पछि तल हिँड्दै, केही अन्तिम मिनेट किनमेल गर्दै (ओकिनावा ओसाका जत्तिकै महँगो छैन), म मेरो होटेलमा थकाई मार्न गए र ओकिनावाको बारेमा पढ्न थाले । अमेरिकी जीवनशैलीबाट प्रभावित, विशेष गरी  ओकिनावाले मुख्य भूमि जापान, ताइवान र कोरियाजस्ता ठाउँहरूबाट प्रत्येक वर्ष ठुलो सङ्ख्यामा स्वदेशी र विदेशी पर्यटकहरूलाई आकर्षित गर्दछ । समृद्ध प्राकृतिक वातावरण र छुट्टै संस्कृति भएको ओकिनावा, प्यासिफिक युद्धको समयमा स्थानीय बासिन्दाहरूलाई युद्धले घेरेको  थियो । अमेरिकी बम र आर्टिलरी फायरको  कारण, स्टिलको टाइफुन भनेर चिनिने यो लडाइँले एक समयको धनी हरियो टापुहरूलाई खरानी बनाइदिएको थियो । पुस्तौँदेखि चलिआएको  सांस्कृतिक सम्पत्तिहरू नष्ट भएर गयो। ओकिनावाका मानिसहरूले युद्धको भयावहता अनुभव गरेका थिए जस्को झिल्का अहिले पनि देख्न सकिन्छ ।

यद्यपि ओकिनावा परिवर्तनको संवाहक भए । ओकिनावाका जनताको विरोधको बाबजुद धेरै अमेरीकी सैन्य आधार सिविरहरू अमेरिकी-जापान सुरक्षा सन्धि अन्तर्गत जारी राखे।

मध्यरातमा कोठाबाट सडकमा हेरेँ, पब र बारहरू अझै पनि पाहुनाहरूको मनोरञ्जनका खुला थिए । युवाहरू ठुलो स्वरमा मोटरसाइक कुदाइरहेका थियो । केही क्षणमै पुलिस र उनीहरूबिचकाे भागदौडले सुत्न असहज भयो । तर मेरो लागि त्यो ओकिनावामा अन्तिम रात थियो । किनकि मेरो ओसाकाको उडान बिहानको समय तालिकामा थियो। निदाउनु अघि, मलाई अचानक जोन लेननको गीतका केही लाइनहरू याद आयो- कल्पना गर्नुहोस्, र म निदाउन नसकेसम्म गनगन गरें:

Imagine there’s no countries

It isn’t hard to do

Nothing to kill or die for

And no religion too

Imagine all the people

Living life in peace…

You may say I’m a dreamer

But I’m not the only one

I hope someday you’ll join us

And the world will be as one.

भोलि बिहानै होटेलबाट निस्कन मात्रै खोजेको थिए रिसेप्सबाट । त्यँहाका एक कर्मचारीले एउटा फ्याक्स थमायो । यसो हेर्दा त रोबिन पठाएको रहेछ । उनले मलाई नेपाल एयरलाईम्सको उडान रद्द भएर एक हप्ताको निम्ति ओशाका नआउने सुचनाको साथै उनी थाई एयरलान्सबाट काठमाडौँ फर्किन लागेको  बताए । त्यो पढेर म किंकर्तव्यविमूढ भएँ । तर ओसामा गएर अर्को व्यवस्था गर्न सकिन्छ भनेर विमानस्थलतिर लागेँ । ओसाका गएपछि सस्तो होटलमा दिनको ५ हजार यानमा बसेँ । होटेलको नाम  थियो किन्कि होटेल अनि काठमाडौँको ठमेलजस्तै ठाँउमा अवस्थित । सस्तो मूल्यमा टिकट काटेकोले अरू विमानबाट जान नमिल्ने र होटेलको व्यवस्था पनि नगरिदिने जानकारीले मलाई खिन्न बनायो । अब के गर्ने हो भनेर चिन्तित भएँ । ओसाका वरिपरि घुम्ने विचार त गरेँ तर आफूसँग पर्याप्त रकम नभएकोले ओशाकामा नै बस्ने निर्णय गरेँ ।

दिनभरि यताउती घुमिरहेँ । ओसाकाले ओलम्पिकको दावी गरेकोले ठुला ठुला अक्षरले ओसाका ओलम्पिक लेखेको सुन्दर फुलहरू देखिन्थे । त्यो ठाँउको जीवन गजबको थियो ।  निलो चलचित्र देखाउने ठाँउको विज्ञापन गर्न एउटा बाँसको डन्ठीमा खाजाको पोको र देखाउने चलचित्रको नाम र समय सहित युवकहरू बिहानदेखि गल्लीमा देखिन्थे । पसलहरूमा अश्लिल पत्रपत्रिका खुलेआम बेचेको देखेँ । ओकिनावामा होटलको कोठामा निलो चलचित्र निशुल्क देखाउथे भने ओसाकामा पैसा लिन्थे । सेक्स टोईहरू जताततै बिक्री हुन्थे भने समलिङ्गिको निम्ति छुट्टै पसल थियो यस्तो सामान बेच्ने । बारको अगाडितिर केटीहरू नर्स वा स्कुले पहिरनमा ग्राहक पट्टाउन व्यस्त रहन्थे । मेरो होटेलकै अगाडी यो दृश्य देख्न पाइन्थियो ।  विशेष गरेर बुढा मान्छेहरू उनीहरूको ग्राहक हुन्थे । सहरको त्यो ठाउँ घुम्न दिनमा भन्दा रातमा मज्जा आउँथ्यो । हप्तान्त मनाउन पनि त्यही सहरको मान्छे होटेलमा बस्न आएको देखेर आश्वर्य लाग्यो । चहलपहल रातभरि हुन्थ्यो । हप्तान्तमा केटा केटीहरू मातेर बिहान ३ बजे घर गएको देखेर चकित परेको थिएँ । कुनै ठाँउमा खाना खान गए ड्रम बजाएर स्वागत गर्ने उनीहरूको परम्परा निकै रोचक रहेछ । रेल स्टेशन पनि छेउमै भएकोले त्यँहा गएर दिन बिताउथेँ । कहिले जमिनमुनिको सपिङ्गमल र कहिले पुरानो बजार । चारसय यानमा दुई पिस पाउरोटी, बटर, अण्डा र एक कप कफीको ब्रेकफास्ट । निन्द्रा नपुगेका युवतीले आँखा मिच्दै ब्रेकफास्ट दिँदा जापानी जीवनको कठिनाइ पक्ष महसुस गरेँ ।

जुन २ मा काठमाडौँ फर्किन पर्ने तर जुन १को बिहानै हटमेल खोल्दा समवेदना भनेर मेरो सिङ्गापुरका साथी एलफिले पठाएको इमेल देख्दा हङ्सले ठाँउ छोड्यो । यसो हेर्दा त राजा विरेन्द्रको परिवार सखाप भएको समाचार रहेछ । एक क्षणपछि जापानी पत्रपत्रिकामा तस्बिर सहित समाचारहरू भटाभट आउन थाले । मनमा चिसो पस्यो परिवारको सुरक्षाको कुरा लिएर । त्यो ठाँउमा एक घण्टा नेट प्रयोग गरेको पाँच सय यान थियो त्यो मेरो लागि निक्कै महङ्गो थियो । होटेलको कर्मचारीलाई नेपालमा राजपरिवारको हत्या भएकोले मलाई नेट चलाई राख्नु पर्नै बाध्यता बताएँ । त्यो समयसम्म उनीहरूले पनि थाहा पाइसकेको थिए यो कुरा । मेरो विवशता देखेर मलाई दिनभरि नेट निशुल्क चलाउन दिने घोषणा गरे र त्यो व्यक्ति सिफ्ट सकेर जानु अघि नयाँलाई पनि यो कुरा भने । मैले ढुक्क भएर घरको हालचाल एक आफन्त मार्फत बुझेँ । देशको स्थिति नाजुक देखेर एक मनले जापानै पो बसौँजस्तो पनि लाग्यो तर घरै फर्किने निर्यण गरेँ । नेपाल एयरलान्सको अफिसमा फोन गरेर भोलि जहाज आउने कि नआउने बारेमा सोधपुच गरेँ । जहाज आउने जानकारी पाएपछि भोलिपल्ट बिहानै बसमा चडेर विमानस्थल गएँ । काठमाडौँमा अवतरण हुँदा त म छक्क परेँ सबैजान पुरूष कर्मचारीले केस मुडुलो पारेको देखेर । जाँदा राजा वीरेन्द्रको शासन थियो फर्किँन्दा राजाविहीन देश ।