सुरज उपाध्याय

कति रुन्छस् अब नरो भन्यो गण्डकीले
नरोएर के गरुँ त ठग्यो जिन्दगीले ।

पल्लो पाखा झिलिमिली म त सधैँ वारि
खुसीले त नेटो काट्यो गयो डाँडा पारि
घाम छोए पनि बरै जून छोए पनि
ननिख्रिने यै आँसु छ जति रोए पनि।

साँच्चै कुनै आइतबार चाहिँदैन रुन
मन दुखेसी पुग्दो रैछ पर्दैन केही हुन
उज्यालो त छर्छ मैन आफैँ जली जली
यता मन अँधेरो छ उता दीपावली।