जब तिमी रोयौ
मुस्कुराइरहेका फूलका पत्रहरूमा खसे
ती तिम्रा खुशीका आँसु थिए ।
जब तिमी रोयौनिर्जन पहराका छातीमा, टुक्रिएका मन जस्ता
टुक्रिएका चट्टानका अंशहरूमा
गुलाफका काँडाहरूमा
शुष्क नदीका डोबहरूमा खसे
ती तिम्रा दु:खका आँसु थिए।
ऐ, शिशिरका रातहरू हो!
ममाथिका श्राप तिम्रै अन्धकार पछिल्तिरबाट
अज्ञात नै वर्षीरहेछन्,
मान्छेको आभा अनुभूत गर्न नसक्ने
के दिन, के रात
अन्धकार जस्तोमा कोलाहल मच्चाउँदै बौरिएका
उन्मादी पिचासहरू माझ
अस्विकार गरेर ऊनीहरूको-
आत्महत्या प्रहसनको निम्तो
जिउनु पर्ने
जिउँदो हुनुको रस आँखाबाट झार्दै।
कंगाल उपमाले ग्रसित देशका
बाथले थलिएका सडकमा किनारिकृत
म, ध्वनिरहित चीत्कार!
तिमीहरूकै सिरेटो ओढेर
म तिमीहरूकै ती अर्थहरूमा बाँच्न खोज्दैछु
के तिमीहरू
मलाई त्यसरी नै रुन सिकाइदिन्छौ?
खै किन
आँसुका लहरहरूले पनि किनारामा मिल्क्याएको म
मेरा नुनिला आँसु त सधैँ सधैँ
आफ्नै छातीका घाऊहरूमा मात्र खस्छन्
फक्रनै नदिएर गुलाफका आकारमा
हृदयबाट बग्दै गरेका रगतलाई पनि।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।