बाबा आज मैले पनि जङ्गलमा टेकेँ
यही आँखाले पाँचओटा बाघ मैले देखेँ
भन्नुभयो बाले `बाघ देख्यौ कतिओटा
त्यो वनमा छैन बाबु बाघ त्यतिओटा´

बाको कुरा सुनेपछि कुरा मैले फेरेँ
`चारओटा हो बाघ´ भनेँ बाको मुखमा हेरेँ
`तिमी अल्लि झुक्कियौ कि गन्न भ्याएनौ कि ?´
भन्नुभयो बाले `तिमीले चस्मा लाएनौ कि ?´

`जङ्गलभित्र पस्दै थिएँ मेरो सातो लियो
म झुक्किएँ सायद बाघ तीनओटा थियो´
`किन होला बाबु तिमीले भन्न नजानेको
आँखा तिर्मिर भएरै हो गन्न नजानेको´

`किन बाबा हजुरले पार्नुहुन्छ हत्ते ?
पक्कापक्की दुइटा बाघ देखेकै हो सत्ते´
बाले कुरा थप्नुभयो `यस्तो सुन्थेँ मैले
एकै ठाउँमा दुइटा बाघ बस्दैनन् र कैले´

मैले उत्तर दिएँ फेरि `एउटा बाघ हो पक्कै´
बाका कुरा सुनेपछि आफै भएँ छक्कै
`कि त स्याल कि बिरालो देख्यौ होला बरु
त्यो वनमा बाघै छैन जान्दिनँ म अरू´

`आउनलाई त छस्य्राकछुस्रुक आवाज आ’थ्यो वनमा
बाघै होला भन्ने भयो डर लाग्यो मनमा´
यसो भन्दा बा हाँस्नु भो ढाँटे जस्तो भयो
लाजै मर्नुभयो मलाई कस्तो कस्तो भयो ।