सिलगुडी (भारत) । तकदाह, दार्जिलिङ निवासी साहित्यकार लोक थापालाई अरूगि साहित्य पुरस्कार प्रदान गरिएको छ। सिलगुडीको क्याफे द ट्विन्सको सभा कक्षमा सम्पन्न पुरस्कार अलङ्करण समारोहमा थापालाई प्रशंसापत्र, स्मृतिचिन्ह, दोसल्ला र नगदसहित सम्मान गरिएको हो।
समारोहको अध्यक्षता साहित्यकार ग्याल्पो लामाले गर्नुभएको थियो भने विश्व नेपाली साहित्य महासङ्घका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा कवि कमल भण्डारी, सल्लाहकार सुखबहादुर सुनवार, देवकोटा संघका अध्यक्ष मिलन रूचाल, प्रा.डा. नरेशचन्द्र खाती लगायत अनेकौं अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुमा दिवंगत साहित्यकारहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो। स्वागत सम्बोधन कवि सुशीला सुब्बाले गर्नुभएको थियो, जसले आफ्ना स्वर्गीय पिता पदमबहादुर सुब्बाको पुण्य स्मृतिमा यो पुरस्कार प्रायोजन गर्नुभएको हो।
थापाको साहित्यिक परिचय कवि मीना लामा राईले प्रस्तुत गर्नुभयाे भने प्रशंसापत्र कवि सरोजिनी देवानले वाचन गर्नुभएकाे थियाे । पुरस्कार साहित्यकार सुरेन्द्र लिम्बु परदेशी, सुष्मा मोक्तान, कमल भण्डारी र ग्याल्पो लामालगायत अतिथिहरूले संयुक्त रूपमा प्रदान गर्नुभएकाे थियाे ।
पुरस्कार ग्रहण गर्दै साहित्यकार थापाले अरूगि साहित्य संस्थानप्रति आभार व्यक्त गर्दै साहित्यिक योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रमुख अतिथि सुरेन्द्र लिम्बु परदेशीले नेपाली भाषीहरूबीच विश्वव्यापी भाषिक एकता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न कविहरूले कविता वाचन गरी साहित्यिक माहोल सृजना गर्नुभएकाे थियाे । अन्त्यमा सभापति ग्याल्पो लामाले सबै सहयोगी, अतिथि तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 




