रमेशचन्द्र घिमिरे

१.
अनर्थ लाइदिन्छन् पढेर कानुनका ठेली, विचार गरौँ
मै हुँ भन्नेहरू नै छन् फटाहा र झेली, विचार गरौँ
हरे शिव ! देश आफैमा असुरक्षित रहेको यो अवस्थामा
कसरी पो सुरक्षित रहलान् र छोरी–चेली, विचार गरौँ ।

२.रर
बेसुरको गीत गाउनु पर्दैन यत्तिकै ठीक छ
नक्कली माया लाउनु पर्दैन यत्तिकै ठीक छ
विपनामा दर्शन यदि मुस्किल हुन्छ भने भैगो
घरिघरि सपनामा आउनु पर्दैन यत्तिकै ठीक छ ।

३.
विदेशी जुठो थुक चाट्छन् अनि देश सिध्याउँछन्
जनतालाई नराम्ररी ढाँट्छन् अनि देश सिध्याउँछन्
देशको माया हुनुपर्ने नेतालाई हो तर यिनीहरू नै
डलरसँग राष्ट्रियता साट्छन् अनि देश सिध्याउँछन् ।

.४.
पहरेदार नै मस्त सुतेपछि के अर्थ रह्यो र ?
सुरक्षा दिनेले नै लुटेपछि के अर्थ रह्यो र ?
बोल्नका लागि आँ गरेर के मुख खोलेको थिएँ
विडम्बना, जिब्रो नै थुतेपछि के अर्थ रह्यो र ?

५.
बिस्तारै आफूतिर तान्छ, अनि थाहा पाउँछौ
यो कुलतले कहाँ लैजान्छ, अनि थाहा पाउँछौ
आज पो उसलाई खाँदा रमाइलो र मज्जा हुन्छ
हेरिराख, भोलि उसैले खान्छ, अनि थाहा पाउँछौ ।

मध्यनेपाल नगरपालिका–६, भोर्लेटार लमजुङ