साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

स्वादिला बालकविता; शृङ्खला – १७

१. मकैबारीमा … –  शान्ति सापकोटा

शान्ति सापकोटा
bahulako diary small and inside post

आमासित आएँ म मकै बारीमा

झन्डै तल झरेको सिस्नो घारीमा

कुटो थियो साथमा टेकेँ समाएँ

जसोतसो बारीमा पुगेँ रमाएँ

 

मैले मकै छरेको बोट भएछन्

बोटसँग झार पनि हुँदा रहेछन्

मकैलाई खाने झार फाल्नुपर्छ हो ?

हो भन्नु भो आमाले उखेल्दिएँ त्यो

 

कोदालीले माटोलाई खन्नुपर्छ रे !

मकैलाई खुकुलो बन्नुपर्छ रे !

तिमी पनि आऊ साथी मकै बारीमा

होस गर लडौला नि सिस्नो घारीमा ।

—————————-

[शास्त्रीय छन्दकविता तथा बालसाहित्यका विविध विधामा कलम चलाउँदै आएकी शान्ति सापकोटा (वि.सं. २०२८) स्याङ्जा जिल्लामा जन्म भई हाल ललितपुरमा बसोबास गर्दै आएकी सक्रिय स्रष्टा हुन् । बालसाहित्यसँग सम्बन्धित मुख्य संस्थामा सक्रियता जनाइरहेकी स्रष्टा सापकोटा विभिन्न संस्थाबाट सम्मानित एवम् पुरस्कृत पनि भइसकेकी छन् । उनका बालोपयोगी सन्दर्भ पाठ्यपुस्तकहरू तथा आख्यानसँग सम्बद्ध सहलेखनका कृतिहरू प्रकाशनमा आएका छन् । उनका बालकथासङ्ग्रह, बालचित्र पुस्तक आदि प्रकाशित छन् । बालकवितातर्फ उनको ‘धरतीकी रानी’ नामक सङ्ग्रह प्रकाशित छ । प्राकृतिक सन्दर्भ, शैक्षिक चेतना, पारिवारिक नातागोता, बालमनोविज्ञान, बालबोलीको प्रयोग, बालरुचिअनुकूलता, बालकका चाहना र भावनाको कदर, बालसुलभ कोमलता, बालजिज्ञासा, बाल्यअनुभव, लयगत संरचना र विषयवस्तुगत विविधता, परम्परित संस्कृतिप्रतिको मोह, बाल्यजीवनको स्मरण, अतीततर्फको चासो र लोकजीवन एवम् ग्रामीण संस्कृतिको मनोहारी झलक आदि उनका बालकवितात्मक वैशिष्ट्य हुन् । अन्त्यानुप्रासको सफल योजना, गति–यति–लयमा अनुशासन, झिनो कथानकसहितको सिलसिलेबार प्रस्तुति आदिले उनका बालकविता अझ रोचक, पठनीय र कलात्मक बन्न पुगेका छन् । उनको प्रस्तुत ‘मकै बारीमा’ बालकविता आख्यान मिश्रित र प्रकृतिचित्रणात्मक उत्कृष्ट लोकलयात्मक बालकविता हो । प्राकृतिक वनस्पति मकै र कृषिकर्ममा लाग्ने किसानको कर्मथलो मकै बारीलाई विषयवस्तु बनाइएको विवेच्य कवितामा ‘म’ पात्रका रूपमा आएकी बालपात्रको एकालाप प्रस्तुत गरिएको छ । सिर्जनामा अवरोध पुर्‍याउने बारबन्देजलाई पन्छाउनुपर्छ भन्दै हाम्रो जीवनमा पनि त्यस्ता अवरोधक भएमा तिनीहरूलाई हटाएर अगाडि बढ्न सक्नुपर्छ भन्ने भित्री सङ्केत कवितामा झल्किएको छ ।]

************************

२. मेरो देश – बालकृष्ण थपलिया

बालकृष्ण थपलिया

मेरो राष्ट्र मेरो गौरव

पौरखीको देश

बहुजात बहुधर्म

बहु भाषाभेष

 

एउटै जात नेपालीको

धर्म मानवता

हिमाल पहाड तराईको

शिर सगरमाथा

 

स्वाभिमानको गीत गाउँदै

विश्व डुल्न सकूँ

यो देशमा जन्मेकोमा

गर्व गर्न सिकूँ

 

लोकतन्त्रमै फस्टाउँछ

 हाम्रो भाग्योदय

वीर सहिद अमर रहून्

नेपालको जय ।

       (‘किनाराको साक्षी’ कविता सङ्ग्रहबाट)

————————————————

 [धादिङको सल्यानटारमा जन्मेर चितवनलाई कर्मक्षेत्र बनाएका कवि बालकृष्ण थपलिया (२०३१) कविता सिर्जनाका अतिरिक्त राष्ट्रसेवा, प्राध्यापन र सञ्चार कर्ममा संलग्न छन् । विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा उनको लोभलाग्दो सक्रियता रहेको छ । आफू बाँचेको समयलाई टपक्क टिप्नु अनि आक्रोश र विद्रोहको भावलाई कवितामा अभिव्यक्त गर्न सक्नु उनको कवितात्मक वैशिष्ट्य र खुबी हो । उनका धारा एक सय सत्ताइस, किनाराको साक्षीलगायतका कविता सङ्ग्रह प्रकाशित छन् । बालकविता लेखनमा समेत उनको रुचि छ । ‘किनाराको साक्षी’ कविता सङ्ग्रहमा सङ्कलित उनको प्रस्तुत ‘मेरो देश’ कविता राष्ट्रिय भावनाले ओतप्रोत बालोपयोगी गीतिकविता हो । बालबालिकाले बुझ्न सक्ने यस कवितामा कविले नेपाल राष्ट्रलाई आफ्नो गौरव र पौरखीको देश मानेका छन् । कविताले पाठकलाई स्वाभिमानी हुन प्रेरित गरेको छ । लोकतन्त्रमा नै भाग्यको उदय हुने विचार व्यक्त गरिएको यस कवितामा सरल र सरस भाषाशैलीको प्रयोगका कारण यसलाई बालकविताको कोटिमा समेत राखेर हेर्न सकिन्छ । कवितामा राष्ट्रका लागि प्राणोत्सर्ग गर्ने सहिदको स्मरण गर्दै नेपालको जयगान गाइएको छ ।]

******************************************        

३.  सेतो पाठो – शिव पलाँस

शिव पलाँस

काली बाख्रो ब्यायो खोरमा पायो सेतो पाठो 

सानो सानो  भए पनि पाठो कति बाठो  

जता जान्छ आफ्नो आमा  त्यतै पछि लाग्छ  

आइज  खेलौँ भन्छु  मैले पर-पर  भाग्छ  

 

घोप्ट्याएर राखिएको  डोकोमाथि चढ्छ 

डोको पनि लड्छ अनि पाठो पनि लड्छ  

फुर्तिलो छ  लडे पनि  उठिहाल्छ  फेरि  

हाँस्छु म त त्यही पाठोको चर्तिकला हेरी   

 

आँगनीमा छुनुमुनु गरी नाच्दै थियो  

गुन्द्रीमाथि सुकाएको बिस्कुन पोखिदियो  

हजुरआमा रिसाउनु भो गाली गर्नुभयो  

म्या-म्या गर्दै मुने पाठो  बारीतिर  गयो ।

—————————————————————-

[स्याङ्जा, हरिनास -१, सालडाँडा घर भई हाल अमेरिका बसोबास गर्दै आएका शिव अधिकारी (२०४०) साहित्यका क्षेत्रमा शिव पलाँसका नामबाट परिचित छन् । लमजुङ र कास्कीमा दश वर्षको शिक्षण कर्ममा बालसिकाइ, मनोविज्ञान र क्रियाकलापलाई बुझ्ने अवसर पाएका कवि एवम् गीतकार पलाँससँग पाठ्यपुस्तकभित्रकै कतिपय विषयवस्तुलाई सहज सिकाइका निम्ति अङ्ग्रेजी र नेपालीका बालगीत बनाएर पढाएको अनुभव समेत छ । बालबालिकाहरूलाई सृजनात्मक कार्यमा अभिप्रेरित गर्नका निम्ति  भित्तेपत्रिकाको प्रकाशन र सम्पादन गरेका कवि पलाँसका फुटकर रूपमा विभिन्न पत्र पत्रिकामा बालकविता, गीत, गजल लगायतका विधामा रचना प्रकाशित छन्  भने उनको बालगीत पनि रेकर्डिङ भइसकेको छ । विगत दुई दशकदेखि साहित्य लेखनमा सक्रिय उनको खास चिनारी भने गीतकारका रूपमा रहेको छ । उनको ‘मायाँ गर्नुको अर्थ’ नामक गीतसङ्ग्रह प्रकाशित भएको छ जसमा दीप श्रेष्ठ, नरेन्द्र प्यासी, कर्णदास, रामकृष्ण ढकालदेखि इन्दिरा जोशीसम्मका नेपालका थुप्रै कलाकारले  स्वर दिएका छन् । उनका तीन दर्जनभन्दा बढी गीत रेकर्ड भईसकेका छन् । औपचारिक रूपमा कुनै साहित्यिक संघ संस्थामा आवद्ध नभएका कवि शिव पलाँस राजनीतिबाट टाढै बस्न रुचाएको अभिव्यक्ति दिन्छन् । मिठा र रोचक बालकविता एवम् बालगीतको रचना गर्ने कवि पलाँसको ‘सेतो पाठो’ बालकविता प्राकृतिक विषयवस्तुमा आधारित सुन्दर र कलात्मक बालकविता हो । गीति साँचोमा ढालिएको यस बालकवितामा गति-यति र लयको अनुशासन र अन्त्यानुप्रासको सफल योजना रहेको छ । धाराप्रवाहको शैलीमा झिनो आख्यानको प्रयोग गर्दै लेखिएको प्रस्तुत बालकवितामा मानव र प्रकृतिबिचको आत्मीय सम्बन्धलाई देखाइएको छ ।]

rcghimire47@gmail.com

लेखक परिचय

साहित्यपोस्टका नियमित स्तम्भकार घिमिरे ईशानेश्वर क्याम्पस, भोर्लेटार (लमजुङ) का प्रमुख हुन् ।

प्रतिक्रिया
Loading...