
अतिथिलाई निम्तो
रमेशचन्द्र घिमिरे
छन्द : मन्दाक्रान्ता
गण : म भ न त गुरु गुरु
विश्राम : चार र दस अक्षरमा

रमेशचन्द्र घिमिरे
बस्छन् अग्ला हिमशिखर ती श्वेत टोपी भिरेर
मेचीकाली अविरल यतै बग्छ छाती चिरेर
बस्छन् हाँस्दै पशुपति ठूला बाग्मतीका तटैमा
बस्छिन् सीता जनकपुरको भव्य राम्रो मठैमा ।
१
सल्ला सिसौ हरित वनले ढाकिएका यतै छन्
अग्लाअग्ला सिमल रूख छन् सालका वृक्ष यैँ छन्
हामी हाम्रै धवलगिरिको उच्च शृङ्गार देख्छौ
देख्छौ चाक्ला समथर धरा फाँट या टार देख्छौ ।
२
नेपालीका घर दलिनमा खोपिएका कला छन्
मीठो भाका मधुर लयमा गुन्जिने ती गला छन्
देख्छौ देवालय मठ अहा ! फेरि पाटीअनेक
आई सारा मधु नजरले हेर यी एक एक ।
३
यै माटोमा अनलमय त्यो घामको धूप चर्को
यै बाटोमा मधुमय चिसो हुस्सुको श्वेत बर्को
छक्कै पार्ने विविध चिज छन् घाम वर्षा र जाडो
अग्लो होचा जमिनतल छन् फेरि तेर्सो र ठाडो ।
४
खुम्बू जाऊ ठुगठुग गरी शीत चाखेर आऊ
चाहे होचो शिरतिर गई घाम तापेर आऊ
स्याङ्जा आऊ लमजुङ तथा पोखरा टेक्न आऊ
झापा आऊ जनकपुर वा लुम्बिनी देख्न आऊ ।
५
कञ्चनजङ्घा मुकुट पहिरी हाँस्छ नेपाल हाम्रो
डाँफे मैनासित रमिरमी नाच्छ नेपाल हाम्रो
मौका छोपी सन जन यतै नाच लौ गीत गाऊ
यै माटामा मधुर रसिलो प्रीत सङ्लो खन्याऊ ।
६
भाका हाली सरस लयमा डाक्छ क्वैली चरीले
खोज्छन् तिम्रा पद गति यतै अप्सराले परीले
यस्तो राम्रो प्रकृति तलमा शीघ्र यात्रा बढाऊ
आऊआऊ अतिथि जन हो देश यो घुम्न आऊ ।
७
००००
हाम्रो राम्रो नेपाल
कपिल किशोर घिमिरे
छन्द: चित्रलेखा
गण:म भ न य य य
विश्राम:चार र एघार अक्षरमा

कपिल किशोर घिमिरे
हाम्रा अग्ला हिमशिखरहरू छेक्न बैरी बसेका
हेर्दा राम्रा टलटल अति नै शान्त तेर्छी रहेका
अग्लो हाम्रो सगर पनि छुने विश्व छानो बनेको
कस्तो राम्रो हरपल मनमा शान्ति ज्यादा दिएको।
१
हाम्रो राम्रो समथर छ अहाँ फाँट राम्रो मधेस
हेर्दै राम्रो मन हरण हुने दृश्य हाम्रो पहाड
डाँफे नाच्दैछ हिमशिखरमा फुल्छ लालीगुराँस
चौरीगाई खटखट गतिमा चढ्छ अग्ला पहाड।
२
आई धेरै पर्यटक सबले खर्च ज्यादा गरेमा
बढ्ने मुद्रा विनिमय गरिने हुन्छ यस्तो भएमा
त्यै मुद्राले उपकरण किने खुल्छ उद्योग ज्यादा
खुल्दा राम्रो तब वरिपरि नै जानुपर्दैन टाढा।
३
हाम्रा नेता असल बन सबै धेर ज्ञानी पढेको
साँच्चै बन्थ्यो तब अति गतिलो चित्त बुझ्थ्यो सबैको
आऊ लागौं सब मिलिकन यो देश राम्रो बनाऔं
नेपाली छन् सब अति गतिला भन्न सक्ने बनाऔं ।
४
००००
साट्दैछ साट्दैछ रे !
रेशम बी.सी.
छन्दः शार्दुलविक्रीडित
गणः म स ज स त त गुरु
विश्रामः छ र बाह्र अक्षरमा

रमेश बी सी
मेरो देश कठैबरा भइसक्यो यो विश्वको माझ रे
जो अस्तित्व थियो थियो नि अहिले गुम्दैछ गुम्दैछ रे
मेरै शासक हो कुलङ्ग कुलको यो राष्ट्र बेच्दैछ रे
पैसाले अब सार्वभौम पनि लौ साट्दैछ साट्दैछ रे ।
१
सत्ताको बलमा छ देश छलमा बस्ती र पाखाहरू
मेरो देश लिलाम पो गरिसके चिम्लेर आँखाहरू
मात्रै देख्छ उपाय एक रुपियाँ ल्याएर खाने अरे
पैसाले अब सार्वभौम पनि लौ साट्दैछ साट्दैछ रे ।
२
छातीमा हतियार नै परिसक्यो रोप्दैछ भाला छुरा
मेरो राष्ट्र निदाउँदै छ अहिले यस्तो छ खाँटी कुरा
यो धर्ती नि पराइको अधिनमा जादैछ जादैछ रे
पैसाले अब सार्वभौम पनि लौ साट्दैछ साट्दैछ रे ।
३
पारे आज सखाप देश दुनियाँ यी राष्ट्रघातीहरू
जाग्नै पर्छ युवा जवान उठ लौ हे वीर योध्दाहरू
मेरो सुन्दर देशमा शिव हरे ! खेल्दैछ पासा अरे
पैसाले अब सार्वभौम पनि लौ साट्दैछ साट्दैछ रे ।
४
योध्दा हो उठ अन्धकार अति भो कालो छरे दुष्टले
सारा जाग न जाग लौ सुन कुरा जाल गरे धुर्तले
आयो दुष्ट पस्यो छर्यो विष यहाँ मारेर धर्ती हरे
पैसाले अब सार्वभौम पनि लौ साट्दैछ साट्दैछ रे।
५
बस्ती गाउँ उठेर लौ दश दिशा हालेर घेरा अब
हावा बन्नु उडाइ लानु नि कतै यी देशद्रोही सब
यो आव्हान छ देशमा नवयुवा तिम्रै भरोसा छ रे
पैसाले अब सार्वभौम पनि लौ साट्दैछ साट्दैछ रे ।
६



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

