दुई एकान दुई हो दुई दुना चार
दुनोट कण्ठै पारिन्थ्यो हुन्थ्यो मुखाखार

त्यो बेलामा क्याल्कुलेटर किन्न पाइएन
किन्दिनू न बा भनेर घुर्की लाइएन
चिच्याई चिच्याई भनिन्थ्यो `दुई तियाँ छ´
खुसी भई सर भन्नुहुन्थ्यो `ठीक छ बाबु ल´

मुखले हिसाब गरिन्थ्यो स्याबास पाइन्थ्यो
जोड, घटाउ, भागर सबै मिलाइन्थ्यो
भाका मिलाई कराइन्थ्यो `दुई चौका आठ´
गुरुमाले फकाउनुहुन्थ्यो `पढ अझै पाठ´

अचेल मेरो भाइलाई जोड्न आउन्न रे !
गुरुसँग नसोधी थाहा पाउन्न रे !
कति भनेँ घोक बाबु `दुई पन्चे दस´
मैले यति भनेपछि बल्ल भन्यो `हस्´

दुई छका बाह्र हो दुई साते चौध
दुई आठा सोह्र हो सुनाऊ बाबु लौ त
मेरै सिको गरी भाइले गन्न थाल्या छ
दुई नवाँ अठार हो भन्न थाल्या छ

`आफै हिसाब गर्नुपर्छ सार्नु हुँदैन
जानिन्न कि भनी हिम्मत हार्नु हुदैन
पढ्दापढ्दै जानिने हो दुई दसान् बीस´
यसो भन्नुहुन्छ सधैं सर म्याडम र मिस !