१. जून मामा

यम रेग्मी

हेर साथी आकाशमा जून मामा आउनुभयो
म भान्जी अधरमा खुसी ल्याउनुभयो ।

मेरो मामा कति जाती सधैँ बस्ने माथि
छर्नुहुन्छ, जूनको किरण कालो बादल च्याती ।

सधैँ मलाई आफूजस्तै चम्क भन्नुहुन्छ
प्रगतिको शिखरमाथि लम्क भन्नुहुन्छ ।

मामाको झैँ हुनुपर्छ, मेरा पनि गुन
मेरो मामा हिरा मोती मेरो मामा सुन ।

हेर साथी आकाशमा जून मामा आउनुभयो
म भान्जी अधरमा खुसी ल्याउनुभयो ।
***********************************
[घोराही उप–महानगरपालिका–४ सुन्पुर, दाङमा बस्दै आएका साहित्यकार यम रेग्मी (२०४१) पेशाले शिक्षक हुन् । उनले नेपाली साहित्यको कथा, कविता, उपन्यास, गजल तथा बालकविता आदि विधामा कलम चलाउँदै आएका छन् । विशेष गरी नेपाली साहित्यको छन्द कवितामा विशेष रुचि राख्ने साहित्यकार रेग्मीका खुल्ला संसार –कविता सङ्ग्रह (२०७०) पहराको जून–कविता सङ्ग्रह (२०७६) गरी दुई वटा कविता सङ्ग्रह प्रकाशनमा आइसकेका छन् । बाँकी अन्य कृतिहरू प्रकाशनको तयारीमा रहेका छन् । खोपीलाल हुकामा देवी छन्द पुरस्कार –राप्ती साहित्य परिषद् (२०७०) हरिकला नन्द प्रतिभा पुरस्कार –लेखक सङ्घ दाङ (२०७५) लगायतका पुरस्कारबाट सम्मानित भइसकेका रेग्मी साहित्यपोस्ट इ-पत्रिकामा छन्द कविता शृङ्खलाका नियमित स्तम्भकार समेत हुन् । उनको प्रस्तुत ‘जून मामा’ बालकवितामा कविले मानवेतर वस्तु जूनको मानवीकरण गरी बालिका पात्र भान्जी बनेर कविता रचेका छन् । जून देख्न पाउँदा आफू खुसी हुन सकेको अनुभव बताउँदै कवितामा जून जस्तै जाती र उज्यालो हुनु पर्ने सन्देश दिइएको छ । प्रकृतिलाई विषयवस्तु बनाइएको यस कवितामा चौध अक्षरे सबाई लोकछन्दको प्रयोग गरिएको छ ।]
———————————————————————————————————–

२. एकता

 

नारायणप्रसाद न्यौपाने

आयो हेर कमिलाको
कत्ति ठूलो लस्कर ।
खबर कुनै पायो भने
डुल्छ सबको घर्घर ।।

एक्लो यिनी हुँदै हुन्नन्
सधैँ मिली बस्छन्
साथी सँगी बनेर नै
यिनले साथ दिन्छन् ।।

यौटा साथी समस्यामा
परे पनि खोज्छन् ।
सबै मिली सेवा गर्न
यिनी अघि बढ्छन् ।।

तेरो मेरो नभनेरै
सबै आफ्नो भन्छन् ।
साथी भाइ जुटेर नै
समाधान गर्छन् ।।

तिनीजस्तै हामी पनि
बन्न खोजे बन्थ्यो ।
समाजमा हाम्रो पनि
कस्तो मेल हुन्थ्यो ।।
****************************************************
[कालीगण्डकी-५ स्याङ्जा जन्मस्थान र सुनवल-१२ नवलपरासी घर भई हालः बुढानीलकण्ठ, काठमाडौं बसोबास गर्दै आएका कवि नारायणप्रसाद न्यौपाने (२०२४) विद्यालय तथा क्याम्पसमा २० वर्षको शिक्षण कार्य अनुभव सँगालेका स्रष्टा हुन् । नेपाली र इतिहास विषयमा स्नातकोत्तर गरेका न्यौपानेले कक्षा १ देखि ७ सम्मका विद्यालयस्तरीय पाठ्यपुस्तक लेखनको कामसमेत गरेका छन् । २०४१ सालदेखि साहित्यिक लेखनको यात्रारम्भ गरेका कवि नारायणप्रसादका कविता तथा निबन्धका सङ्ग्रहहरू प्रकाशित भएका छन् । बालसाहित्यतर्फ उनको ‘हाम्रो निबन्ध माला’ नामक बालनिबन्ध सङ्ग्रह २०७० सालमा प्रकाशित भइसकेको छ । प्रस्तुत ‘एकता’ शीर्षकको बालकवितामा उनले कमिलामा हुने एकता, मित्रता र आपसी भाइचाराको सम्बन्धलाई बालोपयोगी भाषाशैलीका माध्यमबाट कलात्मक पाराले वर्णन गरेका छन् र कमिलाको जीवनलाई हेरेर हामीले पनि कमिलाले जस्तै आपसमा मित्रवत् व्यवहार गर्न सक्नुपर्छ भनेर सन्देश समेत दिएका छन् । कवितामा कमिलाको परिचय काव्यात्मक र बालमनोवैज्ञानिक शैलीमा रोचक ढङ्गमा गरिएको छ ।]
———————————————————————————-

३. मेरी पुतली

कमल भट्टराई

ए मेरी प्यारी पुतली
मेरो घरमा आइज
मेरा साथी कोही छैनन्
मलाई लिएर जाइजा

आकाश-आकाश उड्दै
जून छुन जाउँला
बादलभित्र लुकामारी खेली
घर फर्की आउँला

मेरो घरको फूलबारीमा
सधैँ भेट्न आउनू है
मेरी आमा बजार जाँदा
मिठाइ राखिदिउँला है

मेरो मात्र साथी बन्नू
अरूतिर नजानू है
तँ मेरी पुतली रानी
सधैँ उड्दै आउनु है

फूलबारीमा पर्खिरहनेछु
बाटो कुर्दै तँलाई
यदि तँ आइनस् भने
कहिल्यै साथी नभन्नू मलाई

कोही बेला मेरा घरमा
डोरेमन र सिञ्चेन हेरौंला
कोही बेला फेरि आँगनमा बसी
भाँडाकुटी खेलौँला ।
******************************************************
[गैरीगाउँ बासँबोटे ,लोधोमा-२, दार्जीलिङ निवासी कमल भट्टराई शिक्षण पेशामा आबद्ध छन् । उनका कोसेलीहरू(कथासङ्ग्रह), आवाजका रङ्गहरू (कविता सङ्ग्रह ), अन्तिम बिन्दु (कविता सङ्ग्रह ) लगायतका कृतिहरू प्रकाशित छन् । बालसाहित्यतर्फ उनको चकचके मुसी नामक बाल कविता सङ्ग्रह पनि प्रकाशित भइसकेको छ । उनले केही साहित्यिक पत्रिकाको समेत सम्पादन गरेका छन् । उनको ‘मेरी पुतली’ बालकवितामा प्राकृतिक कीट पुतलीलाई विषयवस्तु बनाई मानवेतर वस्तुको मानवीकरण गरिएको छ । बालपात्र बनेका कवि भट्टराईले कवितामा पुतलीलाई आफ्नो घरमा आउन आमन्त्रण गरेका छन् र ‘तँ’ सर्वनामको प्रयोगबाट सम्बोधन गरेर आत्मीय साइनो गाँसेका छन् । कवितामा एउटा बालकले पुतलीसँग खेल्नका लागि गरेको चाहनालाई रोचक पारामा व्यक्त गरिएको छ ।]
————————————————————————————-
{ यस स्तम्भमा सहभागी हुन चाहनुहुने स्रष्टाहरूले आफ्ना बालकविता, फोटो र बायोडाटा nepalibalkabita@gmail.com ठेगानामा पठाउन सक्नुहुनेछ ।}