खानु, लाउनु र बस्नु मानिसका आधारभूत आवश्यकता हुन् र पनि मानिसका लागि यी सर्वेसर्वाचाहिँ होइनन् । गास, बास र कपाससँगै मानिसलाई एकापसमा साक्षात्कार हुन, सामीप्य गाँस्न तथा साहचर्य बढाउन भाषाको आवश्यकता पर्दछ । बोलचालका रूपमा प्रयोग गर्न मात्र नभई विश्वको एक कुनाबाट अर्को छेउ तथा एक छेउबाट अर्को कुनामा विचारको साटासाट र भावनाको आदानप्रदान गर्न उसलाई अर्को भाषाको पनि जरुरत पर्दछ । त्यस्तो भाषा सामान्यभन्दा बेग्लै विशिष्ट भाषा हो र भावनात्मक भाषा हो । यसरी हेर्दा भाषाका दुई रूप देखा पर्दछन्: सामान्य र विशिष्ट । सामान्य भाषा व्यावहारिक प्रयोजनमा आउने भाषा हो भने विशिष्ट भाषा व्यवहारेतर भाषा हो। विशिष्ट भाषा, भावनात्मक भाषा अथवा व्यवहारेतर भाषा भनेकै साहित्य हो। मानिसले जहिलेदेखि सभ्यताको खुड्किलोमा उभिन सिक्यो, त्यसै बेलादेखि नै उसले साहित्यलाई पनि नजिक बनायो । जिन्दगीको मर्म बुझ्न र भावनात्मक साहचर्य बढाउनका लागि रागात्मक र ललित अभिव्यक्तिका रूपमा प्रस्तुत हुने सौन्दर्यपूर्ण भाषा नै साहित्य हो। भाषाको आवश्यकता प्रौढदेखि बालक सबैलाई पर्दछ भने साहित्यको आवश्यकता पनि दुवैथरिलाई परेको हुन्छ । प्रौढले मात्र नभई बालकले पनि रागात्मक, ललित र सौन्दर्यपूर्ण भाषाको अपेक्षा गरेको हुन्छ । त्यस्तो किसिमको भाषा बालककै लागि सुबोध्य हुने किसिमले प्रौढभाषासँगै विकसित भएको हुन सक्छ । यहाँनेर बालककै लागि सुबोध्य हुने किसिमको कलात्मक, रागात्मक, ललित र सौन्दर्यपूर्ण भाषा भन्नाले बालसाहित्य बुझ्नुपर्छ जसअनुसार जहिलेदेखि प्रौढसाहित्यको विकास भयो त्यसै बेलादेखि नै बालसाहित्यले विस्तारित हुने मौका पायो ।

साहित्यको विकास लोकसाहित्यबाट भएझैँ बालसाहित्यको विकास पनि लोकसाहित्यबाटै भएको हो। लोकसाहित्यबाट पनि दुईवटा हाँगा छुट्टिएका छन् । एउटा हाँगो प्रौढोपयोगी लोकसाहित्यका रूपमा छुट्टिएको छ भने अर्को बालोपयोगी लोकसाहित्यका रूपमा । खास गरी प्रौढोपयोगी लोकसाहित्य भक्तिरस र शृङ्गार रसमा केन्द्रित रहेको हुँदा त्यसको प्रभाव बालबालिकालाई नपर्नु अनि बालोपयोगी लोकसाहित्य वत्सल रस, प्रकृतिचित्रण र बालबालिकाले खेल्ने खेलसँग केन्द्रित रहेको हुँदा त्यसको प्रभाव उनीहरूमा पर्नु स्वाभाविकै हो । प्रौढोपयोगी लोकसाहित्य बालबालिकाको प्रयोजनका लागि नभए पनि बालोपयोगी साहित्य प्रौढका लागि पनि त्यत्तिकै उपयोगी छ । अझ बालकको लागि स्वतः यो प्रयोजनमा आउने गर्दछ ।

छापाखाना र लिपिको आविष्कार भएपछि मौखिक वा श्रुतिपरम्परामा अडिएका र पुस्ता-प्रतिपुस्ता हुँदै कथ्य र श्रव्यमा मात्र सीमित रहेका साहित्य पछि लोकसाहित्यका रूपमा विकसित हुने मौका पाउँछन् । लोकसाहित्यले समेत बालोपयोगी साहित्यलाई स्थान दिएको हुँदा यसलाई निरन्तरता दिन प्रौढसाहित्यप्रति रुचि लिनेले बालसाहित्यलाई पनि महत्त्व दिनुपर्ने परिस्थितिअनुसार साहित्य र बालसाहित्यको विकास सँगसँगै भएको हो भन्न सकिन्छ ।

व्यवहारेतर विशिष्ट प्रयोजनका लागि प्रयोग गरिने साहित्यका पनि दई भेद देखा पर्दछन् । एउटा भेदले शास्त्रीय बौद्धिक प्रयोगसँग सम्बन्ध राख्दछ भने अर्काले कलात्मक सौन्दर्यपूर्ण प्रयोगसँग साइनो गाँस्दछ । शास्त्रीय बौद्धिक भाषा-प्रयोगको लक्षित समूह प्रौढवर्ग हुन् भने कलात्मक सौन्दर्यपूर्ण भाषाको लक्षित समूहचाहिँ बालबालिकावर्ग हुन् । शास्त्रीय बौद्धिक भाषाका तुलनामा कलात्मक सौन्दर्यपूर्ण भाषा सरल, सरस र रागात्मक हुन्छ । यस्तै भाषा नै बालबालिकाका लागि सुपाच्य हुन्छन् । मानिसले साहित्यलाई चिन्न र बुझ्न थालेदेखि नै समाजमा रहेका दुईथरि पाठकलाई ध्यानमा राखेर साहित्य लेख्न थालियो, जसले गर्दा प्रौढसाहित्यसँगसँगै बालसाहित्यले पनि हुर्कने अवसर प्राप्त गयो।

भाषा र साहित्यजस्तै मानिसको महत्त्वपूर्ण अर्को आवश्यकता शिक्षा पनि हो। शिक्षालाई ग्रहण गर्ने र गराउने गरी समाजमा दुईथरि वर्ग रहेका हुन्छन् । एउटा ग्राहक हो, जसले ग्रहण गरेको हुन्छ । अर्को दाता हो जसले ग्रहण गराएको हुन्छ । ग्राहक शिष्यसँग सम्बन्धित छ भने दाता गुरुसँग सम्बन्धित छ। गुरुले साहित्य बुझेको हुन्छ, शिष्यले बालसाहित्य बुझेको हुन्छ । यसरी हेर्दा साहित्य र बालसाहित्यबीचको सम्बन्ध गुरु-शिष्यको सम्बन्धका रूपमा देखापर्दछ । साहित्य मात्रै लेख्दा गुरुको आवश्यकताको परिपूर्ति स्वतः भइहाल्छ तर शिष्यको आवश्यकता परिपूर्ति गराउनका लागि साहित्य मात्र लेखेर पुग्दैन बालसाहित्य लेख्नै पर्ने हुन्छ । यसरी गुरुको लागि मात्र लेखेर नहुने र शिष्यका लागि समेत लेख्नै पर्ने कारणले साहित्यमा बालसाहित्यले पनि स्थान पाएको छ।

समालोचक जनकप्रसाद हुमागाईंले आफ्नो ‘नेपाली बालसाहित्य’ नामक पुस्तकमा मानव समाजमा सभ्यताको विकासले फड्को मार्दै जाने क्रममा शैक्षिक जागरणको उल्लेखनीय देन रहिआएको कुरा उल्लेख गर्नुभएको छ । शैक्षिक जागरणका लागि विद्यालयको स्थापना, शिक्षकको बन्दोवस्त र विभिन्न पाठयपुस्तकको प्रकाशन गर्नुपर्ने समेत हुन्छ । बालमनोविज्ञान र बालरुचिअनकूलतालाई आधार बनाएर सरल, सरस र बालसुलभ भाषाशैलीमा प्रकाशित हुने पाठ्यपुस्तकमा बालसाहित्य छिपेको पाइन्छ । वृद्धवृद्धालाई दिइने शिक्षाको तुलनामा बालबालिकालाई दिइने शिक्षा बढी उत्पादनमूलक, सोद्देश्यपूर्ण र सार्थक हुन्छ । बालबालिकाले पाउने शिक्षामा मनोरञ्जक खुराक मात्र होइन नैतिक सन्देश पनि घुसेको हुन्छ र यसबाट बालसाहित्यको रसास्वादनसमेत उनीहरूले गर्न सक्छन् ।   बालबालिकाले आज प्राप्त गरेको शिक्षा भोलि गएर व्यवहारमा उतार्नका लागि हो । उनीहरूले आफ्ना पाठ्यपुस्तकमार्फत् एकातिर व्यवहारोपयोगी शिक्षा प्राप्त गरेका हुन्छन् भने अर्कातिर उनीहरूकै रुचिअनकूलको साहित्य पनि सँगसँगै प्राप्त गरेका हुन्छन् । विश्वसाहित्यको परिप्रेक्ष्यमा मात्र नभई नेपाली साहित्यमा पनि बालसाहित्यको प्रवेश पाठ्यसामग्रीका माध्यमले भएको हो । पाठ्येतर सामग्री पुग्न नसक्ने र पुगे पनि महत्त्व बुझेर किन्ने र पढ्ने चासो उनीहरूमा नरहने कारणले साहित्यमा यसरी पाठ्यसामग्रीको प्रयोगसँगै बालसाहित्यले प्रवेश गर्ने मौका पाएको हो भन्न सकिन्छ ।

साहित्य साहित्यका लागि मात्र होइन । समाज, देश र विश्वसमुदायका लागि पनि हो । त्यहाँका विभिन्न सदस्यहरूमध्ये बालबालिकाहरू पनि पर्दछन् । विश्वको कुल जनसङ्ख्यामध्ये ४० प्रतिशत जति हिस्सा बालबालिकाले ओगटेका छन् । बालबालिका भनेका कुमालेको विभिन्न आकारमा ढाल्नुअघिका काँचा माटा भएका हुनाले उनीहरूलाई भावी जीवनमा कस्ता खालका नागरिक बनाउने भन्ने चिन्ता र चिन्तन गर्नु अभिभावक, शिक्षक, समाजका प्रबुद्ध वर्ग र राष्ट्रकै कर्तव्यभित्र पर्ने कुरालाई बालसाहित्यका अध्येता एवम् समालोचक प्रमोद प्रधानले आफ्नो ‘नेपाली  बालसाहित्यको इतिहास’ नामक कृतिमा चर्चा गर्नुभएको छ । यसो हुँदा बालबालिकाहरूका लागि पनि साहित्यको आवश्यकता पर्न जाने हुन्छ । बालबालिकाहरूका लागि पनि साहित्य लेखिन सकेको खण्डमा उनीहरूमा बौद्धिक र भावनात्मक विकास हुनाका साथै अनुभवको विस्तारसमेत हुने मौका प्राप्त हुन्छ । भोलिका सुयोग्य नागरिक जन्माउनका लागि आजका बालबालिकालाई सचेत बनाउन बालसाहित्यले ठूलो खाँचो टारेको हुन्छ । सूचनाप्रवाहका माध्यमले ज्ञानको विस्तार हुँदै गइरहेको वर्तमान परिप्रेक्ष्यमा बालबालिकाले आफ्नो बाल्यजीवनमा पाठ्येतर सामग्रीहरू पनि पढ्नुपर्ने टड्कारो आवश्यकता छ । वरिष्ठ समालोचक डा. चूडामणि बन्धुका अनुसार पाठयक्रमका कितापमा मात्र सीमित राखेमा उनीहरूको बौद्धिक र भावात्मक विकास चाहिँदो मात्रामा हन सक्दैन । यसकारणले पनि बालसाहित्यको आवश्यकताबोध गर्दै बालबालिकालाई यसतर्फ तान्नुपर्ने देखिन्छ । प्रौढसाहित्य पढेरभन्दा बालसाहित्य पढेर नै उनीहरू वर्तमान विश्वलाई नजिकैबाट चिन्न, बुझ्न र छाम्न सक्छन् । बालबालिकालाई नवीन ज्ञानका बारेमा सुसूचित गराउनु आफ्नो कर्तव्य ठानेर प्रौढसाहित्यका स्रष्टाले पनि बालसाहित्य लेख्न पुगेका छन् । भविष्यका तारा र राष्ट्रका भावी कर्णधार-उत्पादनका लागि आजका यिनै बालकलाई नैतिक सन्देश, स्वस्थ मनोरञ्जन, व्यवहारोपयोगी शिक्षा, व्यावहारिक ज्ञान र नवीन सूचना दिने खालका साहित्य अपरिहार्यजस्तै भएको हुँदा साहित्यमा बालसाहित्यको प्रविष्टि हुन पुगेको हो।

निष्कर्षमा भन्नुपर्दा साहित्यमा बालसाहित्यको स्थान र प्रवेशलाई बुँदागत रूपमा यसरी देखाउन सकिन्छ:

१. गास, बास र कपासजस्तै भाषा पनि मानिसको अनिवार्य आवश्यकता हो । प्रौढका लागि मात्र नभई बालकका लागि पनि भाषाको आवश्यकता पर्ने र भाषिक सम्प्रेषणका लागि बोलेर या लेखेर बालबालिकालाई मनोरञ्जन या ज्ञान दिनुपर्ने हुन्छ जसले गर्दा भाषामार्फत साहित्यमा बालसाहित्यले स्थान पाएको हो।

२. लेख्यचिन्ह (लिपि) र छापाखानाको आविष्कार हुनुअगाडि मौखिक र श्रुतिपरम्परामा अडिएका लोकसाहित्यमा प्रौढसाहित्य मात्र सुरक्षित नरहेको र बालसाहित्यले पनि हुर्कने मौका पाएको हुँदा लोकपरम्परामा पनि साहित्य र बालसाहित्य दुवैको समान महत्त्व रहेको छ।

३. समाजमा बौद्धिकतालाई रुचाउने र हार्दिकतालाई मन पराउने दुवैथरि सदस्यहरू हुन्छन् । बौद्धिकतालाई रुचाउनेले त्यस्तै साहित्य पढ्ने र लेख्ने गर्दछन् भने हार्दिकताका पक्षधरहरूले पनि त्यसैलाई लेखन तथा पाठनपाठनको आधार बनाएका हुन्छन् । बौद्धिक भाषा जटिल हुने र हार्दिक भाषा केही बोध्य-सम्प्रेष्य रहने अनि यस्तो भाषा प्रायः बालबालिकाका लागि पठनीय हुने हुँदा साहित्यसँगै बालसाहित्यले पनि प्रवेश गर्न सकेको हो ।

४. विद्यालयको स्थापना र शैक्षिक जागरणको कारणले पाठ्यपुस्तकको निर्माण हुनु र पाठ्यपुस्तकका लक्षित समूह बालबालिका नै भएका हुँदा साहित्यमा बालसाहित्यले पनि स्वत: प्रवेश पाएको हो ।

५. विश्वको अधिकांश भाग ओगट्ने बालबालिकालाई भविष्यको सुयोग्य र कर्मठ नागरिक बनाउन वर्तमानमा उचित साहित्य प्रदान गर्नुपर्ने कारणले पनि साहित्यमा बालसाहित्यको आफ्नै महत्त्व र आवश्यकता रहेको हो ।