१. चरीले बिहानै … – कृष्णशरण उपाध्याय पौडेल
चरीले बिहानै उठी गीत गाए
सबै एक ठाउँ जुटी प्रीत लाए
कुनै आँगनीमा झरी बात मारे
कुनै बोटमा सौ थरी बात मारे
कुनैले रुवाए कुनैले हँसाए
कुनैचाहिँ साथीसँगै मीत लाए
कुनै टप्प चारा टिपी भुर्र भागे
कुनै छन् बिचारा उहीँ हेर्न लागे
यता फुर्र नाँचे उता फुर्र नाँचे
सबैले सबैको, कला के छ जाँचे
दुवै बाबु आमा, लिँदै अन्न आए
स-साना बचेराहरू झन् रमाए
न आशा कसैको गरे, गर्न लाए
सबैले स्वकर्तव्य आँफै निभाए ।
—————————-
[भरतपुर महानगरपालिका-१, देवघाट चितवनमा स्थायी बसोबास भई हाल बन्दिपुर तनहुँमा शिक्षण पेशामा आबद्ध कवि कृष्णशरण उपाध्याय पौडेल (२०२३) चित्रकला, ज्योतिष र साहित्यको अध्ययन एवम् लेखनमा रुचि राख्ने सक्रिय प्रतिभा हुन् । उनका मेरी धरती, प्रीतमाधुरी, श्रीकृष्ण शतक, कर्णधार, श्रीशिव शतक, पल्लव, अवधूत, अनुराधा, अनुरोध, रक्ताश्रु, अनेक प्रश्न, वन्दना लगायतका शास्त्रीय छन्दमा रचना गरिएका कविता र गजलका कृतिहरू प्रकाशित छन् । द्रुतकविका रूपमा सुपरिचित कवि उपाध्याय सङ्ख्यात्मक हिसाबले प्रशस्त र गुणात्मक हिसाबले उच्चकोटिका कविता लेख्ने शास्त्रीय कवि हुन् । सामाजिक सञ्जाल फेसबुकमा मात्रै उनका ५००० भन्दा बढी कविता प्रकाशित भएका छन् । दैनिक २ देखि ५ वटासम्मको कविता रचना गर्न सक्ने अद्भुत प्रतिभाका धनी व्यक्तित्व कवि कृष्णशरण शास्त्रीय वर्णमात्रिक छन्द कविता लेखनका अनवरत र अथक साधक हुन् । अथाह शब्दभण्डारका धनी कवि उपाध्यायले फुटकर रूपमा बालकविता समेत लेखेका छन् । उनका बालकवितामा बालबालिकाको मनोविज्ञान खोतलिएको पाइन्छ । बालबालिकालाई मनपर्ने विषयवस्तुको छनोट गरी बालबोलीलाई टपक्कै टिपेर कविता लेख्ने खुबी भएका कवि उपाध्याय आफ्ना बालकवितामा बालबालिकालाई सजिलो लाग्ने शास्त्रीय छन्दको कुशल प्रयोग गर्ने गर्दछन् । भुजङ्गप्रयात् छन्दमा रचित उनको प्रस्तुत ‘चरीले बिहानै …’ बालकवितामा कविले चरीको जीवन हेरेर बालबालिकालाई आफूले गर्नुपर्ने कर्तव्यको स्मरण गराएका छन् । कवितामा चरीले गर्ने मानवीय प्रकृतिका क्रियाकलाप, स्वभाव, आनीबानी, व्यवहार आदिको रोचक, कलात्मक र लयात्मक चित्रण गरिएको छ ।]
*******************************************
२. बादल – सरस्वती श्रेष्ठ ‘सरू’
आकाशमा बादलको थुँगा हेर साथी
कपासझैँ सेतो-सेतो डुल्छ माथि-माथि
चारैतिर पोतिएको चाँदीजस्तो घेरो
डुल्न पाए मज्जा हुन्थ्यो समातेर फेरो
बस्छ कैले हिमालको शिरमाथि गुथी
थाहा हुन्न कति बेला जान्छ आफैं उठी
खुरुखुरु हिँडिरहन्छ देखिँदैन खुट्टा
हेर्दाहेर्दै बन्छ फेरि थरि-थरि बुट्टा
देख्छु कैले बाघजस्तो कैले घोडाजस्तो
कैले देख्छु ढल्की हिँड्ने हाँसका जोडाजस्तो
नाङ्लाभरि सुकाएको मस्यौराको दाना
छरिएझैँ लाग्छ कैले उस्तै साना साना
रूप फेरी-फेरी डुल्ने बादलको बानी
कालोनिलो हुँदै फेरि झारिदिन्छ पानी ।
(बालप्रज्ञा-४ बाट साभार)
————————–
[साविक सूर्यपाल -१, सोतिपसल लमजुङमा जन्मिई हाल पोखरालाई कर्मथलो बनाउँदै साहित्यसिर्जनामा निरन्तर साधनारत प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ (२०२५) पेशाले शिक्षिका हुन् । पोखरा प्रज्ञा प्रतिष्ठानकी प्राज्ञसमेत रहेकी कवयित्री ‘सरू’ पोखरेली युवा सांस्कृतिक परिवार, नारी प्रतिभा वाङ्मय प्रतिष्ठानलगायतका संस्थामा पनि आबद्ध छिन् । विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरेकी उनले कविताका विविध विधामध्ये गीत तथा फुटकर कविता लेखनमा निरन्तर कलम चलाई सङ्ग्रह पनि प्रकाशित गरिसकेकी छिन् । बालसाहित्यतर्फ उनको ‘किट्टी’ नामक बालकथासङ्ग्रह प्रकाशित छ भने विद्यालयस्तरीय नेपाली विषयका पाठ्यपुस्तकमा उनका रचनाहरू पाठ्यसामग्रीका रूपमा समेत समावेश भएका छन् । कोपिला, नागरिक, बालप्रज्ञा, नवमाध्यम, बाल उदय लगायतका बालपत्रिकाहरूमा उनका बालकविताहरू प्रकाशित भएका छन् । बालसुलभ कोमल भावना, बालोचित सन्दर्भ, बालमनोविज्ञानको सफल र सबल प्रस्तुति, बालरुचि अनुकूलका विषयवस्तुको चयन आदि उनका बालकवितात्मक प्रवृत्ति हुन् । उनका बालकवितामा प्राकृतिक सौन्दर्यको जीवन्त चित्रणका साथै देशप्रेमी भावनाको कलात्मक, सुन्दर र लयात्मक अभिव्यक्ति पनि पाइन्छ । उनको प्रस्तुत ‘बादल’ बालकवितामा प्राकृतिक विषयवस्तुको चयन गरिएको छ । अमानवीय पात्र बादलको मानवीकरण गर्दै आलङ्कारिक शैलीमा लेखिएको यस बालकवितामा कवयित्री स्वयम् बालपात्र बनेर कल्पनामा डुबेकी छन् साथै बालमनोविज्ञान र बालसुलभ कोमल भावनाको प्रस्तुतिमा समेत उनी रमाएकी छन् ।]
************************************
३. नेपाल हाम्रो घर – श्रद्धा आचार्य
यौटै छातामुनि बसौँ मिली वरपर
हिमाल, पहाड, तराई यौटै नेपाल हाम्रो घर
यौटै मानव जाति हाम्रो मानवता हो धर्म
स्वावलम्बी नेपाली भई गरौँ असल कर्म
सगरमाथाको देश हाम्रो, गोर्खालीको सान
नझुकोस् यो झन्डा कैल्यै उच्च रहोस् मान
नेपाल आमाको हृदयलाई हँसाइराख्नुपर्छ
आफू मरे पनि राष्ट्र बचाइराख्नुपर्छ
यै माटामा श्रम खन्याऔँ, सिप छरौँ साथी
कृषिक्रान्ति ल्याई देशमा, विकास गरौँ साथी ।
————————–
[साहित्यका कविता, गजल, कथा, लघुकथा, उदक, बाछिटा, कोपिला, हाइकु, मुक्तक, चारू जस्ता विविध विधामा कलम चलाउने नवोदित प्रतिभा श्रद्धा आचार्य (२०५६) सानै उमेरमा साहित्य लेखनयात्रामा सक्रिय स्रष्टा हुन् । पोखरा-१६, कुरेचौर निवासी कवयित्री आचार्यको साहित्यिक संस्थामा सहभागिता हेर्दा उनी मुक्तक मञ्च केन्द्रीय समिति पोखरामा हालै सहसचिव पदमा निर्विरोध निर्वाचित भएकी छन् भने उदक साहित्य समाज नेपाल तथा चारु साहित्य प्रतिष्ठानमा समेत आबद्ध छिन् । उनी फाट्टफुट्ट रूपमा बालकविता पनि लेख्ने गर्छिन् । उनी आफ्ना बालकवितामा सरल र सरस भाषाशैलीको प्रयोग गर्न रुचाउँछिन् । उनको प्रस्तुत ‘नेपाल हाम्रो घर’ बालकवितामा नेपालीहरू सबै एक-आपसमा मिलेर बस्नुपर्ने सन्देश दिइएको छ । कृषिप्रधान देश नेपालका नागरिकलाई कृषिकर्ममा होमिन हौस्याइएको प्रस्तुत बालकवितामा नेपाल आमाको हृदयलाई हँसाइराख्नका लागि प्रत्येक नेपाली नागरिकले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने राष्ट्रवादी सोच समेत मुखरित भएको पाइन्छ । कवितामा परिश्रमको महिमागान गाइएको छ ।]
************************************************
rcghimire47@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।