१. तिहारको रमाइलो – सरिता पराजुली

सरिता पराजुली

डाँडा पाखा घाम लाग्यो भयो घमाइलो

तिहारको चाड आउँदा हुन्छ रमाइलो

 

दाजुभाइ दिदी बैनी आपसमा मिली

घर आँगन सफा गरी पारौँ झिलिमिली

सयपत्री मखमली फूल बारीभरि

पुतलीले राज गर्छे आई घरिघरि

 

काग तिहार कुकुर तिहार सबै मनाउँछौँ

गाईलाई पूजा गरी हामी रमाउँछौँ

बत्ती बाली लक्ष्मीपूजा गर्छौँ  झिलिमिली

रमाइलो गर्दै खेल्छौँ देउसी अनि भैली  

 

सप्तरङ्गी टीका अनि माला बनाएर

टपरीमा सेल अर्सा चाङ लगाएर

काजु बदाम छोडा पनि साथै सजाएर

ल्याएकी छन् मेरी दिदी माया बर्साएर।

——————-

 [जन्मस्थान पाल्पा भई हाल ‍ चन्द्रागिरी नगरपालिका-१५, काठमाडौंमा स्थायी बसोबास गर्दै आएकी सरिता पराजुली (२०१५) रत्नराज्य लक्ष्मी क्याम्पस, काठमाडौँमा प्राध्यापन पेसाको अनुभव बटुलेकी स्रष्टा हुन् । उनको सक्रियता छन्द कविता प्रवर्धन र बालकविताको विस्तारमा रहेको देखिन्छ ।  कविता, लघुकथा, बालकविता उनका लेखनका मुख्य विधा हुन् । पराजुली पछिल्लो समय बालकविता लेखनमा रुचिपूर्वक समर्पित रहेको पाइन्छ । नेपाली प्रकृति, संस्कृति, कृषिकर्मको सुमधुर चित्रण, बालसुलभ कोमल भावनाको अभिव्यक्ति आदि उनका बालकवितात्मक वैशिष्ट्य हुन् । उनका हातेमालो र झुल्के घाम गरी दुई बालकविताका सङ्ग्रह प्रकाशित छन् । उनी आफ्ना बालकवितामा बालबालिकालाई प्रत्यक्ष रूपमा उपदेशको भारी बोकाउनुको सट्टा अप्रत्‍यक्ष र कलात्मक ढङ्गमा व्यावहारिक एवम् नैतिक सन्देश प्रदान गर्दछिन् । तिहारमा हुने गतिविधि र यसले बालबालिकालाई पार्ने रमाइलाका बारेमा प्रस्तुत बालकविता केन्द्रित छ ।]

******************

२. तिहार मनाऔँ – शर्मिला खड्का दाहाल

शर्मिला खड्का (दाहाल)

आऊ आऊ साथी हो तिहार मनाऔँ

सप्तरङ्गी रङ्गको रङ्गमा रमाऔँ

मन त्यसै झुलेको छ हर्षले झुलाऔँ

सयपत्री, मखमलीको फूलले सजाऔँ

 

झिलिमिली बत्तीसँगै उज्यालो फिजाऔँ

दियो र मैनबत्तीले आँगन सिँगारौँ

मनको मैलो फ्याकेर आफूलाई सिगारौँ

आऊ आऊ साथी हो तिहार मनाऔँ

 

मिठामिठा खानेकुरा छ  मन त्यतै भुलाऔ

सेलरोटी र अनारस खाएर अघाऔँ

आफूमात्र नखाई अरूलाई पनि खुवाऔँ

आऊ आऊ साथी हो तिहार मनाऔँ

 

देउसी र भैली खेली मायाको भाव जगाऔँ

दाजु बहिनीको सम्बन्धलाई अझ बलियो बनाऔँ

सप्तरङ्गी टीकाले मनको ज्योति चम्काऔँ

आऊ आऊ साथी हो तिहार मनाऔँ

—————–

[धरानमा जन्म भई हाल काठमाडौँ , नयाँबानेश्वरमा बसोबास गर्दै आएकी शर्मिला खड्का दाहाल (२०२३) शिक्षण पेशामा धेरै वर्ष अनुभव बटुलेकी स्रष्टा हुन् । साहित्यका विविध विधामा कलम चलाउँदै आएकी उनी समालोचना लेखन र सम्पादनका क्षेत्रमा समेत सक्रिय छन् । बालसाहित्य अन्तर्गत उनका बालकविता, बालउपन्यास, बाल एकाङ्की आदि प्रकाशित छन् । बालकवितातर्फ ‘सूर्य हाम्रो साथी’ शीर्षकमा २०७४ सालमा उनको बालकविता–सङ्ग्रह पनि प्रकाशित भइसकेको छ । नेपाली साहित्य तथा बालसाहित्यका क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै उनी विभिन्न पुरस्कार तथा सम्मानबाट पुरस्कृत र सम्मानित पनि भइसकेकी छन् । उनको प्रस्तुत ‘तिहार मनाऔँ’ बालकवितामा बालपात्र बनेकी कवयित्री खड्काले बत्ती बालेर, मिठामिठा खानेकुरा खाएर, देउसी भैलो खेलेर र सप्तरङ्गी टीकामा सजिएर रमाइलोसँग तिहार मनाऔँ भन्ने आग्रह गरेकी छन् ।]

************

३. भैलो खेल्ने भैलेनी – रमेशचन्द्र घिमिरे

स्तम्भकारः रमेशचन्द्र घिमिरे

झिलिमिली साँझमा पोहोरजस्तै ऐले नि

आए हाम्रो आँगनमा भैलो खेल्ने भैलेनी

 

भैलेनीको आसिकले आमा मक्ख पर्नुभो

दियो बाली दैलामा स्वागत सत्कार गर्नुभो

यस्तै यस्तै रमाइलो हुन्थ्यो पैले पैले नि

मादल बजाई भट्याउँथे भैलो खेल्ने भैलेनी

 

नाङ्लामाथि फिँजा’को चामल पैसा लिएर

नाच्छन्, गाउँछन् भैलेनी मीठो आसिक दिएर

भैलेनीलाई डाकेर आसिक लिएँ मैले नि

रमाउँदै फर्किए भैलो खेल्ने भैलेनी ।

—————–

[नेपाली बालकविता लेखनका  क्षेत्रमा समर्पित लमजुङे स्रष्टा रमेशचन्द्र घिमिरे (२०२८) का ‘मलाई माया गर्ने को को’, ‘सानी पुतली’ तथा ‘घुमाउने घर’ गरी बालकवितासँग सम्बन्धित तीन ओटा कृति प्रकाशित छन् । उनका करिब दुई दर्जन जति बालकविता तथा अन्य रचनाहरू कक्षा १ देखि १२ सम्मका विद्यालय स्तरीय पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तकमा मूल पाठ र पाठ्यसामग्रीका रूपमा प्रकाशित छन् ।  साहित्यपोस्ट ई-पत्रिकाका स्तम्भकार घिमिरेका प्रायः बालकविताहरू ग्राम्य परिवेशसँग सम्बन्धित छन् । घिमिरेको प्रस्तुत ‘भैलो खेल्ने भैलेनी’ शीर्षकको बालकवितामा तिहारमा हुने विविध सांस्कृतिक सन्दर्भमध्ये भैलो खेल्ने प्रसङ्गलाई अघि सारिएको छ ।]

*************

४. तिहार – गङ्गा खड्का

गङ्गा खड्का

सयपत्री डिलमा बारीभरि फुलेको

मखमली अजम्बरी डालीभरि झुलेको

हेर्न राम्रो आँखाले भ्याएसम्म रमाई

कोमल ती थुँगालाई माया गर्दै समाई ।

 

वातावरण सुहाउँदो स्वर्गजस्तै धरामा

मीठो ध्वनि चिर्रचिर्र थरीथरी चरामा

न त खोला ठूलो छ न त बाटो हिलाम्मे

आकाशमा  कपास प्युरी बादल छ सेताम्ये ।

 

काग कुकुर पुजिन्छन् मीठो भोजन पाएर

गाई गोरुलाई नि मानमनितो टाढाटाढा धाएर

झिलिमिली बत्तीले सारा संसार चम्किन्छ

देउसीभैलो गीतसँगै मादल पनि घन्किन्छ ।

 

सेलरोटी मिठाइको चल्छ मीठो बास

भट्याउँछन् देउसीभैले बोकी मनमा  आश

रङ्गोलीको रङ्ग राम्रो मनै फुरुक्क

तिहारकै रौनकले सबै हुरुक्क ।

 

भाइटीका, म्ह पूजा कति सुन्दर चलन

कसैका मनमा नि रत्ति हुन्न जलन

लक्षिमीको पूजासँगै आनन्दको वर्षा

जताततै चलेको छ तिहारको चर्चा ।

————-

[शिक्षण पेशामा आबद्ध साहित्यकार गङ्गा खड्का (२०३७) नेपाली साहित्यका विविध विधामध्ये प्रायः लघुकथा विधामा कलम चलाउने स्रष्टा हुन् । बूढानीलकण्ठ-१, काठमाडौँ निवासी कवयित्री खड्काका रुचिका विषय लघुकथा, बाछिटा र बालकविता हुन् । पछिल्लो समय नेपाली बालकविता लेखनका क्षेत्रमा समेत निरन्तर कलम चलाउँदै र रचना प्रकाशित गर्दै आएकी कवयित्री खड्काले प्रस्तुत ‘तिहार’ बालकवितामा तिहारमा हुने प्राकृतिक सौन्दर्यको चित्रण गर्दै तिहारका पाँचै दिनको प्रसङ्ग अनि तिहारमा हुने रमाइलाको कलात्मक वर्णन गरेकी छन् । ]

**************

rcghimire47@gmail.com