तिमी र म मिलेर हेर
हामीले एक प्रेमालय बनायौँ
प्रेमालय : प्रेम औ आलय
अर्थात् एक प्रेमिल घर
हाम्रो यो घर साँच्चै नै प्रेमिल छ
यहाँ ईंटा हैन,जोडिएको दुई दिल छ
अँगालोको पर्खाल
ठूला ठूला आँखाहरूको झ्याल छ
मधुशालालाई बदर गरिदिने
मद भरिएका प्यालाझैं तिम्रो अधर
बाह्य आक्रमणलाई निस्तेज पारिदिने
सुरक्षा कवच, तिम्रो जाज्वल्य, तेज नजर
अनि तिमी सुन्दर फूल संरक्षणार्थ
नित्य गोडमेल गर्ने म मालीको तिमीमा असर
तिम्रा कर-आबद्ध मूल गेट
जताबाट छिरे पनि तिमीसँगै भेट
तिम्रो लिपिस्टिकको गाढा गुलाबी
रङझैँ, रङले पोतिएको बङ्गलो
जति घोलिन्छौँ हामी दुई, उति उति सङ्गलो
भान्सा भरोसाको, जहाँ प्रीत पाक्छ
प्रेमिल सुवास चल्छ, सुगन्धले ढाक्छ
मैले बेल्ने, तिमीले पकाउने
एकले अर्कालाई थकाउने
पाक कलाको मानौँ विश्वविद्यालय
तिमी र म जहाँ निस्फिक्री, निर्भय
पुस्तकालय, वाचनालय, शौचालय
स्नानघर, ध्यानघर
सबैमा तिम्रै स्वाद र सुगन्धको लहर
सानो मन्दिर छ सबैभन्दा माथि
मन्दिरकी देवी त तिमी नै हौ तथापि
यो प्रेमालय
प्रेमको मानक
समर्पणको प्रतिपादक
तिम्रोलागि मैले बनाएको
मेरोलागि तिमीले सजाएको
तिमी मेरी बेताज-बेगम !
तिम्रो नाममा यो,
अपूर्व ताजमहल हो।
धनुषाधाम नगरपालिका-४
सर्सा, धनुषा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।