तिमी अक्सिजन थियौ
म हाइड्रोजन थिएँ
“प्रेम” भन्ने प्राविधिक छिर्यो
र, फ्युजन गराइदियो
तिमी र म हामी बन्यौं
अर्थात् पानी बन्यौं।

त्यसपछि
न रङ रह्यो
न रूप रह्यो
न आकार, न प्रकार रह्यो

तिम्रो भाँडोमा म, तिमीजस्तो
मेरो भाँडोमा तिमी, मजस्तो
तिमी र म अन्तरघुलित भै
एकाकार भो जीवन, जल यस्तो

म थोपा बनी कैले
तिमी- धर्तीमा बर्सन्छु
म खोला बनी कैले
तिमी – सागरमा मिस्सिन्छु

मेरा सारा फोहर मैला
तिमी स्विकार्छ्यौ पैला
अनि उही अँगालो, उही चुम्बन
अपूर्व प्रीतिका बनी लैला

म बिन्दु बिन्दुमा तिमीसँग
तिमी सिन्धु सिन्धुमा भर रङ्ग
तिमी नै मेरो जीवन-सत्ता
तिमी बिना मेरो सारा भङ्ग

प्रीत नै यस्तो पवित्र छ
तिम्रो चित्र नै मेरो मनभित्र छ
टाढा तिमी जति भए पनि के भो
गाढा यतिविधि अरू के छ ?

हरेक रातमा शीत बनी
तिम्रो शीरमा झर्ने मैं हुँ
हरेक भोरको हुस्सुमा
तिम्रो अधर चुम्ने जलकण मैं हुँ

आँखा ! तिम्रा आँखा !!
सजल प्रतिपल
ठूला-ठूला झलझल
मलाई मार्ने पलपल

तिमी थोपा बनेर आउँछ्यौ
मेरो प्यास बढाउँछ्यौ
अनि फेरि सागर बनी
मलाई आफूमै डुबाउँछ्यौ

तिमी र म मिलेर
बाचा गरेका छौं
प्रेमपूर्ण जीवन बाँच्ने
यो प्रेम, अन्तर हृदयमा साँच्ने

तिमीलाई बिन्दुदेखि सिन्धुसम्म
थोपादेखि भँगालोसम्म
शून्यदेखि शिखरसम्म
अर्थात शीरदेखि पाउसम्म
पलपल पान गरिरहुँ
पलपल अतृप्त मरिरहुँ ।

धनुषाधाम-४, सर्सा, धनुषा