हिउँदमा प्रीत फुलाउने
आलुबखडाका हाँगाहरू
गृष्ममा बटुवा भुलाउने
पाखा-पखेरा-छाँगाहरू
वर्षामा माया घुलाउने
नदी-नाला-भंगालाहरू
निशृत शृजीत छन्
संकल्पित कृत-कृत छन् ।
जहाँ त्याग प्रेम हुन्छ
जहाँ राग लेनदेन हुन्छ
स्वान्त: सुखाय भावमा
प्राकृत स्वभावमा।
प्राचिका प्राचीन पदचापहरू
अमिट डोब र छापहरू
प्राप्ति भन्दा पर
समाप्ति भन्दा वर
चल्छन् कुरा र छुराहरू
बज्छन् बैंशालु चुराहरू।
भावको स्वभाव अस्थीर छ
फेरि किन स्थीर छ?
चाँदको मन मोर छ
चकोरको मन विभोर छ
सारा तारालाई साक्षी राखेर
समयको पाबन्दीलाई भाखा राखेर
हरेक रातको घना केशराशीमा
प्रत्येक भोरले सिन्दुर भर्छ
अनि खिलखिलाएर जाग्छ जीवन धरामा
यो प्रेमको चक्र यसैगरी चलिरहेछ।
बुझक्की सौदागरहरू भन्छन्
दिन र रातको खै कहिल्यै भेट हुँदैन
के थाह तिनलाई भेट हुनु नै प्रीत त हैन।
दिन र रात
प्रेमिल भावमा
खेलिरहेछन्
लुकामारी
आफ्नै अभिव्यञ्जनामा
अव्यक्त भै रहेछन्
अर्थात
अभिव्यक्त भै रहेछन् ।
दिनभरि घाम
मायाको बिस्कुन सुकाउँछ
रातभरि जून
अँगालोमा सुकसुकाउँछ
अनि त प्रीत फुल्छन्
आलुबखडाका हाँगाहरूमा
पाखा-पखेरा-छाँगाहरूमा
मस्त-माया थोपाथोपामा
एकाकार भै घुल्छ
अनि
बौलाहा नदी पनि
पर्वतबाट फालहान्दै महासागरमा मिल्छ।
धनुषाधाम नगरपालिका-४,सर्सा,धनुषा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।