मेरो भू-परिवेष्ठित देशभित्रै
म तिम्रो झ्यालखानाको कैदी
चौतर्फी कोमलाङ्गी घेराबेराले
तिम्रो दिलवेष्ठित पो भएको छु

पूर्वबाट तिम्रा ठूलाठूला आँखाले
पश्चिमबाट तिम्रो सुरिलो भाकाले
उत्तरबाट तिम्रा उन्नत वक्ष-शिखर
दक्षिणबाट तिम्रो अधरले बेरिएको छु

तिमी रक्सीझैं चढ्छ्यौ
मेरो मन, मुटु, मस्तिष्कमा नशा बनी
तिमी टाइफुनझैं छिर्छौ
मेरो फोक्सोमा श्वास बनी
तिमी अमेजनझैं तीव्र बग्छ्यौ
मेरा नशा-नशामा रक्त बनी

फूल तिम्रो गालाको लाली चोर्छ
मौरी तिम्रो मद बोकेर उड्छ
भँवरा तिम्रो मन्त्रणामा भुँ भुँ गर्छ
तिमीलाई हेर्न गोधुलीमै तारा भुइँमा झर्छ

कलम लिएर घोरिन्छु तिम्रो यादमा
म होमर,ओडिसी लेख्छु तिम्रै स्वादमा
सेक्सपियरका चौध हरफे प्रेम कविताहरू
तिमीले खनेको यो मुटुका प्रेमिल प्रणिताहरू

तिमीसँग छुट्टिएर तिमीसँगै पुग्छु म
तिमीबाट निस्किएर तिमीभित्रै पस्छु म
तिमीसँग बिदा भई तिम्रै अघिल्तिर
तिमीबाट फुस्किएर तिमीभित्रै फस्छु म

तिमी मलाई आफूमा अल्झाई राख
तिमी मलाई बेस्कन बल्झाई राख
म तिमीमा अल्झनुको आनन्द
तिमीमा बल्झनुको वैभव
आजीवन अनुभूत गरिरहने छु म।

धनुषाधाम नगरपालिका-४,सर्सा,धनुषा