वीर अस्पतालमा छु
अर्थात्
भीड अस्पतालमा छु
अर्थात्
आशा र पीर अस्पतालमा छु
नाक घिरौंला जत्रो पारेर
वीरको उपाधि भिरेर
विरक्त- निरूक्त मान्छे डाक्छ आफ्नो आँगनीमा
यस्तै छ ताल, वीर अस्पताल
मान्छेहरू थोरै आश
धेरै त्रास
अगणित निश्वास बोकेर
छिरेको देख्छु
नजर, अधर
थरथर
अनुहारमा डर-डर
तर पनि
छ, यै वीरकै भर
क्षेप्यास्त्रले हानेझैं
भयाक्रान्त देख्छु
औषधीको बिल बोक्नेको अनुहार
अनि
क्षण भरमै
अनुहार रङ फेर्छ, रङ भर्छ
बिल खल्तीमा राखेर
त्यही अनुहार मुसुक्क गर्छ:
कोमलाङ्गी नर्सको मुस्कान-जवाफमा
कति आए त्रास लिएर
अनि फर्किए विश्वास लिएर
अनि
कति आए आश लिएर
अनि फर्काइए लाश बनाएर
के साध्य गनेर प्रभु
के साध्य गनेर
वीरको भीडमा
मृत्युदेखि डराउनु हुन्न
जीवनदेखि भाग्नु हुन्न
सम्झाउँछु आफैँलाई
तर पनि
विचारको धार रोकिन्न
अनि सोच्छु
ती जो तङ्ग्रिएर फर्कँदै छन्
मृत्यु भेट्न फर्कंदै छन्
मृत्यु भेट्ने गरी जीवन बोकेर फर्कंदै छन्
अनि ती जो
स्वयं शान्त, पर्यावरण अशान्त पारि फर्कंदै छन्
निर्भय-नियात्रा फर्कंदै छन्
क्षणभंगुर जीवनको कथा बाँच्दै
वीर अस्पतालमा
म मौन चुपचाप
जीवन जान्ने र
मृत्यु महसुस गर्ने
असफल प्रयत्न गर्दैछु।
धनुषाधाम नगरपालिका-४,
सर्सा, धनुषा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।